४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

राष्ट्रिय विज्ञान विद्यार्थी पहिचान

राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान भएको छ। दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ बाट ती विद्यार्थी पहिचान गरिएको हो।

भक्तपुरमा सम्पन्न केन्द्रीय प्रतिस्पर्धामा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठ पहिलो भई पहिचान भएका हुन्। प्रतियोगितामा रत्नराज्य मावि काठमाडौंका पारस रे द्वितीय, कसिनी मावि मोरङका प्रविन वि.क. तृतीय, जनज्योति मावि रौतहटका रोचक कार्की चतुर्थ र क्रिसेन्ट सिटी स्कुल कैलालीका रोशिका मल्लले सान्त्वना पुरस्कार प्राप्त गरे।

कार्यक्रमको ढाँचाअनुसार केन्द्रीय प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना परियोजनालाई नगद १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ४ हजारसहित प्रमाणपत्र र मेडलद्वारा सम्मान गरिएको छ।

विज्ञान शिक्षक समाज नेपाल केन्द्रीय सचिवालयले युनेस्को नेपाल सचिवालयसँग एक सम्झौतामार्फत यो कार्यक्रम सञ्चालन गरेको हो। विद्यालयस्तरीय परियोजना निर्माणमार्फत विज्ञान, प्रतिभा पहिचान गर्ने र पहिचान गरिएका प्रतिभालाई राष्ट्रिय सम्मानका साथ हाइलाइट गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।

युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्राज्ञ रमेश मास्के, प्राज्ञ दिनेशराज भुजु, नास्ट प्रविधि विभाग प्रमुख रवीन्द्र, प्रा.डा. रामेश्वर अधिकारीलगायत वैज्ञानिक समुदायको उपस्थितिमा कार्यक्रम भएको थियो। आयोजक विज्ञान शिक्षक समाजका अध्यक्ष खिलकुमार प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सचिव मनोज आचार्यले सञ्चालन गरेका थिए। प्रतिस्पर्धात्मक विज्ञान परियोजनाहरूको पाँच सयभन्दा बढी विद्यार्थीले अवलोकन गरेको जनाइएको छ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयलाई आर्थिक वर्ष २०७८/०७९ भित्रमा सम्पादन गर्ने गरी विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रतिभा खोजी कार्यक्रम विज्ञान शिक्षक समाज नेपालमार्फत सञ्चालन गर्ने गरी उक्त कार्यक्रमलाई बढीभन्दा बढी प्रतिस्पर्धी, पारदर्शी, विश्वसनीय, जवाफदेही, प्रभावकारी, उपलब्धिमूलक र लाभग्राही बनाउनका लागि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय र विज्ञान शिक्षक समाजका बीचमा एक सम्झौता गरिएको थियो। सम्झौताअनुसार यो कार्यक्रम भएको हो।

यसअघि कार्यक्रमको प्रथम चरणअन्तर्गत असार ६ गते प्रदेश न १ र बाँकी सबै प्रदेशमा असार ४ गते प्रादेशिक छनोट प्रतियोगिता भएको थियो। सो प्रतियोगितामार्फत प्रत्येक प्रदेशबाट दुई/दुई वटा परियोजना केन्द्रीय प्रतिस्पर्धामा छनौट भएअनुसार नेपालभरिबाट १४ वटा प्रोजेक्टबीच केन्द्रीय प्रतिस्पर्धा आयोजना गरिएको थियो।  

यस अर्थमा केन्द्रीय प्रतिस्पर्धामा नेपालका सबै प्रदेशबाट प्रतिनिधि १४ जना प्रतिस्पर्धी विद्यार्थी र १४ जना विज्ञान शिक्षक सहभागी गराइएको थियो। प्रादेशिक छनोट प्रतियोगिता विज्ञान प्रदर्शनी मेलामार्फत सञ्चालन गरिएकाले सबै प्रदेशमा गरी १० हजारभन्दा बढी विद्यार्थी लाभग्राही भएको जनाइएको छ। केन्द्रीय प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थी नेपालका उत्कृट युवा वैज्ञानिक प्रतिभा रहेको जनाइएको छ। नेपालका सम्पूर्ण वैज्ञानिक समुदायले यसलाई ग्रहण गरी प्रवर्धन गर्न विज्ञान शिक्षक समाज नेपालले सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ।

विद्यालयस्तरीय विज्ञान शिक्षा उन्नयन गर्न सक्रिय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एजेन्सी तथा सरकारी अंगसँग सहकार्य गर्ने नीतिअनुसार साइन्स एजुकेसन फ्रम क्यापियन, एक्सपरिमेन्ट, एक्सिपरेन्स एन्ड इनोभेसन भन्ने मुख्य अभियानका साथ समाज २०६६ सालमा स्थापना गरिएको जनाइएको छ।

प्रकाशित: २१ असार २०७९ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App