जिल्लामा १२ बर्ष अघि कुष्ठ रोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ। बर्षो देखि शून्यमा झार्ने अभियान संचालन गरिरहँदा कपिलवस्तुमा भने कुष्ठ रोगीको संख्या बढ्दै गएको हो।
अचेतना र खुला सीमाका कारण बढेको छ। कुष्ठ रोगीको संख्या नघटे पछि यसको नियन्त्रणमा चुनौती देखिएको छ। प्रति १० हजार जनसङ्ख्या बराबर १ बिरामी भन्दा कम हुने पर्नेमा गत आवमा यहाँ १ दशमलव ८ प्रतिशत रोगी भेटिएका छन्। चालु २०७९/ ०८० को पुस मसान्त सम्म ५८ जना नयाँ कुष्ठ रोगी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। गत आर्थिक बर्ष २०७८/०७९ मा कुल १ सय २३ जना कुष्ठ रोगी फेला परेका थिए। आर्थिक बर्ष २०७७/०७८ मा १ सय १७ जा फेला परेको स्वास्थ्य कार्यालयका क्षयकुष्ट अधिकृत माहोम्द ईरफानले बताए। जिल्लाबाट १२ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। तर अशिक्षा र खुला सीमाकाकारण ओहोरोदोहोरो बढ्दा बिरामी बढ्दै गएका छन्। अहिले बिरामी बढ्दै जाँदा रोग निवारण भएको घोषणा कायम राख्न चुनौती बनेको छ।
जिल्लाको जनसङ्ख्याको प्रति दश हजारमा १ जना भन्दा भन्दा कम बिरामी भए कुष्ठरोग निवारण भएको मानिन्छ। त्यो बढेर दोब्बर नजिक पुगेको छ। बिरामी बढ्दै जाँदा रोग उन्मुलन भएको घोषणा समस्या बनेको छ। मुलुकबाट ०६६ माघ ५ मा जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिए थियो। तर यहाँ ५ वर्षदेखि बिरामी बढ्दै गएका छन्। बिरामी बढ्दा जिल्लामा भने रोग निवारण चुनौती बन्दै गएको छ गरिब, विपन्नता कारण उपचार गराउन नजाने प्रवृत्तिले कुष्ठ रोगीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। कुष्ठरोगले तत्कालै ठुलो समस्या नपर्दा सम्म अस्पताल नजाने प्रवृत्ति छ। लामो समय अस्पताल नजाँदा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था आउँछ। त्यसपछि समस्या हुन थालेपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गर्छन्। यहाँ थारु समुदायमा कुष्ठरोगका बिरामी अत्यधिक देखिएका छन्। ५० प्रतिशत बढी थारु छन्।
‘समस्या गाहैं बन्दै गएको छ’ स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवलले भने। महिला घर काममा लाग्नु पर्ने बाध्यता छ’ यशोधरा गाउँपालिकाको शिहोखोर स्वास्थ्य चौकी अहेब केशव घिमिरेले भने, ‘थला नपरुन्जेल उपचारकालागि नआउने प्रवृत्तिले समस्या बढ्दो छ।’ सर्ने खालको कुष्ठरोगले छालामा असर गरे पनि तत्काल शरीरमा प्रभाव पार्दैन स्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत मोहम्मद ईफानले भने ‘ त्यही भएर बिरामी हेलचक्रयाई गर्छन्। ’ हिँडडुल गर्न, कामकाज गर्न समस्या नपर्ने हुँदा बिरामी स्वास्थ्य प्रति ध्यान नदिँदा समस्या भइरहेको छ उनले भने। कुष्ठरोगका कीटाणुले बिस्तारै असर गर्दै छाला बाक्लो हुने, गिर्खाहरू देखा परेर स्नायुमा असर गर्छ। हात गोडा छुँदा पनि थाह नपाउने र मांसपेशी कमजोर बनाउँदै लैजान्छ। त्यस पछि शारीरिक रुपमै कुरूप र कामकाज गर्न समस्या भए पछि बिरामी स्वास्थ्य संस्थाको सम्पर्कमा आउने हुँदा संख्या बढ्दै गएको अधिकृत ईफानले भने।
रोग लागेको २ देखि ५ वर्ष भित्र लक्षण देखा पर्छ। त्यस पछि नराम्ररी प्रभावित बनाउँछ। मुलकका कुष्ठरोग प्रभावित १० जिल्ला मध्ये कपिलवस्तु एक हो। कुष्ठ रोगी धेरै भएको लुम्बिनी प्रदेश मै कपिलवस्तु दोश्रो जिल्ला समेत हो। भारतसँगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भइरहेको स्वास्थ्य कार्यालय निमित्त प्रमुख अनिरुद्ध श्रीवस्तवले बताए। पहाडी क्षेत्रबाट बसाइसराइ गरेर आउने बिरामी र भारतीय बजारमा रोजगारी गरेर फर्कने बिरामीका कारण रोगीको संख्या बढ्दै गएको उनले बताए।
माइक्रो बेक्टेरियमबाट सर्ने उक्त रोग निको पार्न रिफामपीसीन, एमबी पिबी नामक औषधी अवस्था हेरी ६ महिना र १ बर्ष सम्म नियमित सेवन गर्नु पर्छ। गम्भीर खाललाई एमबी र सामान्य खालका रोगीलाई पिबी औषधी दिइने गरिएको छ। न चिलाउने र लाटो फुस्रो दाग देखा पर्छ। बिस्तारै शरीरको सेल मार्दै जाने, अंगभंग हुने र बिरामी अपाङ्ग हुने सम्मको अवस्था आउँछ। समयमै रोग लागेको पत्ता लगाई उपचार गरेमा शरीर अंगभंग हुदैन्। अरुलाई यो रोग सार्ने सम्भावना ज्यादै न्यून हुन्छ।
प्रकाशित: १६ माघ २०७९ ०७:०० सोमबार