इलाममा सामुदायिक कृषि क्याम्पस स्थापना भएको छ। पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएपछि आउँदो शैक्षिकसत्र (फागुन)देखि नै पढाइ हुनेगरी बिएस्सी एग्रिकल्चर कक्षा सुरु हुने भएको छ।
इलाम नगरपालिकाले स्थापना गरेको यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहहरूले सञ्चालन गरेको पहिलो कृषि क्याम्पस हो। इलाम नगरपालिका–९, मा बसपार्क सञ्चालनका लागि निर्मित नयाँ भवनमा क्याम्पस स्थापना गरिएको छ।
२७ रोपनी जमिनमा फैलिएको यो क्षेत्रमा कृषिको प्रयोगात्मक अभ्यासका लागि पर्याप्त सम्भावना रहेको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। ‘क्याम्पस भवनको नजिकै निजी क्षेत्रबाट व्यावसायिक रूपमा नमुना खेती भइरहेको छ,’ उनले भने, ‘भौतिक र प्राविधिक हिसाबले क्याम्पस भएको स्थान कृषि अध्ययनका लागि उत्कृष्ट छ।’
क्याम्पसमा आठ सेमेस्टरमा पढाइ हुनेगरी जेनेरल बिएस्सी एजी पढाइ हुन लागेको हो। एक ब्याचमा ४८ जनाको कोटा निर्धारण गरिएको छ। क्याम्पसमा प्रमुखसहित २ अध्यापक नियुक्त गरिएको छ भने ११ अध्यापकको दरबन्दी निर्धारण गरिएको छ। क्याम्पस प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले आउँदो शैक्षिकसत्रदेखि पढाइ हुने र विद्यार्थी भर्ना फाराम खुलेको बताए। ‘८ सेमेस्टरमध्ये ७ सम्म जेनेरल कृषि पढाइ हुने हो,’ उनले भने, ‘आठौं सेमेस्टर विशिष्टीकृत हुन्छ, आठौं सेमेस्टर पूरै इन्टर्नसिप हुनेछ।’
श्रेष्ठले विज्ञान संकायमा सय पूर्णाङ्कको बायोलोजी र कम्तीमा ५० पूर्णाङ्कको गणित विषय लिएर १२ कक्षा उत्तीर्ण गरेको वा प्यान्ट साइन्समा आइएस्सी एजी उत्तीर्ण गरेको विद्यार्थी भर्नाका लागि योग्य हुने बताए। भर्ना हुन चाहने विद्यार्थीले अनलाइन फाराम भर्न सक्ने छन्। अन्यत्रभन्दा यहाँको क्याम्पसमा पढ्न विद्यार्थीका लागि आर्थिक हिसाबले सस्तो भएको उनले जनाए। ‘किसानका छोरा–छोरीले पढ्ने कृषि विषय सबैभन्दा सस्तो हुनुपर्ने भएपनि अन्यत्रका क्याम्पसमा यही कोर्स पढ्न एउटा विद्यार्थी ६ देखि १४ लाख रुपैयाँसम्म तिर्नुपर्छ,’ डा.श्रेष्ठले भने, ‘यहाँ ४ लाख रुपैयाँमा पढाइ सकिन्छ।’ उनले सामुदायिक क्याम्पस भएकाले पनि विद्यार्थीले तिर्ने शुल्क थोरै भएको बताए।
श्रेष्ठका अनुसार अहिले फाराम भर्न एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। विद्यार्थीले ७० हजार रुपैयाँ तिर्दा भर्ना हुन पाउँछन्। पहिलो समेस्टरभरमा एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्नेछ। त्यसपछिका प्रत्येक सेमेस्टरमा बराबरी शुल्क बुझाउनुपर्छ। विद्यार्थीले सुरुमै २० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। धरौटी रकम पछि फिर्ता हुनेछ।
यहाँ पढाइ हुन लागेको बिएस्सी अनर्स एग्रिकल्चर लोकसेवा आयोगबाटसमेत मान्यताप्राप्त भएको उनको भनाइ छ। ‘यहाँ पढेको विद्यार्थीले चाहिँ अधिकतर विषयमा लोकसेवाको प्रतिस्पर्धामा भिड्न पाउँछन्,’ उनले भने, ‘पढेपछि धोका हुँदैन, यो कोर्सलाई लोकसेवाले मान्यता दिएको छ।’
पढाइका लागि क्याम्पसमा २ प्रयोगशाला स्थापना गरिएको छ। ‘अन्यत्रभन्दा फरक चाहिँ हामी यहाँ स्मार्ट क्लाससमेत सञ्चालन गर्दैछौं, तयारी भइसकेको छ,’ क्याम्पस प्रमुख डा.श्रेष्ठले भने, ‘अर्काे राम्रो पक्ष भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षा इलाममै दिन पाउनेछन्।’
नगरपालिका प्रवक्ता श्रेष्ठले इलाम कृषि क्षेत्रमा सम्भावनायुक्त जिल्ला भएकाले कृषि प्राविधिक उत्पादनका लागि नगरले प्रयास गरेको बताए। ‘इलामका विद्यार्थी कृषि पढ्न इच्छुक छन्, पालिकाहरूसँगसमेत समन्वय गरी कृषि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पस सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘सामुदायिकस्तरबाटै क्याम्पस सञ्चालन हुने भएकाले हामी सबै इलामेले यसको अपनत्व लिनुपर्छ।’ उनले अन्य पालिकासँग पनि समन्वयका लागि प्रयास भइरहेको बताए। विशेषगरी पूर्वी पहाडी जिल्लाका विद्यार्थी यहाँ पढ्न आउने र तराईसहित टाढाका विद्यार्थीसमेत इलामको हावापानीमा बस्न, सुलभ शुल्कमा पढाइका लागि आउने सम्भावना रहेको उनले जनाए।
नगरपालिकाले क्याम्पस स्थापनाका लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ। त्यसबाहेक २० लाख रुपैयाँ धरौटी राखिएको उनले जनाए। प्रवक्ता श्रेष्ठले सामुदायिक क्याम्पस भएकाले विश्वविद्यालय अनुदान आयोगले समेत सहुलियत प्रदान गर्ने बताए। ‘आर्थिक हिसाबले कमजोर भएर पनि कृषि क्षेत्रमा दक्ष बन्न चाहने विद्यार्थीलाई क्याम्पस स्थापनाले सहयोग पुग्ने आशा लिएका छौं,’ उनले भने, ‘नवौं नगरसभाले कार्यपालिको प्रस्ताव पारित गरेपछि प्रक्रिया सुर गरेको लामो समयपछि क्याम्पसले सम्बन्धन पाएको छ, सबै इलामवासीका लागि खुसीको खबर हो यो।’
क्याम्पस सञ्चालन गर्न महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख जसबहादुर लुंगेलीको अध्यक्षतामा सञ्चालक समिति गठन भएको छ। समितिको कार्यकाल ४ वर्ष छ। नगरले इलाम कृषि क्याम्पस सञ्चालन कार्यविधि लागू गरेको छ।
प्रकाशित: ५ माघ २०७८ १५:०९ बुधबार