१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘बालबालिकामा हुने क्यान्सर चाँडै निको हुन्छ’

बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे चाँडै निको हुने चिकित्सकले बताएका छन्। उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताइन्। ‘वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ’, उनले भने, ‘क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ।’

डा तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा धेरै बालबालिकाको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको छ। वार्षिक करिब एक हजारसम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले पाँच सयले मात्र उपचार गरिरहेका उनले जानकारी दिइन्।  

भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु सापकोटाले मुलुकमा बालबालिकामा देखिएको क्यान्सर ३० प्रतिशत निको हुने गरेको बताइन्। ‘समयमै अस्पताल पुग्न नसक्दा पूर्ण उपचार नपाएर करिब ७० प्रतिशतमा पूर्ण निको हुँदैन’, उनले भनिन्। उनका अनुसार नेपालजस्तो अल्पविकसित मुलुकमा बालबालिकामा हुने क्यान्सर निको हुने दर कम रहेको छ।

विकसित देशमा ८० देखि ९० प्रतिशत बाल क्यान्सर निको पार्न सकिने डा. सापकोटाले जानकारी दिइन्। गरिबी, उपचारमा कम पहुँच हुनुलगायत कारणले उपचारमा समस्या भइरहेको उनको भनाइ थियो।

डा. सापकोटाले वयस्क मानिसलाई क्यान्सरसँगै अन्य रोग पनि देखिने भएकाले निको हुने सम्भावना कम हुने बताइन्। ‘बालबालिकामा अन्य कुनै रोगको लक्षण हुँदैन। त्यसैले क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ’, उनले भनिन्, ‘उमेर पुगेका मानिसमा उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोग देखिने भएकाले क्यान्सर निको हुने सम्भावना कम हुन्छ।’

नेपालमा क्यान्सर बिरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा.  सापकोटाले जानकारी दिइन्। उनले मुलुकमा बालबालिकामा हुने ब्लड क्यान्सर ९० प्रतिशत निको भइरहेको उल्लेख गरिन्।

डा. सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेशीका क्यान्सर धेरै हुने गरेको छ। ‘बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ। जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ’, उनले भनिन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ। –रासस

प्रकाशित: ५ फाल्गुन २०८० १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App