५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

सडक (अ)सावधानी

नेपाल सडक दुर्घटना बढी हुने मुलुकमध्ये पर्छ। जसबाट बर्सेनि हजारौँ मानिसको मृत्यु हुने गर्छ। गत शुक्रबार र शनिबारबीचका १४ घण्टामा मात्र यस्तो दुर्घटनामा परेर १९ जनाको मृत्यु भयो। काठमाडौँको चन्द्रागिरिमा भएको दुर्घटनामा पाँच जनाको र दाङको राप्ती नदीमा भएको दुर्घटनामा १२ जना तथा बागलुङको ढोरपाटन नगरपालिकामा भएको दुर्घटनामा दुई जनाको निधन भएको हो। राप्ती र ढोरपाटनको दुर्घटनामा २३ जना घाइते भएका छन्।

दुर्घटना टार्न सकिन्न। यो जति सत्य हो त्यति सत्य सावधानी र तयारी अपनाउँदा यसबाट हुने क्षति न्यूनभन्दा न्यून तुल्याउन सकिन्छ भन्ने हो। विकसित देशहरूले विभिन्न उपाय र प्रविधिमार्फत यस्तो दुर्घटनाबाट हुने क्षति कम गराउन हरसम्भव प्रयास गरेका हुन्छन्। त्यसैले ती देशमा दुर्घटना हुँदा पनि क्षति कम हुन्छ। तर नेपाल जस्तो अविकसित देशमा यस्ता दुर्घटनाबाट हुने हानि/नोक्सानी धेरै हुने गरेका छन्।

यसका विभिन्न कारण छन्। जस्तो-सडकका खाल्डाखुल्डी नपुरिनु, ट्रयाकलाई नै सडक सम्झेर यातायात पूर्णरूपले सञ्चालन गर्न दिनु, पूर्ण नभई चालक अनुमतिपत्र लिएर सवारी चलाउनु, ट्राफिक व्यवस्थापन फितलो हुनु, भत्के/उक्केका सडक मर्मत नगरिनु, ट्राफिक चिह्नहरू आवश्यक सबै ठाउँमा नराखिनु आदि। यसबाहेक सवारी साधन थोत्रा हुनु र मर्मतसम्भार नगरिनु, यात्रु धेरै राखिनु, मादक पदार्थ सेवन गरेर चलाउनु, लामो दूरीमा समेत एउटै चालकलाई चलाउन बाध्य पारिनु र सर्वसाधारणले समेत आफूले प्रयोग गर्ने सवारी साधनबारे खोजखबर नगर्नु जस्ता कारण पनि दुर्घटना हुने गरेका छन्।

यीमध्ये पनि सबैभन्दा महत्त्वपूर्ण कुरा सडक सुरक्षाका प्रावधान पालना नगर्नु हो। विकसित देशहरूमा यो विषयलाई निकै प्राथमिकता दिइन्छ। तर यहाँ भने कसले बढी नियम मिच्ने भन्ने प्रतिस्पर्धा हुन्छ। र, यो प्रतिस्पर्धा नै अन्तिममा गएर दुर्घटनामा टुंगिन्छ। एउटा विमान उड्नुअघि त्यसको प्राविधिक पक्षदेखि इन्धन र पांग्रासमेत जाँचबुझ गरिन्छ। यस्तो जाँचबुझमा केही कमजोरी देखिए उडान नै एकाध घण्टा रोकेर वा स्थगित नै गरेर भए पनि त्यसलाई तन्दुरुस्त अवस्थामा ल्याइन्छ। तब मात्र उडान अनुमति दिइन्छ। तर यही कुरा सडकमा गुड्ने सवारीमा भने लागु हुँदैन। यस्तो अवस्थामा दुर्घटना स्वाभाविक हुन्छ।

भर्खरैको घटना हेर्ने हो भने पनि बागलुङमा जिपको ब्रेक फेल भएको अनुमान गरिएको छ भने दाङमा चाहिँ नदीमा खसेको थियो। त्यसैगरी चन्द्रागिरिमा सवारी अनियन्त्रित भएर खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। धेरै घटनामा ‘अनियन्त्रित’ लाई मुख्य कारण देखाइने गरेको छ। तर कसरी अनियन्त्रित हुन्छ र दुर्घटना हुन्छ भन्ने कारणचाहिँ खोजिएको हुँदैन। खासमा अनियन्त्रित, ब्रेक फेल, भार खेप्न नसक्नु, चालक निदाउनु, चिप्लनु जेजे भने पनि सडक सुरक्षाका प्रावधान गरिएको बेवास्ता नै हो। त्यसैले माथि उल्लिखित कारणहरूमा ध्यान दिने हो भने सडक दुर्घटनाबाट हुने क्षति अवश्य न्यून गराउन सकिन्छ।

भर्खरै सार्वजनिक भएको चालक अनुमतिपत्र वितरणमा देखिएको लापरबाही जस्ता कर्म नरोकिएसम्म यस्ता दुर्घटना भइरहन्छन्। सरकारले सवारी प्रयोगकर्तासँग सडक शुल्कका नाममा अर्बौं रुपियाँ उठाउँछ तर उठाएअनुसारको रकम सडक निर्माण र मर्मतमा नलगाउँदा ‘चिप्लिएर’ हुने दुर्घटनाबाट सर्वसाधारणले ज्यान गुमाइरहनुपरेको छ। त्यसैगरी थोत्रा बस र क्षमताभन्दा बढी यात्रु राखिनु पनि दुर्घटनाको अर्को कारण हो। आवश्यक ठाउँमा ट्राफिक संकेतहरू नराख्ने र सवारी प्रयोगकर्ताले पनि त्यसप्रति ध्यान नदिने गर्दा दुर्घटना बढिरहेको छ। त्यसैले यस्ता विषयमा ध्यान नदिउन्जेल न सडक दुर्घटना रोकिन्छ न त यही कारण मानिसको ज्यान जाने क्रम नै रोक्न सकिन्छ।  

प्रकाशित: २९ पुस २०८० २३:४९ आइतबार

Download Nagarik App
Download Nagarik App