२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नसर्ने रोग नियन्त्रणमा समन्वय अभाव

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मेयर कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारले कार्यक्रमहरू ल्याएको भए पनि त्यस्ता कार्यक्रम एकीकृत रूपमा सञ्चालन नहुँदा प्रभावकारी हुन नसकेकाले अन्तर सरकारी समन्वय आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा मेयर कोइरालाले रोग नियन्त्रणकै लागि विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा गुड्का, खैनी र चुरोट निषेध अभियान सञ्चालन गरेको जानकारी दिए। कोइरालाले गुट्का, सुर्ती र चुरोट सेवन रोक्न सके क्यान्सरलगायत विभिन्न रोगको जोखिम कम गर्न सकिने बताए। उनले नसर्ने रोगको नियन्त्रणमा विभिन्न खालका व्यावहारिक कठिनाइ र अवरोधसमेत रहेको बताए।

विराटनगरमा लामखुट्टे नियन्त्रणका लागि छर्ने गरिएको मालाथिनको धुवाँले नगरवासीमा श्वासप्रश्वास र क्यान्सरको समेत जोखिम रहेको कोइरालाले बताए। तर, मालाथिनको धुवाँ नउडाएसम्म महानगरले लामखुट्टे नियन्त्रणमा कामै नगरेको भन्ने आलोचना आउने भएकाले स्वास्थ्यका लागि हानिकारक भएको जान्दाजान्दै पनि मालाथिनको धुवाँ उडाउन महानगरपालिका बाध्य भएको कोइरालाको भनाइ छ।

उनले भने, ‘मालाथिनको धुवाँले स्वास्थ्य समस्या निम्त्याउने जान्दाजान्दै पनि वैकल्पिक प्रविधिको खोजी नभएका कारण लामखुट्टे नियन्त्रणका लागि मालाथिनकै धुवाँ उडाउन बाध्य छौं।’ कोइरालाले विराटनगर महानगरमा मदिरा नियन्त्रण गर्न पनि कठिनाइ रहेको बताए। स्वास्थ्य सेवा विभागकी निर्देशक संगीता मिश्राले स्वास्थ्य सम्बन्धी तथ्यांकको अभावका कारण सरकारले लिएका नीतिहरू प्रभावकारी हुन नसकेको बताइन्।

मिश्राले गुट्का, खैनी, सुर्ती र चुरोटको सेवन नियन्त्रण गर्न सके मात्रै पनि क्यान्सरलगायत धेरै रोगको जोखिमबाट नागरिकलाई जोगाउन सकिने धारणा राखिन्। महानगरपालिकाले सञ्चालन गरेको नसर्ने रोग विरुद्धको अभियानलाई स्वास्थ्य सेवा विभागले पनि सहयोग गर्ने मिश्राले प्रतिबद्धता जनाइन्।

कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विराटनगर महानगरपालिकाले नसर्ने रोग नियन्त्रणका लागि काम थालिसकेको बताए। उनले चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले १ करोड ५६ लाख रूपैयाँ बजेट नसर्ने रोग नियन्त्रण कार्यक्रमका लागि छुट्याएको जानकारी दिए।

प्रकाशित: २० मंसिर २०८० ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App