११ मंसिर २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

बिपी–पुष्पलालको विरासत

पछिल्ला वर्षमा साउन पहिलो साता हाम्रो राजनीतिका दुई हस्तीलाई सम्झना गर्ने गरिन्छ। प्रजातान्त्रिक र वाम आन्दोलनका यी दुई शिखर व्यक्तित्व क्रमशः बिपी कोइराला र पुष्पलालबेगर मुलुकको राजनीतिक इतिहास अधुरो हुन्छ। यी दुईले आफ्नो जीवनमा गरेका संघर्षको आलोकमा अहिलेको परिवर्तन सम्भव भएको हो। खासमा नेपाली लोकतान्त्रिक आन्दोलनको आधार यिनैका कारण तयार भएको हो। यी दुई पात्रलाई बिर्सने हो भने हाम्रो राजनीतिक इतिहासमा गर्व गर्न लायक पाना बाँकी रहँदैनन्। बिपी र पुष्पलालपछि राजनीतिमा जति पनि आदर्श व्यक्ति देखिएका छन्, ती कुनै न कुनै रूपमा यी दुईको पदचिह्नमा हिँडेका मात्र हुन्।

बिपी स्मृति दिवस साउन ६ मा पर्छ। यो वर्ष पनि बिपीलाई उनको राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सम्झिए। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीप्रतिको आकर्षण मुलुकका प्रजातान्त्रिक आन्दोलनमा लागेकाहरूमा मात्र होइन, वामपन्थी आन्दोलनका नेता तथा कार्यकर्ताका निम्ति पनि उत्तिकै देखिन्छ। यो वर्ष बिपीलाई सम्झेर सामाजिक सञ्जालमा श्रद्धासुमन टक्र्याउनेहरूमा वाम आन्दोलनका व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो। त्यसैगरी, पुष्पलाल स्मृति दिवस साउन ७ मा पर्छ। नेपाल कम्युनिस्ट पार्टीका प्रथम महासचिव पुष्पलालले वाम आन्दोलनको जग बसाउने काम गरेका हुन्। वाम आन्दोलनमा आउनुअघि उनी समेत प्रजातान्त्रिक आन्दोलनमा रहेका थिए। पुष्पलालसँगको सान्निध्यमा रहेका व्यक्ति अझै धेरै हामीबीच छन्। तिनले उनको अविराम संघर्ष र आदर्शको राजनीति महसुस गरेका छन्।

मुलुकको राजनीतिका यी दुई शिखर व्यक्तित्वको महत्व अहिलेसम्म हुनुमा धेरै पक्षको भूमिका छ। पहिलो, यी दुई राजनीतिक चेतनाका अग्रद्रष्टा हुन्। दोस्रो, यिनले जुन आदर्श प्रदर्शन गरे, त्यो फेरि अनुभव गर्न सकिएन। कांग्रेस राजनीतिमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायत नेताले पनि बिपी मार्गमा हिँड्ने कोसिस गरे। वाम आन्दोलनमा मनमोहन अधिकारी, सहाना प्रधान, तुल्सीलाल अमात्य लगायत व्यक्तित्वलाई बिर्सन सकिँदैन। यिनमा पनि केही न केही आदर्शको अंश रहेको हो। वर्तमान राजनीतिमा सबैभन्दा धेरै चिन्ताको विषय भने बिपी र पुष्पलालको वास्तविक विरासतको अभाव हो। राजनीति मुलुक र मुलुकवासीको जीवनस्तरमा रूपान्तरणका निम्ति हो। तर, यतिबेला राजनीतिलाई आमूल परिवर्तनको एउटा माध्यमका रूपमा अंगीकार गर्ने आम नागरिकमाथि अविश्वासको अवस्था सिर्जना भएको छ।  

अहिले बिपीको पार्टी कांग्रेस प्रमुख विपक्षको कुर्सीमा छ। पुष्पलालको विरासत नेकपा यतिबेला मुलुकको सबैभन्दा ठूलो दलका रूपमा सत्तामा छ। तर, यी दुवै दलले राजनीतिलाई राम्ररी गति दिन नसकेको अनुभव भइरहेको छ।

अहिले बिपीको पार्टी कांग्रेस प्रमुख विपक्षको कुर्सीमा छ। पुष्पलालको विरासत नेकपा यतिबेला मुलुकको सबैभन्दा ठूलो दलका रूपमा सत्तामा छ। यी दुवै दलले राजनीतिलाई राम्ररी गति दिन नसकेको अनुभव भइरहेको छ। विशेषगरी मूल्यको राजनीतिको अकाल परेको जस्तो स्थिति छ। मुलुकमा राजनीतिक परिवर्तनको उद्देश्य आम नागरिकको जीवन उत्थान नै हो। एकदलीय पञ्चायती शासन व्यवस्थामा यी दलले परिवर्तनको शंखघोष गरेका हुन्। बिपी र पुष्पलालले देखेको सपना उनीहरूको जीवनकालको धेरैपछि मात्र प्राप्त भएको हो। बिपी बितेको पनि ३८ वर्ष पुगिसकेको छ। २०३३ सालमा बिपी आफ्नो जीवनको परवाह नगरी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर प्रवासबाट स्वदेश फर्केका थिए। तत्कालीन सत्ताले आफूलाई छाड्दैन भन्ने थाहा हुँदाहुँदै पनि राष्ट्रियतालाई सर्वोपरी मानेर उनी स्वदेश फर्केका थिए। राष्ट्रियताको मामिलामा त्यतिबेला आफूलाई जसरी बिपीले प्रस्तुत गरेका थिए, अहिले उनका अनुयायीले पनि समान धारणा राखेको देखिन्छ। पश्चिम नेपालको सीमालाई लिएर भारतसँग समस्या हुँदा वर्तमान प्रधानमन्त्री केपी ओलीसँगै आफूहरू रहेको कांग्रेस नेताले बताइरहेका छन्। बिपी विचारधाराको त्यो चिन्तनकै कारण यति परिपक्व धारणा राख्न सम्भव भएको हो। उनको २०३९ साउन ६ गते निधन भएको थियो।  

पुष्पलालको भने भारत प्रवासमै रहेका बेला २०३५ साउन ७ गते निधन भयो। उनले निरंकुश सत्ताविरुद्ध संघर्षका निम्ति वामपन्थी र प्रजातन्त्रवादीबीच एकताको अवधारणा राखे। उनको जीवनकालमा यो सम्भव भएन। प्रजातन्त्रवादी र वामपन्थी एकै ठाउँमा आएपछि २०४६ को जनआन्दोलनको सफलता सम्भव भएको हो। उनीविरुद्ध उनकै सहयोद्धाहरूले लाञ्छना लगाएका थिए। ‘गद्दार पुष्पलाल’ भनेर पुस्तकै लखेर उनलाई लखेटिएको स्थिति थियो। उनी सही थिए भन्ने अहिलेको राजनीतिक विरासतमा रहेका नेता तथा कार्यकर्ताले महसुस गरेका छन्। उनले वामपन्थी राजनीतिका निम्ति घोषणापत्रदेखि अन्य आवश्यक दस्तावेज अनुवाद र आधार तयार पार्न ठूलो योगदान गरेका छन्। आज मुलुकमा नेकपाको सरकार बनेको छ। नेकपाले उनैलाई आफ्नो आदर्श पनि ठानेको छ। यो स्थितिमा उनको सही मूल्यांकन गर्नु र उनको आदर्श अनुसार हिँड्नु उचित हुन्छ।  

मुलुकको राजनीतिमा बिपी र पुष्पलालपछि त्यही उचाइको नेतृत्व देखापर्न सकेको छैन। यी दुई नेता बितेका यतिका वर्षपछि पनि त्यही आदर्शको खोजी भइरहेको छ। किन नेतृत्वको विकास त्यही गतिमा हुन सकेन ? बिपी र पुष्पलाललगत्तै पछिको नेतृत्वभन्दा अझ पछिको नेतृत्व झनै खिएको देखिन थालेको छ। नेतृत्व पंक्ति हिजोभन्दा आज उम्दा देखिनुपर्छ। त्यसले मात्र आम नागरिकमा निराशा कम हुन्छ। बिपी प्रधानमन्त्री रहेका बेला मुलुकमा प्रजातन्त्र अपहरित भयो। पुष्पलालले शासनमा बस्नै पाएनन्। त्यो स्थिति हेरी अहिले कांग्रेस र नेकपाकै हातमा मुलुकको बागडोर छ। यो ठूलो सफलता हो। तर, मुलुक डो¥याउने आदर्श राजनीतिको सर्वथा अभाव छ। बिपी र पुष्पलाललाई वर्षमा एक दिनमा सम्झने भन्दा पनि तिनकै जस्तो संघर्षशील आदर्शवान व्यक्तित्व कसरी निर्माण गर्ने भन्नेमा ध्यान पुग्न आवश्यक छ। 

प्रकाशित: ८ श्रावण २०७७ ०५:०८ बिहीबार

Download Nagarik App
Download Nagarik App