४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘चप्पल लगाएर आएको थिएँ जुत्ता लगाउने भएँ’

गाउँबाट चप्पल लगाएर काठमाडौँ आएका राम नेपाली आज सुटबुट लगाएर एक कम्पनीमा मोबाइल एप डेभलपरको रूपमा कार्यरत छन्। सिन्धुपाल्चोकका नेपालीले अवसर पाए नेपालमै बसेर देशकै लागि काम गर्ने अठोट लिए तर आर्थिक अवस्था कमजोर भएकाले एसइईपछिको पढाइलाई निरन्तरता दिन सकेनन्।

सिन्धुपाल्चोकको श्री तेर्से माविबाट एसइई पास भए  तर आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ रोकिने अवस्था आयो। उनका शिक्षकले उनी जस्तै आर्थिक अवस्था कमजोर भएका तर अवसर पाए अध्ययन गरी नेपालमै केही गर्ने अठोट लिएका चारजना विद्यार्थीको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिदिए। संयोगवश सामाजिक सञ्जालको यो सूचना काठमाडौंस्थित इस्लिङ्टन कलेजका संस्थापक सुलभ बुढाथोकीसम्म पुग्यो। बुढाथोकी आफैं सिन्धुपाल्चोकको सो स्कुल पुगी राम नेपाली, सीताराम थिङ, लक्ष्मण नेपाल र सविना धनकुटीलाई काठमाडौँ ल्याए। उनले यस्ता विद्यार्थीको शिक्षादीक्षाका लागि ‘हामी नेपाली सक्षम छौं’ भन्ने छात्रवृत्तिको व्यवस्थापन गरिदिए। 

‘सुरुमा काठमाडौँ आउँदा यहाँको तडकभडकले म आत्तिएँ। मान्छेसँग बोल्दा पनि पसिनै आउँथ्यो,’ सोमबार कलेजमै भेटिएका रामले भने, ‘गाउँबाट चप्पल लगाएर आएको म आज सुलभ सरकै हौसलाले जुत्ता लगाएर हिँड्ने भएको छु। कहिल्यै कम्प्युटर चलाउन नजानेको म आज मोबाइल प्रोग्राम डेभलपरको काम गर्ने भएको छु।’

राम नेपाली, सीताराम थिङ, लक्ष्मण नेपाली र सविना धनकुटी यी चारैजना सोही स्कुलबाट एसइई दिएर आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ रोकिने अवस्थामा पुगेका विद्यार्थी हुन्। यी चारै जनालाई सुलभ बुढाथोकीले काठमाडौँ ल्याएर कालोपुलको जेभियर इन्टरनेसनल कलेजमा कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा पढ्ने व्यवस्था गरिदिएपछि उनीहरूको पढाइ अगाडि बढेको सीतारामका बुवा सन्चमान थिङले गर्वसाथ सुनाए। सन्चमान छोराको दीक्षान्त समारोहमा उपस्थित थिए। उनको आँखा खुसीका आँसुले भरिएका थिए। कक्षा १२ जेभियरमा पूरा भएपछि इस्लिङ्टनबाट कम्प्युटर साइन्समा ब्याचलर पनि पूर्ण छात्रवृत्तिमा कलेजले पठनपाठनको व्यवस्थापन गरेको हो।

‘हामी अति विपन्न वर्गका मान्छेसँग छोराछोरी काठमाडौंको ठुला कलेजमा पढाउने सपना पनि हेर्न सक्दैनौं। तर सुलभ सरले छात्रवृत्ति दिएर धेरै पुगेर हाम्रो दयनीय अवस्था बुझेर हाम्रो सन्तानलाई शिक्षादीक्षा दिएर अभिभावकत्व निभाउनुभयो,’ सन्चमानले छोरा सीतारामलाई सुटबुटमा माथिदेखि तलसम्म नियाल्दै भने, ‘आज मेरो छोरो पनि अंग्रेजीमै बोल्ने भएको छ। देशका लागि आइटी क्षेत्रमा काम गर्ने भयो। म खुसी छु।’ सीतारामले आफू सरकारी स्कुलमा सानैदेखि सबै विषय नेपालीमै पढेकाले सुरुका दिनमा पहिले त पढाइ बुझ्नै कठिन बनेको अनुभव सुनाए। ‘कक्षाकोठामा सबै सम्भ्रान्त परिवारका साथी हुनुहुन्थ्यो, फररर अंग्रेजी बोल्ने। तर आफूलाई त केही नआउने,’ सीतारामले आफ्नो अध्ययनको कठिनाइ सुनाए ।

अर्की छात्रा सविना धनकुटीलाई त पहिले काज्ञठमाडौं आउनै डर लागेको थियो। तापनि पढाइकै खातिर सहर आएको उनले सुनाइन्। सविनालाई गाउँबाट सहरसम्म पुग्ने सोच पनि कहिल्यै नभएको सुनाइन्। तर आफूले काठमाडौँ महानगरको स्तरीय कलेज इस्लिङ्टनबाट स्नातकसम्मको पढाइ पूरा गर्न पाउँदा गर्वको अनुभूति भएको सुनाइन्। ‘सरकारी स्कुल पढ्दा सबै नेपालीमा र एउटा मात्र अंग्रेजी पढ्नुपथ्र्यो तर ११ र १२ मा सबै अंग्रेजीमै पढ्नुपर्दा हामी सरकारीका विद्यार्थीलाई कठिनाइ हुनु स्वाभाविक थियो,’ सविनाले सरकारी र निजी शिक्षाको फरक बताइन्, ‘पहिले गाउँको स्कुलमा अंग्रेजी पढाउने सरले पनि नेपालीमै बोल्नुहुन्थ्यो। तर अब काठमाडौंमा सबै सरहरू आउनुहुन्थ्यो फररर अंग्रेजीमै बोलेर जानुहुन्थ्यो। सुरुको एक साता त मैले केही बुझ्न सकिनँ। तर पछि सबै अंग्रेजी शब्दलाई नेपालीमा खोजेर सिक्न थालेपछि सहज भयो।’ हाल इस्लिङ्टनमै चार वर्षे बिबिए अध्ययन गरिरहेकी सविनाले भनिन्, ‘मैले विदेशी डिग्री नै स्वदेशमै बसेर पाइने कुरा पनि काठमाडौँ आएर थाह पाएँ। सकेसम्म नेपालमै बसेर काम गर्ने मेरो उद्देश्य हो।’

लक्ष्मण नेपालीको कथा पनि उस्तै छ। विपन्न परिवारमा जन्मेका सिन्धुपाल्चोकका लक्ष्मणको पनि सोही स्कुलबाट एसइईपछि अध्ययन रोकिने लगभग पक्का थियो। तर आफूलाई पढाउने शिक्षकले आफ्नो पढाइको रुचिबारे सामाजिक सञ्जालमा राखेपछि अध्ययनका लागि बाटो खुलेको उनले सुनाए। ‘सुरुमा त सुलभ सरले हामीलाई काठमाडौँ ल्याएर जेभियर इन्टरनेसलमा कक्षा ११ र १२ मा भर्ना गरिदिनुभयो। लत्ताकपडा र खानपिनको व्यवस्थापन पनि सुलभ सरले गरिदिनुभयो,’ कम्प्युटर विज्ञानका विद्यार्थी लक्ष्मणले भने, ‘पहिले त चारजनामध्ये जसले राम्रो गर्छ, उसलाई मात्र इस्लिङ्टनमा स्नातक पढाइदिने भन्दा मलाई मनमा डर थियो। कतै फेरि १२ पछिको अध्ययन रोकिने पो हो कि?’ आइएनजीमै कार्यरत उनले थपे, ‘तर पछि हामी चार जनालाई नै कम्प्युटर साइन्सका लागि इस्लिङ्टनमा स्नातकमा छात्रवृत्तिमै पढाउने खबरले मन हौसियो र थप मिहिनेत गर्न थालेँ। पहिले मलाई परिवारले आर्थिक सहयोग गर्नुपथ्र्यो तर आज मैले परिवारलाई हेरिरहेको छु, यसैमा मलाई गर्व छ।’

इस्लिङ्टनका संस्थापक बुढाथोकीले नेपालको भविष्य भनेको हामी नै भएकाले स–साना भाइबहिनीले अवसर पाए ‘हामी नेपालमै केहि गर्छौं’ भन्ने साहस देखाएको बताए। ‘हाम्रा बच्चाले अवसर पाए भने स्वदेशमै गर्न सक्ने उदाहरण सीताराम, राम, लक्ष्मण र सविना बनेका छन्,’ बुढाथोकीले भने, ‘हामीले आफ्नो देशप्रतिको सामाजिक दायित्व पूरा गरेका मात्र हौं।’

प्रकाशित: ३ पुस २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App