५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा

स्वास्थ्य शिविरमा जाँच गरिसकेका स्थानीय। तस्बिर : नागरिक

जिल्लाकै दुर्गम मानिएकाे सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्। शिविरमा दुई हजार बढीले विभिन्न किसिमका उपचार सेवा लिएका हुन्।

शिविरमा महिला एक हजार ४ सय ४८, र पुरुष ९ सय १ जनासहित कुल  दुई हजार ३ सय ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए।

उनका अनुसार सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको स्वास्थ्य परीक्षण गरिएको थियो। उनले भने, ‘१ सय १ जना महिला र ८६ जना पुरुष गरी १ सय ८७ जनाले प्रयोगशाला सेवा लिएका छन्।

शिविरमा ५ सय १३ जना महिलाले पाठेघर चेकजाँच गरेको र ७ जना महिलाको पाठेघरमा रिंग राखिएको संयोजक रोकायाले बताए। उनका अनुसार ५५ जना महिलाले भिआइए सेवा लिए।

१ सय ६५ जना नागरिकले मुटु चेकजाँच गरे, जसमध्ये महिला ७१ जना र पुरुष ९४ जना छन्। ७ सय ३६ जना महिला र एक हजार ३ सय २६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरंग सेवा लिएका छन्।

यस्तै ४ सय ४८ जना पुरुष र एक हजार १ सय १० जना महिला गरी एक हजार ५ सय ५८ जनाले शिविरमा आँखा जाँच गराएका छन्। यस मध्ये २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको स्वास्थ्य रोकायाले बताए। उनले भने, ‘४ सय ११ जना पुरुष र ८ सय ६९ जना महिला गरी एक हजार २ सय ८० जनालाई चस्मा वितरण गरिएको छ।’

२ सय २८ जना पुरुष र ३ सय ८८ जना महिलाले डेन्टल सेवा लिएका छन्। यस मध्ये ५ सय ३४ जनाको दात निकाएको छ। २७ जनाले एआरटी भर्ने काम गरेका छन्। १ सय २० जनाको दात सफा गरिएको जनाएको छ।

यता सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान सकेका हुँदैनन्। ‘रोग पालेरै बसेका हुन्छन्। विशेषगरी पाठेघर समस्या भएका ग्रामिण भेगका महिला खुल्दैनन्। गाउँघरमै यस्ता घुम्ती शिविरले सेवाग्राहीलाई सहज हुने गर्दछ’, उनले भनिन्, ‘यस्ता एककिृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला बेला सञ्चालन गर्ने गरेका छ। यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन्। एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन्।’

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलव्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। उनले भने सिंजा भेगमा तीनवटा पालिका रहेका छन्। यो क्षेत्रका हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन्।

स्वास्थ्य शिविर गाउँपालिकाको सहजीकरण र ब्रिटिस गोर्खाज् नेपाल कादुरीको आयोजनामा सञ्चालन भएको हो।

प्रकाशित: २० वैशाख २०८१ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App