२१ पुस २०८१ आइतबार
image/svg+xml
शिक्षा

खोटाङको च्यास्मीटारमा तिलुङ भाषाको पठनपाठन सुरू

तिलुङ भाषाको पुस्तकसहित च्यास्मीटारस्थित विद्यालयका बालबालिका। तस्विरः महेश्वर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठनपाठन सुरू भएको छ। हलेसी तुवाचुङ ३ च्यास्मीटारस्थित बाल विकास आधारभूत विद्यालयमा चालु शैक्षिक वर्षदेखि तिलुङ भाषाको पठनपाठन थालिएको हो।  

कक्षा १ बाट पढाई थालिएको तिलुङ भाषालाई ऐच्छिक विषयको रुपमा लिइएको छ। हलेसी तुवाचुङ नगरप्रमुख बिमला राईका अनुसार राज्यबाट व्यवस्था भए अनुसार लोपोन्मुख तथा मातृ भाषालाई ऐच्छिक विषयको रुपमा पढाउन आवश्यक पाठ्यपुस्तक निर्माण गरी विद्यालयलाई उपलब्ध गराइएको छ।  

सातादिनअघि मेयर राईले पाठ्यक्रम विद्यालयलाई हस्तान्तरण गरेपछि पढाई सुरु भएको विद्यालयले जनाएको छ। पाठ्यक्रम विकास केन्द्रले तय गरेको मापदण्ड अनुरुप पाठ्यपुस्तक निर्माण गरी नगरपालिकाले विद्यालयलार्य हस्तान्तरण गरेपछि पढाई सुरु भएको उनले बताइन्। पाठ्यपुस्तक निर्माण गर्न नगरपालिकाले चालु वर्ष नीति कार्यक्रम तय गरेरै बजेट व्यवस्था गरी ‘तिलुङ राई बुगाकिम’लाई जिम्मा दिएको थियो।  

जस अनुसार बुगाकिमले पाठ्यपुस्तक तयार पारेपछि विद्यालयले पढाई सुरु गरेको हो। चालु शैक्षिक वर्ष स्थानीय बाल विकास आधारभूत विद्यालयसँगै अर्को एक विद्यालयमा पनि पठनपाठन सुरु भएको छ। अर्को च्यास्मीटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठनपाठन थालिएको हो। त्यसका लागि यसैसाता पाठ्यपुस्तक विद्यालयमा पठाई सकिएको नगरपालिकाको स्थानीय शिक्षा इकाईले जनाएको छ।  

लोपोन्मुख अवस्थामा पुगेको तिलुङ भाषाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले तिलुङ भाषी समुदायका बालबालिकाको बाहुल्यता रहेको विद्यालयमा यो विषयको पठनपाठन थालिएको हो। तिलुङ भाषाको पाठ्यपुस्तक हालसम्म कक्षा ३ सम्म मात्र तयार भएको तिलुङ राई बुगाकिमले जनाएको छ। बुगाकिमका अनुसार राई समुदायमध्ये सबभन्दा कम जनसंख्याले यो भाषा बोल्ने गरेको सर्वेक्षणले देखाएको छ।  

बुढापाका र घना बस्तीमा रहेका तिलुङ भाषीले मात्र कम संख्यामा बोल्ने गरेकाले दिनदिनै लोप हुँदै गएपछि यसको संरक्षण गर्नु आवश्यक भएर नगरपालिकाले कदम चालेको मेयर राईले बताएकी छिन्।  

बुगाकिमका अनुसार २०७० जेठ १३ र १४ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको थियो। त्यसपछि पाठ्क्रम विकास केन्द्रको सहयोगमा पाठ्यपुस्तक निर्माण गर्ने कार्यको थालनी भएको थियो। पत्ता लागेका भाषालाई पुस्तकमा दस्तावेजीकरण गर्न २०७१ वैशाख तेश्रो साता च्यास्मीटारका तिलुङ भाषी बुढापाकालाई काठमाडौं लगेर तिलुङ भाषाको शब्द संकलन गर्ने काम भएको थियो। भाषा संरक्षणका लागि २०६८ साउन ७ गते चावहिलमा सम्पन्न अर्को भेलाले पहिलो पटक हिमालशेर तिलुङ राईको संयोजकत्वमा ‘तिलुङ भाषा तथा संस्कृति उत्थान समिति’ गठन गरेको बुगाकिमले जनाएको छ।।

भाषा शास्त्रीहरुका अनुसार तिलुङ भाषामा व्यञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण ६ गरी २८ वटा रहेका छन्। तिलुङ भाषामा कतिपय वर्णले अर्काे वर्णको पनि काम गर्ने गरेकाले वर्णको संख्या थोरै भएको हो। बुगाकिमले जनाए अनुसार तिलुङ भाषामा व्यञ्जन वर्णहरु त, थ, द, ध, ण, श, ष, क्ष, त्र र ज्ञ को प्रयोग नहुने तथा अं, ई, ऐ, औ र ऋ स्वर वर्णहरु पनि प्रयोगमा आउने गरेका छैनन्।  

तिलुङ समुदायका राईहरु खोटाङको च्यास्मीटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवामा बसोबास गर्दै आएका छन्। त्यस्तै उदयपुरका लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपाटार, ठानागाउँ, तावाश्रीमा केही संख्यामा रहेका तिलुङ समुदाय ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ र काठमाडौं पनि यो समुदायको बसोबास रहेको बुगाकिमले जनाएको छ।  

बुढापुस्ताको निधन हुँदै गएपछि तिलुङ भाषाको अस्तित्व संकटमा पर्दै गएर लोपोन्मुख हुन पुगेको हो। अहिले तिलुङ भाषा राम्रोसँग बोल्न जान्ने केही बुढापाकाहरु रहेको खोटाङको च्यास्मीटारमा यसको संरक्षण गर्न विद्यालयमा पठनपाठन थालिएको र यसले निश्चय नै भाषाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको मेयर राईले बताएकी छिन्।

प्रकाशित: २४ असार २०७९ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App