यतिखेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानले लिंगकै आधारमा हुने हिंसाविरुद्ध खबरदारी गर्ने, यस्तो कार्य आपराधिक भएकोबारे सचेत गराउने र पीडितहरूलाई यस्ता हिंसा सहेर नबस्न अनुरोध गर्ने गतिविधि सञ्चालन गर्छ। धेरथोर किन नहोस्, यस्ता अभियानको प्रभाव विगतमा परेकै हो र यसपालि पनि पक्कै पर्नेछ। त्यसैले यो अभियान थप सशक्तरूपमा सञ्चालन गर्नुपर्नेमा दुई मत छैन।
लिंगका आधारमा हुने हिंसाले विश्व नै ग्रस्त छ। अविकसित र अल्पविकसित देश मात्र हैन, विकसित देशमा पनि यो दुर्व्यवहार कायमै छ। अझै पनि विश्वका शक्ति सम्पन्न मुलुकहरू महिलाको नेतृत्व स्वीकार गर्न चाहन्नन् भने उनीहरूका अगाडि र पछाडि गर्ने टिप्पणीमा समेत आकाश–पातालको फरक छ। यस अर्थमा लिंगका आधारमा हुने हिंसा विश्वभर व्याप्त छ। मात्रामा केही घटी–बढी मात्र हो। त्यसैले पनि सम्पूर्ण महिला यस्तो हिंसाविरुद्ध ऐक्यबद्धरूपमा लागिपरेका हुन्।
नेपाल यसमा अपवाद हुने कुरै भएन। धेरैलाई लाग्न सक्छ– हिंसा भन्नाले कुटपिट वा आक्रमण वा हत्या मात्र हो। तर यतिलाई मात्र लैंगिक हिंसा मानियो भने यस्तो हिंसा भोगिरहेका लाखौँमाथि अन्याय हुन जान्छ। बोक्सीको आरोप लगाउने र कुटपिट गर्ने, सामाजिक अपमान एवं लाञ्छना, भेदभावजन्य व्यवहार आदि पनि हिंसाकै रूप हुन्। पछिल्लो समय लिंगकै आधारमा पोल्ने, डाम्ने, विषालु वा जैविक पदार्थ प्रयोगद्वारा यातना दिने, कुरूप बनाइदिने, मलमूत्र खुवाउने जस्ता कार्य बढ्दै आएका छन्। जुन हिंसाका केही प्रकार मात्र हुन्।
तराई क्षेत्रमा विशेषगरी दाइजो प्रथाका कारण लैंगिक हिंसा नराम्रोसँग जरा गाडिरहेको छ। दुर्गम र विपन्न बस्तीहरूमा बालविवाह कायमै छ। महिनावारी भएका बेला अलग बस्नुपर्ने नियम बसालेर छाउगोठमा छोरीहरूलाई यातना दिने कुकर्म हट्न सकेको छैन। अनुहारलाई घुम्टोभित्र लुकाउनुपर्ने, अनावश्यक पारिवारिक नियन्त्रण र आफन्तको चियोचर्चो जस्ता कार्यले परम्परागत हिंसालाई प्रश्रय दिइरहेका छन्। जसको मार नेपाली महिलाले भोग्नुपरेको छ भने यसबाट उन्मुक्ति पाउने वर्षौँदेखिको अनवरत संघर्ष अझै सफल हुन सकेको छैन।
नेपाल अहिले पनि पछौटेपनको बर्को ओढेरै बसेको छ। सामाजिक अन्धविश्वास र विकृतिजन्य मूल्यमान्यताले यस्ता बर्कोको संरक्षण गरिरहेका छन्। कुरीतिहरूलाई पुरातनवादी सोचले मलजल गरिरहेको छ। जसका कारण लैंगिक हिंसालाई हिंसा मान्नसमेत कतिपय समाज र समुदाय तयार छैनन्। महिला र लैगिंक अल्पसंख्यक समुदाय जस्ता समुदायलाई कुटपिट गर्नु, उनीहरूको शोषण गर्नु र अपमानलाई नैसर्गिक अधिकार ठान्छन् अझै पनि हाम्रा कतिपय समुदाय। त्यसैले गहिरो जरा गाडेर बसेका यस्ता मान्यता भत्कन नसकेकै कारण अहिले पनि फरक लिंगको भएकैले आक्रमणमा पर्नुपर्ने नियति नेपाली महिलाको सामान्य दिनचर्या बन्न पुगेको छ।
यस्तो अवस्थामा नेपालमा विभिन्न स्तर र तप्कामा जारी लैंगिक हिंसाविरुद्धको अभियान सान्दर्भिक मान्नुपर्छ। यसको दायरा विस्तार गर्नुपर्ला, शैली रूपान्तरण गर्नुपर्ला, सहभागी चयनमा विशेष ध्यान दिनुपर्र्ला, लक्षित समुदायको उपस्थिति बढाउनुपर्ला, पात्र र प्रवृत्तिको विश्लेषण अझै सूक्ष्म तवरले गर्नुपर्ला, गर्नुपर्ने काम यावत् छन् तर पनि यी काममा केही कमजोरी छन् भन्दैमा यस्ता अभियानप्रति नै औँलो ठड्याउने अर्थात यो आवश्यक नै छैन भन्ने धारणा लैंगिक हिंसालाई निरन्तरता दिनुपर्छ भन्ने सोचको प्रमाण हो। किनकि कमजोरी पन्छाएर अघि बढ्ने हो, यसकै आधारमा गन्तव्य रद्द गर्नु सही काम हुन सक्दैन।
तीतो यथार्थ, यस्तो अभियान वास्तविक पीडितसम्म पुग्न सकेको छैन। जहाँ प्रत्येक दिन लैंगिक हिंसा भइरहेको छ तर पीडितलाई आफूमाथि भइरहेका गतिविधि हिंसा हो भन्नेसमेत थाहा छैन, त्यहाँसम्म यो अभियान पुग्नै सकेन। अभियानका क्रममा जहाँ जहाँ अर्थात् विशेषगरी सुगम, सहरी र पढालेखाबीच यो कार्यक्रम हुन्छ, तुलनात्मकरूपमा यस्ता ठाउँमा लैंगिक हिंसा कम भइरहेको हुन्छ। त्यसैले आवश्यकताका आधारमा अभियान केन्द्रित गर्न गैरसरकारी र महिला अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति, संस्था त लाग्नुपर्छ नै, साथै सरकारीतवरबाट पनि यो यथार्थ मनन गरेर अघि बढ्न सके मात्र यस्ता अभियान सञ्चालनको उद्देश्य सार्थक हुन सक्छ। अन्यथा यो कर्मकाण्ड मात्र सावित हुनेछ।
प्रकाशित: २० मंसिर २०८१ ०६:०३ बिहीबार