कोरोना भाइरस (कोभिड–१९) का कारण हाल अधिकांश बिद्यालय वन्द छ। कोरोना महामारी तत्काल साम्य हुने अवस्था नभएपछि हाल कतिपय शैक्षिक संस्थाले स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ। तर, लकडाउनको अवधिमा अधिकांश सामुदायिक तथा निजी विद्यालय बन्द हुँदा ‘प्राक्टिकल’ शिक्षाको अभ्यास गरिरहेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम (शुभद्रा–मदन) फाउण्डेसनको शैक्षिक क्रियाकलाप भने रोकिएन। लकडाउनका बेला अन्य शैक्षिक संस्था बन्द भएर प्रांगणमा हरियो घाँस पलाउदा शुभम फाउण्डेसन जहिल्यै खुला रहे। फाउण्डेसनमा आवासिय दिन बिताइरहेका विद्यार्थीको प्राक्टिकल (व्यवहारिक) शिक्षाको सिकाई तालिकामा कुनै फेरबदल नभएको शुभद्रा–मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए।
लकडाउनकाबेला पनि फाउण्डेसनका विद्यार्थीको समुहले धान, कोदो, बन्दा, आलु, अकबरे खुर्सानी लगायतका कृषि बालीको खेती, गोडमेल, हेरचाह, बालीनालीमा देखिएका रोग, अनुसन्धान, बानीनालीको अंग्रेजी नाम, बैज्ञानिक नाम, खेती गर्ने समय लगायतका बारेमा अध्यायन गरिरहे। कुनै बिद्यार्थीको समुहले गाई, बाख्रा, भैंसी, बंगुर, खरायो, हाँस, कुखुरा, परेवा, लौकाट, टर्की लगायतका पशुपन्छी बारेको अध्ययनलाई निरन्तरता दिए। कुनै बिद्यार्थी फूलका बगैंचा सजावट, सिलाई–कटाई, कम्प्यूटर ल्याव, पुस्तकालय, इन्जिनियरिङ, आरन, पाक कला, सिकर्मी, डकर्मी, कुटानी पिसानी सम्बन्धी काम सिक्नमा व्यस्त बने। ‘नेपालमा कोरोनाको महामारी भित्रिन अगावै हामीले विद्यार्थीलाई स्वास्थ्यका बारेमा ज्ञान दियौं। शिक्षक, विद्यार्थी तथा उसका परिवारलाई अन्यको सम्पर्कमा नजान सचेत गरायौँ,’ कार्यकारी निर्देशक राईले भने, ‘हामीबीचमा मात्र टच हुने वाताबरण बनाएपछि हाम्रो सिकाई कक्षालाई निरन्तर चलायौं। हाम्रो विद्यार्थीले लकडाउनको कुनै अनुभूती गर्न परेन। न विद्यार्थी त्रसित भए, न त शिक्षक नै।’
बन्द भएको अवस्थामा २०७२ सालमा फाउण्डेसनले जिम्मा लिएको सोही ठाउँको जनजागृति आधारभुत बिद्यालयका शिक्षक/विद्यार्थीले समेत लकडाउन भन्न परेन। लकडाउन भए पनि जनजागृति आधारभुत बिद्यालयका शिक्षकलाई विदा दिइएन। लकडाउनको अवधिमा जनजागृति आधारभुत बिद्यालयका विद्यार्थीलाई घरैमा ‘टास्क’ दिएर शिक्षण क्रियाकलापलाई निरन्तरता दिइएको कार्यकारी निर्देशक राईले बताए। हरेक विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने उद्धेश्यले ‘कुटोदेखि कम्प्यूटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनले ‘संकटका समयमा पनि शैक्षिक क्रियाकलापलाई कसरी निरन्तरता दिन सकिन्छ’ भनेर लकडाउनलाई सिक्ने ‘अवशर’कारुपमा उपयोग गरेको जनाएको छ।
लकडाउनका बेला शैक्षिक संस्थालाई बन्द गर्नुको सट्टा घर वा छरछिमेकलाई नै विद्यालय वा सिकाई केन्द्रकारुपमा उपयोग गर्नुपर्ने फाउण्डेसनमा कार्यरत शिक्षक÷शिक्षिकाको तर्क छ। ‘यो समयलाई अप्ठ्यारोभन्दा पनि अवसरको रूपमा लिनुपर्छ। अवसर यो मानेमा छ की हामीले नदेखेको तर हाम्रै वरिपरि भएको हामीले दैनिक जीवनमा गरिने सम्पूर्ण कार्यहरु नै शिक्षा हुन् तर त्यसलाई शिक्षा बनाएर कसरी सिकाइमा जोड्ने भन्ने कुरा महत्वपूर्ण छ,’ फाउण्डेसनकी शिक्षीका एबं लेखा प्रशासन प्रमुख बशन्ती राई भन्छिन्, ‘अब शिक्षा ईन्टरनेटमा छ, शिक्षा घरघरमा छ, शिक्षा एक अर्काको सहकार्यमा छ, शिक्षा हाम्रो बारीमा छ, भान्सामा छ, हजुरबा÷हजुरआमामा छ, परिवारमा छ, साथीमा छ अनि संस्कार र संस्कृतिमा छ। अब विद्यार्थी कक्षा कोठा धाउने होइन, शिक्षक विद्यार्थीको घर धाउनेबेला आएको छ। हरेक घर स्कुल हो र हरेक स्कुल घर हो।’
बिद्यार्थीलाई पाठ रटाउने तर पाठ्याक्रमले खोजेका क्रियाकलापमा संलग्न नगराउने शैक्षिक परिपाटीको अन्त्याको अभियानकारुपमा कृषिबिज्ञ मदन राईको लगानीमा २०७० सालमा स्थापित फाउण्डेसनले शिक्षामा नयाँ प्रयोग गरिरहेको छ। काममुखी शिक्षाको अभावमा अहिलेका बिद्यार्थीसँग सर्टिफिकेट छ, तर भनेकोबेला रोजगार पाउँदैन, पढालेखा छ, हातमा सीप छैन। यही समस्या हल गर्ने उपायको खोजीमा आफुहरु जुटेको फाउण्डेसनका कार्यकारी निर्देशक राईले बताए। सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षण विधि अपनाएर शैक्षिक अभ्यास गरिरहेको फाउण्डेसनमा पाठ्यापुस्तकको अध्ययन सँगै मानव जीवनमा गर्नुपर्ने वा मानव जीवनका लागि आवश्यक सबै काम सिकाउने गरिएको छ। फाउण्डेसन आफैमा बिद्यालय होईन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग यहाँ देख्न र सिक्न सकिन्छ। फाउण्डेसनमा बसिरहेका विद्यार्थीले बिद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन्छन्, अन्य ज्ञान र सीप फाउण्डेसनबाट।
फाउण्डेसनका साना कक्षाका बिद्यार्थी नजिकै रहेको जनजागृति आधारभुत प्राबि र माबि तहमाथिका कक्षाका विद्यार्थी सरस्वती उच्च माबि दिक्तेलमा भर्ना भएका छन्। त्योभन्दा माथिल्ला तहका बिद्यार्थी दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। तर, उनीहरु सिकाई बन्द कोठामा मात्र सिमित रहँदैनन्। विद्यार्थीलाई गाईको बारेमा सिकाउन परे गोठमै पु¥याइन्छ। बाख्राको बारेमा पढाउन परे बिद्यार्थीलाई खोरमा लगिन्छ। धानको बारेमा अध्यायन गराउन परे खेतमा लगिन्छ। बोटबिरुवाको विषयमा पढाउन परे बोटबिरुवा भएकै ठाउँमा लगेर पढाउने गरिन्छ। ‘विद्यालयले कोठाभित्र घोकाएर सिकाउँछ, फाउण्डेसनले कोठा बाहिर गएर सिकाउँछ। अर्थात प्रत्यक्ष काम गराएर सिकाउँछ,’ राईले भने, ‘बिद्यालय र फाउण्डेसनबीचको शिक्षणशैलीमा फरक यत्ती हो।’
विद्यार्थीलाई कोरा ज्ञान मात्र नभै व्यवहारिक ज्ञान दिइनुपर्ने मान्यता बोकेको फाउण्डेसनका केही आफ्नै मूल्या छन्। विद्यार्थीलाई शिक्षा, सीप लगायत हरेक हिसावले सक्षम नागरिक बनाउने, कृषि, पर्यटन, उद्योग लगायतका बिषयको उत्पादन, बजारीकरण गर्न सिकाउने, मानव अस्तित्वसँग जोडिएको वाताबरण शिक्षा प्रदान गर्ने शिक्षा व्यवस्था फाउण्डेसनका लक्ष्य हुन्। फाउण्डेसनमा ‘संस्कारमा हुर्काउ र प्रकृतिमा सिकाऔं’ भन्ने नाराकासाथ विद्यार्थीलाई रुची र इच्छा अनुशार सिक्ने अवशर दिने गरिएको छ। राज्यको लगानीमा खुलेका शैक्षिक संस्थाले यही मान्यतालाई आत्मसाथ गरे मात्र देशको प्रगती हुने कार्यकारी निर्देशक राईको धारणा छ।
पाठ्यापुस्तकसँगै काममुखि शिक्षालाई जोड दिँदै आएको फाउण्डेसनमा हाल सात वटै प्रदेश तथा हिमाल, पहाड र तराईका ४२ जिल्लाका डेढ सय विद्यार्थी आवद्ध छन्। भारत बिहारका बिद्यार्थी समेत फाउण्डेसनमा आएका छन्। कृषिबिज्ञ राईको लगानीमा २०६१ सालमा स्थापित नाहिमा कृषि श्रोत केन्द्रलाई २०७० सालमा शुभम–फाउण्डेसनमा परिवर्तन गरिएको हो। आफ्नै क्षेत्रबाट जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको फाउण्डेसनले नजिकै रहेको जनजागृति आधारभुत बिद्यालय जिम्मा लिएर व्यवहारिक शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाउने प्रयास गरिरहेको छ। विद्यार्थी संख्या घटेपछि खारेजमा पर्न लागेपछि अभिभाबकको आग्रहमा फाउण्डेसनले जनजागृतिलाई शिक्षा सुधारको अभ्यास गर्ने थलोकारुपमा विकास गरेको हो।
प्रकाशित: ६ श्रावण २०७७ १०:४७ मंगलबार