२४ पुस २०८१ बुधबार
image/svg+xml
शिक्षा

अन्तरविद्यालय वादविवादमा जगत मन्दिर प्रथम

अन्तरविद्यालय वादविवाद प्रतियोगितामा चाबहिलस्थित जगत मन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ।

म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा बानेश्वरस्थित पिस प्वाइन्ट विद्यालयमा आइतबार सम्पन्न प्रतियोगितामा जगत मन्दिर प्रथम हुन सफल भएको हो।

प्रतियोगितामा जगत मन्दिरकी सुलक्ष्या पौडेल प्रथम भएकी छिन्। ‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार वेश’ विषयमा भएको प्रतियोगितामा रिभेरा एकेडेमीका प्रयास दवाडीले द्वितीय भएका छन्।

तृतीय स्थानमा भने लाइसियमकी रुक्मिणी गिरीले पुरस्कार हात पारेकी छिन्। प्रतियोगितामा स्वयम्भूस्थित न्यु अरुणोदय माविकी विवशा बाँस्तोला र प्रस्फुटन एकेडेमीकी अनुष्का खनालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

रोजगार तथा व्यवसाय, अध्ययनआदिको बहानामा बौद्धिक पलायन भइरहेको र जनशक्ति अभावले देशका कृषि, औद्योगिकलगायत उत्पादनमूलक क्षेत्र ठप्प भइरहेको बेला ‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार वेश’ जस्तो समयसापेक्ष शीर्षकमा प्रतियोगिता गराएको भन्दै जगत मन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल राजन आचार्यले माफप्रति कृतज्ञता ज्ञापन गरे।

‘वादे वादे जायते तत्व बोधस्’ अर्थात् तार्किक क्षमता वृद्धि गर्ने वादविवाद, हाजिरी जवाफ, कक्तृताजस्ता कार्यक्रमले वास्तविक ज्ञानको बोध हुने भन्दै उनले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ताखाले ज्ञानवद्र्धक कार्यक्रम अति उपयोगी हुने धारणा राखे।

समयसमयमा यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै उनले भने, ‘बत्तीमा पुतली होमिएझैं आफ्ना आफन्त वैदेशिक रोजगारमा होमिइरहेको बेला भावी पुस्तालाई सचेत बनाउन यस्ताखाले कार्यक्रम सान्दर्भिक हुनुका साथै यो एउटा सचेतना अभियान पनि हो।’

विभिन्न निजी विद्यालयहरूको छाता संगठन माफमा १६ विद्यालय संलग्न छन्। जसले आफ्ना सदस्य विद्यालयहरूबीच बेलाबेलामा अतिरिक्त क्रियाकलाप वा प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २ असार २०८१ १८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App