३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

देशभरका स्कुलहरुमा स्काउट शिक्षा लागू गर्न आग्रह

नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले सबै स्कुलहरुमा अनिवार्य रुपमा स्काउट शिक्षा लागू गर्न आग्रह गरेका छन्।

स्काउट शिक्षाले मानिसलाई अनुशासित मात्रै नभई नेतृत्व अनि व्यक्तित्वको पनि विकास गराउने भएकाले स्काउट शिक्षा महत्वपूर्ण रहेको उनले बताए। बागमति प्रदेशले भक्तपुरमा सुरु गरेको एकहप्ते एड्भान्स तालिमको उद्घाटन गर्दै उनले भक्तपुरका स्कुलहरुमा पनि स्काउट शिक्षा लागू गर्न आग्रह गरे।  

स्थानीय स्काउट कार्यालय सूर्यविनायकमा आयोजित तालिम उद्घाटनमा भण्डारीले स्काउट शिक्षामार्फत् युवाहरुलाई नैतिकवान, अनुशासित, योग्य र दक्ष नागरिक बनाउन सकिने बताए। यही उद्देश्यका साथ स्थानीय पालिकाहरुमार्फत विद्यालयमा स्काउट शिक्षा अनिवार्य गर्न उनले आग्रह गरे। स्काउट शिक्षाबाटै युवालाई सिप र रोजगार वृद्धिका लागि उनले स्थानीय तहहरुको ध्यानाकषर्ण गराए।

नेपाल स्काउट बागमति प्रदेशका संयोजक शिवराम अर्यालको सभापतित्वमा भएको तालिम उद्घाटनको अवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईलाई स्काउटको दिक्षान्त सपथ गराएका थिए। नवनिर्वाचित जनप्रतिनिधिहरु वडा नम्वर ७ र ८ का वडाध्यक्ष क्रमशः रवीन्द्र सापकोटा र पुष्पराज बस्नेतलाई बढाई तथा शुभकामना व्यक्त गरेका थिए।  

सो अवसरमा प्रमुख अतिथी भण्डारीले ४५ औ र ४६ औं स्काउट एड्भान्स तालिमको कोर्ष लिडरहरु रामगोपाल कर्माचार्य र भक्त राजभण्डारीलाई कोर्ष प्रमाणपत्र हस्तान्तरण गरेका थिए।  

तालिममा बागमति प्रदेशका १३ वटा जिल्लामध्ये ८ वटा जिल्लाका ४० जना प्रशिक्षार्थीहरु सहभागी छन्। ४५ औं र ४६ औं स्काउट एड्भान्स तालिम आयोजना गरेको राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्यले बताए।

प्रकाशित: २३ जेष्ठ २०७९ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App