२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना न्यूनीकरणमा कटुवाल

कोरोनाबारे जानकारी गराउँदै धर्मे कामी । तस्बिरः नागरिक

वीरेन्द्रनगर- रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५, काँडाका करिब ५७ वर्षीय धर्मे कामी सामान्य परिवारमा जन्मे अनि हुर्के । अहिले पनि उनको अवस्था उस्तै छ । सामान्य जीवनयापन गर्ने उनको दैनिकी कटुवाल पेसासँगै गाउँमा मजदुरी गर्नु हो । कटुवाल प्रथा अर्थात् सूचना प्रणाली ।

पछिल्लो समय सहर तथा गाउँमा पनि सूचना प्रसारणका लागि आधुनिक आमसञ्चारका माध्यमको पहुँच बढेकाले सूचना प्रसारका लागि प्रथाको रूपमा विकास गरिएको कटुवाल अहिले विरलै रूपमा अभ्यासमा पाउन सकिन्छ । धर्मेको वडाले पनि विश्वभरि महामारीका रूपमा फैलिएको काभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि कटुवाल प्रथालाई नै प्रयोग गरेको छ ।

उक्त वडामा कटुवाल प्रथा अहिले पनि जारी भएकाले सूचना प्रभावकारीरूपमा वडावासीसम्म पुर्‍याउन कटुवाललाई परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । धर्मे डाँडामाथिबाट ठूलो स्वरमा हाँगो (कराउन) थाल्दा कोरोना न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले घरभित्रै भएका प्रायः घर बाहिर निस्कन्छन् । धर्मेले गाउँमा सूचना प्रवाह गरिरहँदा गाउँले चासो दिएर सुन्छन् ।

धर्मे प्रायः अर्काको टोलमा नजाऊ, यो (कोरोना) महामारी रोग आएको छ है । स्यार्पूको मान्छ चौला जानेबेला यो पल्लो मार्बुजाको बाटो हिँड । ह्या (यहाँ) झण्डा हान्या छ । प्रहरी बस्या छन् । आफ्नो घरदेखि अर्का घर नजाऊ है । ओइ कोरोना भाइस (भाइरस) आको छ । आफ्नो घर छाडी अर्काको घर नजाऊ । बाहिरको मान्छेभित्र पस्न नदेऊ भन्दै सूचना प्रवाह गर्छन । गाउँमा कोरोना भाइरसको संक्रमण हुन नदिने उपायका बारेमा उनी दैनिक सञ्चार गर्छन् ।

यसभन्दा अगाडि धर्मेका बुवा चत्तुरे गाउँका कटुवालअर्थात् सूचना प्रवाहका माध्यम थिए । ‘बुवाको निधन भएको दुई वर्षपछि बुवाले गर्दै आएको काम मैले सम्हाले,’ धर्मे भन्छन्, ‘त्यतिबेला म १४ वर्षको थिए ।’ सबै घरमा जान सूचना लिए जान समस्या हुने हुँदा यहाँ कटुवाल काम प्रभावकारी देखिएको उनी सुनाउँछन् । ‘गाउँलेले मेरो विश्वास गरेर जिम्मेवारी दिएका छन्,’ उनले भने, ‘यो जिम्मेवारी म इमान्दारीताका साथ गर्छु ।’ यो पेसा गर्दा आफूलाई लाज नभई आत्मसम्मान हुने उनको भनाइ छ । पछिल्लो समय समाजमा आधुनिक आमसञ्चारका माध्यमको पहुँच बढेकाले यो पेसा संकटमा पर्दै गएको उनको भनाइ छ । गाउँभन्दा माथि डाँडाबाट कराउँदा सबै गाउँलेले सुन्ने गरेको धर्मे बताउँछन् ।

कटुवाल (धर्मे) ले आजभोलि करिब दैनिक सूचना प्रवाह गर्ने गरेका स्थानीय ध्रुवराज केसीले जनाए । ‘उहाँ (धर्मे) ले नकराउँदासम्म सूचना आधिकारिक मानिँदैन,’ उनी भन्छन्, ‘चिठ्ठी, फोन आउँदा पनि आधिकारिक हो होइन अल्मलिने हुन्छ ।’ कटुवाल प्रथा नै यहाँको सूचनाको भरपर्दाे माध्यम भएको उनको भनाइ छ । योसँगै अरुबेला गाउँका भेला, बैठक, अन्य सामाजिक कामका लागि धर्मे नै सूचना प्रवाहको माध्यम बन्ने उनले बताए । यतिबेला काँडालगायतका गाउँमा कोरोनाको सचेतनाको माध्यम कटुवाल प्रथा नै प्रभावकारी बनेको वडाध्यक्ष कस्तुप प्रकाश दाहालले जानकारी दिए । ‘यो वडामा पहिलादेखि नै कटुवाल प्रथा चल्दै आएको छ,’ वडाध्यक्ष दाहालले भने, ‘कटुवाल प्रथा नै भरपर्दाे भएकाले कोरोना सचेतनाका लागि कटुवाललाई परिचालन गरेका छौं ।’

अरुबेला कटुवाल काम गरेबापत उनले बालीअनुसार खलो लिने गर्छन् । बाली पाक्ने बेला प्रतिघर एक पाथी अन्न लिने गरेको धर्मे सुनाउँछन् । ‘पहिला ६५ घर थिए,’ उनी भन्छन्, ‘गाउँपालिका हुँदा कतिवडा जोडिएका छन् । कति घर छन् थाहा छैन ।’ अहिले कोरोनाको सूचना प्रवाह गरेबापत वडाले केही पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको वडाध्यक्ष दाहालले जनाए । गाउँमा अझै पनि कटुवाल प्रथा कायमै भएकाले कटुवाललाई परिचालन गरिएको उनले जनाए ।

कटुवाललाई परापूर्वकालमा पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति भनेर चिनिन्थ्यो । शाहकालीन जिल्ला प्रशासनको लगभग मुखियासरहको एक पदसमेत मानिँदै आएका थियो भने गाउँघरमा उर्दीपुर्दी सुनाउने कामको निम्ति राखिएको प्रायः गैरसरकारी कर्मचारीका रूपमा चिनिन्छ ।

 

प्रकाशित: ११ वैशाख २०७७ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App