११ मंसिर २०८१ मंगलबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरले विद्यार्थीका लागि रेडियो कक्षा सुरु गर्यो

काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम बुधबारदेखि सुरु गरेको छ।  बन्दाबन्दीका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट कक्षा एक देखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो।  

प्रत्येक दिन विहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म रेडियो कक्षा संचालन गरिने महानगरले तय गरेको छ।  सोही सन्दर्भमा बुधबार पहिलो दिन कक्षा १ देखि ३ सम्म मेरो सेरोफेरो र कक्षा ४ देखि १० सम्म विज्ञान विषयको कक्षा संचालन गरिएको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।  

महनागरले रेडियो शिक्षा कार्यक्रम सञ्चालन विद्यालयका शिक्षकहरुले गर्ने तय गरेको छ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्ने छन्।  दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ।  जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन माविका प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कंडेललाई जिम्मा दिइएको छ।  

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेको कँडेलले बताए।  ‘कक्षा एकदेखि चार सम्म २५ मिनेटको कक्षा हुने तय गरिएको छ,’ समिति संयोजक समेत रहेको प्रअ कँडेलले नागरिकसँग भने ‘कक्षा ५ देखि १० सम्म भने ३० मिनेटको कक्षा संचालन भयो। ’ उनले थपे ‘विद्यार्थी अभिभाकसाथै बसेर प्रत्येक विषयको कक्षामा सहभागिता जनाइरहेका छन्।  विद्यार्थीले नबुझेको विषयबस्तु कक्षा पछि फोन वा अनलाइनका अन्य माध्यमबाट अन्तरक्रिया गर्ने ब्यवस्था गरिएको छ।’ दिनमा एउटै विषय कक्षा एकदेखि १०सम्म रेडियोबाट पढाइने बताए।  

बाफलमा रहेको ज्ञानोदय  माविले पनि आजबाटै रेडियो कक्षा संचालन गरेको छ।  स्कुलका प्रअ नातिकाजी महर्जनले आफनो फेसबुक स्टाटसमा रेडियो कक्षा संचालन गरेको सूचनाहरु पोस्ट गर्दै विद्यार्थीहरुको सिक्ने र पढ्ने चाहना रेडियो कक्षाले पुरा गरिदिएको भन्दै खुशी ब्यक्त गरेका छन्।  प्रधानाध्यापक महर्जनले लकडाउनको समयमा घरमा बस्दाबस्दै विद्यार्थीहरुमा नकरात्मक मनोवैज्ञानिक असर पर्दै गएको बताउँदै उनले महानगरले कम्तीमा रेडियो कक्षा संचालन गरेपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरु समेत सिकाइ प्रकृयासँग निरन्तर जोडिरहने बताए। उनका अनुसार हालको सिकाइ पछि बन्दाबन्दी खुलेपछि पनि पठनपाठनमा जोडिने जनाए।  

रेडियोबाट पढाउन महानगरले विषयतालिका समेत तय गरेको छ।  जस अनुसार आइतबार कक्षा एक देखि १० सम्मकै नेपाल, सोमबार अंग्रेजी, मंगलबार समाजिक, बुधबार विज्ञान, बिहिबार एचपिइ तथा अंग्रेजी र शुक्रबार नेपाली र अंग्रजीको कक्षा संचालन गरिने छ।  

मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेकाम सामुदायिक स्कुलका प्रध्यापकहरु निकै खुशी बनेका छन्।  किन भने निजी विद्यालयहरुले यसअघिनै अनलाइन कक्षाबाट आफ्ना विद्यार्थीहरुको पठनपाठन अघि बढाइ सकेको अवस्था छ।  

महानगरमा मेयर विद्यासुन्धर शाक्यले विद्यार्थीको हातमा किताब पुगिसकेकोले अब रेडियोबाट कक्षा संचालन गर्दा नानीहरुले हातमा किताब लिएर खोलेर बझेर पढन् सक्ने बताए। ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ ,’ मेयर शक्यले भने ‘ रेडियो शिक्षालाई सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लैजाने महानगरको योजना छ।’ उनले सामुदायिक स्कुलका शिक्षक तथा महानगर शिक्षा विभागका अधिकारीलाई गुणस्तीय शिक्षा कायम गर्न जोड दिए।  

यसकासाथै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई समेत बन्दाबन्दीका बेला पनि निरन्तरता दिदैँ आएको छ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ।  

महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ ओटा विशेष विद्यालय र ६ सय ४३ ओटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताए।  रेडियो शिक्षा कार्यक्रमलाई विस्तार गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइनेछ  महानगरको योजना रहेको छ।  

 

 

 

 

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App