२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको छ। संक्रमणदर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ। मंगलबार मात्र कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्ने बताउँछन्।

कोरोनाविरुद्धको खोप लगाउने कुरा समुदायमा संक्रमण कतिको फैलिएको छ, समुदायमा प्रतिरोधात्मक क्षमता कमजोर भएर मानिसहरु अस्पताल भर्ना हुने दर बढ्दै जादा बूस्टर डोज लगाउनुपर्ने अधिकारीले बताए।  

सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।

तर नेपालमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन नजाने र संक्रमण बढेपछि खोप लगाउन जाने परिपाटीले खोपको व्यवस्थापन गर्न गाह्रो भएको अधिकारी बताउँछन्।

उनी भन्छन्,‘हाम्रोमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन कोही जानु हुँदैन्। संक्रमण बढेपछि खोप लगाउन जाने संख्या पनि बढ्छ। त्यसैले खोप व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ। खोपले हामीलाई थप सुरक्षित गर्न र जटिल अवस्था भएर अस्पताल भर्ना हुन नपरोस भनी खोप लगाउने हो।’

अहिलेसम्म आएका कोरोनाको भेरियन्टहरुका लागि यस अघि लगाएको ३ डोज खोपले पुग्ने उनको बुझाइ छ। अहिले दिइरहेको अतिरिक्त डोज भने बढी जोखिम  भएकालाई दिइरहेको अधिकारीले बताए।  

सरकारले पछिल्लो समय बुस्टर डोजमा फाइजर खोप लगाइरहेको छ। कोरोनाविरुद्धको अन्य खोप लगाएकाहरुले बुस्टर डोजमा फाइजर खोप लगाउन मिल्ने डा.अधिकारीले बताए।  

नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको खोपहरुमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर लगाइएको छ। उनले यी खोपहरु लगाएकाहरुलाई पनि बुस्टर डोजमा फाइजर लगाउन मिल्ने बताए।

‘पछिल्लो समय हामीले लगाएको कोरोना विरुद्धको बुस्टर डोज खोप ओमिक्रोन भेरिएन्टलाई लक्षित गरेर लगाइएको हो। नभए पहिलाको नै २ डोज खोपले पुग्ने थियो। अहिले अतिरिक्त डोज दिनै पर्ने व्यक्तिहरुलाई दिएका हौं’, अधिकारीले भने।

पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप स्थानीय तहरुको माग अनुसार पठाइरहेको छ भने स्थानीय तहहरुको व्यवस्थापनमा खोप लगाइरहेको छ।  

काठमाडौं उपत्यकामा भने यस अघि खोप लागाइएका ठूला अस्पताल र काठमाडौं महानगरका केही वडाहरुको स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पाइन्छ। खोप लगाउन जाँदा यस अघि खोप लगाएको कार्ड लिएर जार्नुपर्ने छ।  

प्रकाशित: ६ वैशाख २०८० ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App