११ मंसिर २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

नेकपाको अतिले खति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चलिरहेको शीर्ष नेताहरूको विवादले अझै समाधान पाउन सकेको छैन। यो विवाद जति लम्बिँदै जान्छ, त्यति नै आफ्नो मुलुकका समस्या समाधानमा हामी पछि पर्दै जान्छौं। मुलुकमा कोरोना विषाणुको कहरदेखि बाढी–पीडितसम्मका समस्या थाती छन्। सत्तारुढ दल भने यस्ता पक्षमा ध्यान केन्द्रित गर्न सक्ने अवस्थामा छैन। यो स्थिति निम्तिन सत्तारुढ दलका सबै पक्ष जिम्मेवार छन्। सत्तारुढ दलले सरकारलाई मार्गदर्शन गर्न नसक्दा यस्तो स्थिति आएको हो। सामान्यतः लोकतान्त्रिक शासन व्यवस्थामा सरकारलाई दलले मार्गदर्शन गर्छ। सरकारले काम बिराउन थालेमा दलले नै ठीक बाटोमा पनि ल्याउँछ।  

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सरकार र पार्टी दुवैका प्रमुख हुन्। यसर्थ सरकारलाई पार्टीले मार्गदर्शन गर्न खोजे झनै सजिलो हुन्छ। पार्टी बैठकमा कुनै पनि विषयमा घनीभूत छलफल गर्ने र सरकारलाई अगाडि बढ्न मद्दत गर्ने हो भने सकारात्मक सन्देश जान थाल्नेछ। तर, धेरैजसो प्रसंगमा सरकार र पार्टीबीच तादात्म्य देखिएको छैन। सरकार आफूले चाहेको बाटोमा हिँड्न सक्षम छ भन्ने सन्देश दिन खोजिएको छ। पार्टी र सरकारबीच समन्वय हुन सक्ने हो भने अहिलेभन्दा भिन्न सकारात्मक परिणाम आउन सक्छ। सरकार र पार्टी दुवैको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भने यी दुवै काम गर्न आफू सक्षम भएका कारण कसैले अवरोध सिर्जना नगरोस् भन्ने लागेको देखिन्छ।  

सरकारले गरेका धेरै काममा विवाद उत्पन्न भएका छन्। यस्ता विवादले अनाहकमा सरकारको गति सीमित गर्छ नै, पार्टी जीवनलाई पनि स्वच्छ वातावरण दिँदैन। अहिले सत्तारुढ नेकपाभित्र सिर्जित विषम परिस्थितिका सर्जक प्रधानमन्त्री ओली हुन्। विविध विषय दलभित्र भए पनि बन्दाबन्दीकै बीच सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएपछि विवाद उत्कर्ष उन्मुख भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी गराएर सुरु भएको विवाद तिनलाई फिर्ता लिएर पनि साम्य भएन। यही विषय पनि ओलीले पार्टीभित्र छलफल गरेर ल्याएका भए समस्या यो रूपमा आउने थिएन।  

कम्युनिस्ट पार्टीभित्र सबैबीच एउटा हार्दिकतापूर्ण सम्बन्ध हुन्छ भन्ने विश्वास गरिन्छ। नेतृत्व गर्ने व्यक्ति र अन्य शीर्ष नेताका बीचमा ठूलो खाडल हुँदैन। पार्टी अध्यक्ष सबै बराबर शीर्ष नेतामध्ये एक नेतृत्वकर्ता व्यक्ति मात्र हुन्। यसर्थ उनले पार्टीको सामूहिकतामा ध्यान दिँदै सबैको साथ लिएर अगाडि बढ्ने कोसिस गर्ने हो भने ठूलो समस्या आउँदैन। पार्टीले गरेका निर्णय कार्यान्वयन गर्ने दिशामा सरकार उभिनुपर्ने हुन्छ। यसो हुन सक्यो भने दल भित्रैबाट सहयोग प्राप्त हुन्छ। वास्तवमा विपक्षी नेपाली कांग्रेसलाई भन्दा दलभित्रैका सबैलाई सम्बोधन गर्न नसक्दा अहिलेको परिस्थिति उत्पन्न भएको हो। ओलीले सबै नेतालाई छलफलमा बोलाउने र उनीहरूलाई चित्त बुझाउँदै काम गर्ने हो भने सरकारको गति भिन्न हुन सक्छ।

पार्टी नेतृत्व हासिल गर्न नेताहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो। अहिले स्वच्छ प्रतिस्पर्धाभन्दा केही नेता विशेषबीच समीकरण गरी नेतृत्व हासिल गर्न खोजेको देखिन्छ। पार्टीले सरकारलाई मार्गदर्शन गर्ने, असल कामका आधारमा नेताहरूले नेतृत्व दाबी गर्ने र सबै कामको केन्द्र जनतालाई बनाउने हो भने परिस्थिति भिन्न हुने थियो।  

अहिले ओलीसँग विवादको केन्द्रमा रहेका नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल हुन्। दाहालले ओलीसँग पटक–पटक संवाद गरेका छन्। ओलीसँगका अन्तर्विरोधमा विजय हासिल गर्न दाहालले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत अन्य नेताको साथ लिएर शक्ति आर्जन पनि गरेका छन्। जसकारण ओलीसँगको सम्बन्धमा थप समस्या आइरहेको देखिन्छ। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण हुँदा दुई अध्यक्षलाई जहाजको पाइलटका रूपमा चित्रण गरिएको थियो। तर, दुई ‘पाइलट’बाट ‘जहाज’ले सही दिशा लिन नसकेको देखिन्छ। अहिले निरन्तर एकपछि अर्को संवाद भइरहेको छ। विभिन्न नेताका अलग–अलग गुट भेला भएका छन्। तिनले कुनै बाटो पहिल्याउन सकेका छैनन्। ओली र दाहालबीच आगामी मंसिरमा पार्टी महाधिवेशन गर्ने गरी भएको सहमतिले समस्या समाधान गर्ने ठानिए पनि फेरि त्यो नमिलेको तथ्य नेताहरूका अभिव्यक्तिमा देखिएका छन्। खासगरी दाहालले अहिलेको विवादमा अडान लिन नसकेको प्रस्ट देखिँदैछ।  

पार्टी नेतृत्व हासिल गर्न नेताहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो। अहिले स्वच्छ प्रतिस्पर्धाभन्दा केही नेता विशेषबीच समीकरण गरी नेतृत्व हासिल गर्न खोजेको देखिन्छ। पार्टीले सरकारलाई मार्गदर्शन गर्ने, असल कामका आधारमा नेताहरूले नेतृत्व दाबी गर्ने र सबै कामको केन्द्र जनतालाई बनाउने हो भने परिस्थिति भिन्न हुने थियो। अहिले सरकारविरुद्ध आम नागरिकको विरोध छैन। उनीहरूले सरकारका काममा चित्त नबुझे पनि ठूलो प्रतिक्रिया गर्ने गरी आन्दोलन गरेका छैनन्, कोरोना विषाणुबाट सिर्जित परिस्थितिमा सरकारबाट यथेष्ट सम्बोधनको मात्र आशा गरेका छन्। त्यसैगरी सरकारको आलोचना गर्ने बुद्धिजीवी वा अन्य पक्षले पनि यो सरकारलाई कुर्सीबाट हटाउनेभन्दा यसले सही काम गरोस् भन्ने आशा मात्र राखेको देखिन्छ। यस्तो परिस्थितिमा सरकारलाई सही मार्गदर्शन गर्दै अघि बढ्ने नेकपाको दलीय संयन्त्र सक्रिय हुन सकेन। परिणामस्वरूप अहिले अन्योल भइरहेको छ। यस्तो परिस्थिति निरन्तर हुनु कुनै अर्थमा उचित होइन। यसले आम नागरिकमा वितृष्णा मात्र सिर्जना गर्छ। अतः नेकपा नेतृत्वले अहिलेको परिस्थिति बुझेर सही कदम चाल्न तत्पर हुनुपर्छ।

प्रकाशित: ५ श्रावण २०७७ ०५:१५ सोमबार

Download Nagarik App
Download Nagarik App