४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

नसिकिएको विपद्को पाठ

नेपालमा समथर भए पनि अधिकांश पहाड छन्। त्यसैले विशेषगरी उत्तरतिर लम्पसार परेर बसेका गगनचुम्बी ती पहाडले आफू वरिपरि आइपुगेका जलजन्य र ठोस पदार्थलाई ओरालो/भिरालो दक्षिणतर्फ फ्याँकिदिनु स्वाभाविक हो। यही कारण उत्तरबाट दक्षिणतर्फ बग्ने नेपालका खोलाखोल्सी र खहरे, नदीनाला वेगवान हुन्छन् गन्तव्यमा पुग्न। जब वर्षायाम सुरु हुन्छ, त्यतिबेला पानीको मात्रा बढ्ने भएकाले त्यसले आफूसँगै ल्याउने लेदोजन्य पदार्थ अनि ढुंगामाटो आदिका कारण उसको बल शक्तिशाली हुन्छ। जसको थोरै धक्काले पनि पहाडी भूभाग बग्न थाल्छन् भने सम्म ठाउँहरूमा पनि असर पुग्ने हुन्छ।

यतिखेर फेरि यो सानो भूपरिवेष्ठित मुलुक बाढी÷पहिरोको चपेटामा पर्न थालेको छ। मनसुन सक्रिय भएसँगै मुलुकका अधिकांश भूभाग वर्षामय भएका छन्। मंगलबार बिहानसम्मको मौसम महाशाखाको रेकर्डअनुसार बितेको २४ घण्टामा धनुषामा सबैभन्दा बढी पानी परेको छ भने सुर्खेत, बारा, काठमाडौँ अनि पोखरमा पनि निकै पानी परेको छ। जसलाई महाशाखाले नै ‘भारी वर्षा’ को संज्ञा दिएबाट थाहा हुन्छ कि पानीको मात्रा निकै बढी छ। यही कारण क्षतिको सम्भावना पनि बढी हुने नै भयो।

भारी वर्षाकै कारण कैलालीका २ सय भन्दा बढी घर डुवानमा परेका छन्। मकवानपुरमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। पूर्व/पश्चिमबाट काठमाडौँ भित्रने मुख्य नाका अवरुद्ध छन् भने दाङको घोराही–लमही सडकखण्ड, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुन पुगेको छ। यसरी सबै तथ्यांक नआइसके पनि यही कारण मुलुकमा धेरै जनधनको क्षति भएको तथा सयौँ सडक खण्ड अवरुद्ध भएका छन्। मौसम महाशाखाले बुधबार पनि भारी वर्षा हुने भन्दै यसबाट सिर्जित जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन ध्यानाकर्षण गराएबाट पनि क्षति अझै बढ्ने सम्भावना देखिन्छ।

खासमा प्राकृतिक प्रकोप रोक्न कठिन छ। विकासको अधिकतम लाभ लिइरहेका मुलुकका लागि पनि यो असम्भवप्रायः हो भने नेपाल जस्तो गरिब मुलुकले रोक्ने कल्पनासमेत गर्नु बेकार छ। तर वास्तविकताचाहिँ के हो भने विपद् रोक्न नसके पनि यसबाट हुने क्षतिको आकारचाहिँ घटाउन सकिन्छ। त्यसका लागि केही उपाय छन्। जस्तो–बाढीपहिरो जाने ठाउँ पहिचान गरी त्यहाँ बसोबास हुन नदिने, त्यस्ता ठाउँमा भूक्षय हुन नदिन उपयुक्तखालका बिरुवा लगाउनेदेखि सम्भव भएसम्म भौतिक पूर्वाधारका काम गर्ने, विपद्पूर्व अपनाउनुपर्ने तयारीबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, प्राकृतिक सम्पदा उपयोग गर्दा यसको दिगोपनामा ख्याल गर्ने जस्ता उपायले विपद्को जोखिम कम गर्न सघाउँछन्। विकसित मुलुकले अपनाएका धेरै विषय पनि यिनै हुन।

तर विडम्बना, नेपालीले भने कहिल्यै पनि यस्ता विषयमा पर्याप्त ध्यान दिन सकेनौँ। त्यसैले हामीले प्राकृतिक भन्दा मानव निर्मित समस्याका कारण बढी क्षति बेहोरिइरहेका छौँ। विपद् जोखिम न्यूनीकरण कुनै पनि स्थानीय सरकारको प्राथमिकतामा पर्ने गरेको देखिँदैन। यसका लागि गरिने खर्चलाई हामीले सधैँ ‘फजुल’ को सूचीमा राख्यौँ। त्यसैले पनि हामी प्रत्येक वर्ष विपद्को जोखिम झन झन बढी खेप्न बाध्य भएका छौँ।

मुख्य कुरा बाढीपहिरो आदिको जोखिमबाट बच्न पूर्वजानकारी, गतिलो पूर्वाधार निर्माण, घरघरसम्म सचेतनामूलक कार्यक्रमको प्रबन्ध तथा सुरक्षित आवासको अवधारणा कार्यान्वयन सबै सरकारको प्राथमिकतामा पर्नैपर्छ। नत्र फेरि अर्को विपद्को प्रतीक्षा र त्यसले निम्त्याउने झनै भयावह क्षतिको पर्खाइबाहेक केही हात लाग्नेवाला छैन। 

प्रकाशित: २४ श्रावण २०८० ००:२७ बुधबार

Download Nagarik App
Download Nagarik App