९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

साकेलामा प्रविधिमैत्री शिक्षण सिकाई

विद्यालयलाई टेलिभिजन हस्तान्तरण गर्दै अध्यक्ष राई । तस्विरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य प्रविधिमैत्री कक्षा सञ्चालन गराउन थालेको छ ।जसका लागि गाउँपालिकाले विद्यालयहरूलाई स्मार्ट टेलिभिजनसमेत प्रदान गरेको छ । बालबालिकालाई आधुनिक र स्मार्ट प्रविधिको उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले टेलिभिजन प्रदान गरिएको हो ।

विद्यालयको फितलो व्यवस्थापन, पुरानो शैलीको शिक्षण सिकाई तथा कमजोर पठनपाठनले गर्दा दिनदिनै सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर बन्दै गएको जनगुनासो आउने गरेको छ । वर्षेनी खस्कँदो विद्यालय शिक्षा परीक्षा (एसइई) नतिजाले सो आरोप प्रमाणित हुँदै पनि गएको छ । त्यही कमजोर नतिजामा सुधार ल्याउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहायक सामग्रीको रुपमा स्मार्ट टेलिभिजन प्रदान गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

जस अनुसार पछिल्लो समय गाउँपालिकाले प्रविधिमैत्री, व्यवहारिक र नैतिक शिक्षाको शिक्षण सिकाई गर्न टेलिभिजन प्रदान गरिएको अध्यक्ष राईले बताएका छन् । सामुदायिक विद्यालयहरू हरेकले शिशु कक्षादेखि नै प्रविधिमा आधारित व्यवहारिक र नैतिक शिक्षाको पठनपाठन गर्न जोड दिन थालेकाले टेलिभिजनको प्रयोग गर्न थालिएको हो । उज्ज्वल भविष्य र समृद्धिको मुख्य आधार भनेकै शिक्षा भएकाले सानो कक्षादेखिकै विद्यार्थीलाई नैतिक वान, असल व्यवहार र मानवीय संस्कार संस्कृतिको विकास गराउन प्रविधिमैत्री सिकाई आवश्यक छ ।

व्यवहारिक, वस्तुगत र नैतिक शिक्षासहितको परिवर्तित प्रविधियुक्त समाजबारे ज्ञान दिन सकियो भने खस्कँदो शैक्षिक अवस्थाको सुधारसँगै गुणस्तरीय र व्यवहारिक शैक्षिक जनशक्ति उत्पादन हुने र त्यसले भविष्य सुन्दर बनाउने लक्ष्य अध्यक्ष राईले लिएका छन् । त्यसका लागि हरेक विद्यालय प्रविधिमैत्री भएर आधुनिक र बस्तुगत शिक्षा प्रदान गर्नुपर्ने खाँचो महसुस गर्दै गाउँपालिकाका ३ वटा माध्यमिक विद्यालयलाई टेलिभिजन वितरण गरेको हो । टेलिभिजनमार्फत ती विद्यालयले बालबालिकालाई ‘स्मार्ट शिक्षण सिकाई’ गराउने भएका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष राई र उपाध्यक्ष विर्सिका राईले वडा नम्बर ५ स्थित सरस्वती माध्यमिक विद्यालय, ३ स्थित सिद्देश्वरी माध्यमिक विद्यालय र १ को चण्डेश्वरी प्रस्तावित माध्यमिक विद्यालयलाई एक/एक थान टेलिभिजन प्रदान गरे । गाउँ शिक्षा शाखा संयोजक कविराज राईका अनुसार ती विद्यालयहरुले गाउँपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेको सूचकहरूको आधारमा पठनपाठन गर्नुपर्ने प्रतिबद्धता गराइएको छ ।

संयोजक राईका अनुसार साकेलाले गतवर्ष निर्माण गरेको आवधिक योजनामा गाउँपालिकालाई डिजिटल स्थानीय तह बनाउने उल्लेख छ । आवधिक योजनाले निर्दिष्ट गरे अनुसार सूचक पुरा गर्दै डिजिटल स्थानीय तह बनाउने अभियानलाई यस कार्यले सहयोग पुग्ने अपेक्षा पनि अध्यक्ष राईले गरेका छन् ।गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्युटर शिक्षाको पनि पढाई हुँदै आएको छ ।

नयाँ शैक्षिक वर्षदेखि तल्लो कक्षादेखि नै अनिवार्य रुपमा अङ्ग्रेजी र कम्प्युटर विषयको पठनपाठन गर्ने तथा हरेक हप्ताको शुक्रवार अतिरिक्त क्रियाकलापसँगै नैतिक विषयमा पठनपाठन गर्ने प्रावधान गाउँ शिक्षा समितिले लागू गरेको छ । सबै विद्यालयमा विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयमा यही शैक्षिक वर्षदेखि स्मार्ट शिक्षण सिकाइको माध्यमबाट पठनपाठन गर्न सुरुवात गरेको पनि शिक्षा शाखा संयोजक राईले बताएका छन् । 

प्रकाशित: २१ श्रावण २०८१ १९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App