५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगुको प्रकोप: वीपी प्रतिष्ठान जाँदैनन् बिरामी

धरान १७, रेल्वे चोकस्थित एक क्लिनिकमा स्लाइन चढाएर उपचार गराउँदै डेंगुका बिरामी आमा छोरी।

डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परीक्षण किट उपलब्ध गराउन पत्राचार गरेको छ।

डेंगुका बिरामी देखिन थालेको २ महिना बित्न लाग्दा नियन्त्रणबाहिर हुने अवस्था पुगेपछि मात्र उपमहानगरपालिकाले परीक्षण किट माग गरेको हो। उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार ईपिडेमियोलोजीमा पत्राचार गरेर ६ हजार थान डेंगु टेष्ट किट माग गरिएको जानकारी दिएको छ। 

‘डेंगुको प्रकोप बढ्ने क्रममा भएकोले स्वास्थ्य जाँच गर्न टेष्ट किट माग गरेका छौं, दिने कुरा भएको छ,’ स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने।

धरानमा डेंगुले एक जनाको ज्यान गइसकेको छ। सबैभन्दा बढी वडा १७ मा प्रत्येक घरमा जसो डेंगुका बिरामी देखिएका छन्। तर, अहिलेसम्म उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि ठोस कदम चालेको छैन। डेंगुले नगरवासीको ज्यानसमेत गइसके पनि मेयर हर्क साम्पाङले त्यसतर्फ चासो दिएका छैनन्।

उनी बिरुवा रोप्न मात्र लागिपरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। वडा कार्यालयहरुले फगिङ मात्र गरिरहेको छ। तर, डेंगु नियन्त्रणको लागि लार्भा नष्ट गर्ने सर्च एण्ड डिस्ट्रोय अभियान अहिलेसम्म सुरु भएको छैन।

स्वास्थ्य महाशाखाका अनुसार स्वास्थ्य प्रदेश निर्देशनालयको विज्ञ टोली पनि माग गरिएको छ। उक्त टोली पनि चाडै आउने मेहताले बताए। साथै, उपमहानगरपालिकामा पनि मेयर, उपमेयरको उपस्थितिमा डेंगु नियन्त्रणको लागि वृहत् छलफल गर्ने तयारी भइरहेको उनले बताए। वडा कार्यालयहरुलाई पनि डेंगु नियन्त्रण गर्न सर्च एण्ड डिस्ट्रोय अभियान थाल्न पत्राचार गरिएको मेहताको भनाई छ।

सबैभन्दा बढी डेंगुका बिरामी देखिएको वडा १७ मा प्रत्येक टोलमा घरलौरी बिरामी भएको वडा सदस्य मनिष बिष्टले बताए।

‘प्रत्येक घर जसो नै डेंगुको बिरामी छन्,’उनले भने,‘जनताबाट फगिङको माग हुन्छ, अहिले त्यही गरिरहेका छौं।’ 

वडा १७ सँगै वडा १६, ११ मा पनि डेंगुका बिरामीहरू धेरै छन् भने अन्य वडाहरूमा पनि फैलिने क्रममा छ।

वीपी प्रतिष्ठान जाँदैनन् बिरामी

स्वास्थ्य उपचारमा प्रख्यात वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै भए पनि डेंगुका बिरामीहरू निजी क्लिनिकमा उपचार गराइरहेका छन्। जसले गर्दा ज्यान जोखिममा पर्ने सम्भावना रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सबैभन्दा बढी डेंगु प्रभावित वडा १७ मा पनि बिरामीहरू मेडिकल र क्लिनिकमा उपचार गराइरहेको पाइएको छ। बुधबार दिउँसो वडा १७ रेल्वेस्थित एक मेडिकलमा पुग्दा स्लाइन पानी चढाइरहेको अवस्थामा डेंगुका बिरामीहरू भेटिएका थिए। ती मेडिकल सञ्चालक बमबहादुर भण्डारीका अनुसार दैनिक ५ देखि १० जना डेंगुका बिरामीहरू उपचारमा आइरहेका छन्।

बिरामीहरूलाई केही समस्या हुने देखिएमा वीपी अस्पताल रिफर गरे पनि कतिपय घरमै बस्ने गरेको भण्डारीले बताए।

‘कतिपयलाई वीपी जानुस् भन्छौँ, तर उहाँहरु नै घरमै बस्नुहुन्छ,’उनले भने।

महिलाको डेंगुले मृत्यु भएको पुष्टि

धरान वडा नं १७ स्थित फकल्याण्डमा एक महिलाको डेंगुकै कारण मृत्यु भएको पुष्टि भएको छ। नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली बुधबार मृतकको घरमा पुगेको थियो।

मृतकको वीपी प्रतिष्ठानमा उपचार भएको र त्यहाँको कागजात अध्ययन गर्दा मृत्युको कारण डेंगु नै रहेको पुष्टि भएको महाशाखा प्रमुख मेहताले बताए।

‘जेठ २३ गते मृत्यु भएको रहेछ। मृत्युको कारण डेंगु सक सिन्ड्रोम भएको रहेछ,’उनले भने,‘त्यो भनेको एकदमै सिरियस अवस्था हो। मानिस अचेत अवस्थामा पुगिसकेको हुन्छ। प्लेटलेस र ह्वाइटब्लडसेल्स पनि एकदमै कम हुन्छ।’

प्रकाशित: १३ असार २०८० १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App