१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय सम्पदा जोगाउने भए मध्यपहाडीलाई विकल्प देउः स्थानीय

मध्यपहाडीको पोखरास्थित हेम्जा खण्ड। फाइल तस्बिरः नागरिक

पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखरा महानगरमा पर्ने अर्मलाकोटदेखि याम्दीको पुलसम्मको तीन किलोमिटर क्षेत्रका बासिन्दाले राजमार्गको बैकल्पिक बाटो खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सडकको पछिल्लो सर्भे अनुसार पोखरा महानगरपालिका –१६ र १९ वडाभित्रका सामरिक महत्व एवं राष्ट्रिय सम्पदा प्रभावित हुने जनाउँदै सम्पदा जोगाउन राजमार्गको लागि नयाँ बैकल्पिक बाटो खोज्न आग्रह गरेका हुन्।  

भैंस–ज्याम्दु–अर्मलाकोट–याम्दी सडकको नयाँ रेखांकन गरिएको राजमार्ग ३५.५ किलोमिटर हुने देखाएको छ। पुरानो सर्भे अनुसार सडक खण्ड २६ किलोमिटर थियो। नयाँ सर्भे अनुसार ३५.५ किलोमिटरको छ। नयाँ सर्भेले विद्यालय, राष्ट्रिय सम्पदा महेन्द्रगुफा तथा चमेरे गुफा, धार्मिक संस्था सुथरेश्वर शिवालय लगायतका क्षेत्रमा प्रत्यक्ष असर गर्ने पुष्मलाल मध्य पहाडी लोकमार्ग स्थानीय पीडित संघर्ष समितिसंघर्ष समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताए।  

राजगर्माको नयाँ रेखांकन अनुसार मौजा आँटीघर हुदैं पोखरा–१६ को अर्मलाकोट, कालीखोला, अमलाबिसौनी हुदैं याम्दी पुलसम्म रुट तय गरिएको छ। सडक ३० मिटर बराबरको चार लेनको चौडा बनाउने योजना छ। नयाँ रेखांकन अनुसार खासगरी लामाचौर क्षेत्रको सुरथेश्वर शिवालय मन्दिर, गण्डकी बोर्डिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी मावि तथा पोखरा–१६ को चमेरे गुफा, महेन्द्र गुफा, सरस्वती विद्याश्रम लगायत पर्ने उल्लेख छ। ‘हामीलाई राजमार्गको नयाँ रेखांकन मान्य छैन्। राष्ट्रिय तथा धार्मिक सम्पदा छन्, उनले भने।  

राजमार्ग निर्माणको लागि टेण्डर समेत आह्वान भईसकेको छ। भैंस–ज्याम्दु–अर्मलाकोट–याम्दी पुल सडक खण्डको लागि गएको भदौ १४ गते टेण्डर आह्वान भईसकेको हो। टेण्डर आह्वान भईसकेपछि मात्रै स्थानीय तीन किलोमिटर क्षेत्रका बासिन्दाले जानकारी पाएको संघर्ष समितिले सुनायो। ‘टेण्डर आह्वान भएपछि मात्रै हामीले जानकारी पायौं,’ संघर्ष समितिका सचिव सन्दीप थापाले भने, ‘भदौमा टेण्डर आह्वान गरियो। तर, सार्वजनिक सुनुवाई भने कात्तिक २ र ३ गते गर्ने गरी सार्वजनिक सूचना निकालियो।’ स्थानीयबासिन्दासँग सार्वजनिक सुनुवाई मार्फत छलफल गरेर मात्रै टेण्डर आह्वान गर्नुपर्ने समितिले आवाज उठाएको छ। उनका अनुसार राजमार्ग बन्नुपर्छ, तर स्थानीय बासिन्दालाई उठिबास लगाउने गरी गरिएको सर्भेलाई सच्याउनुपर्छ।  

मध्यपहाडी लोकमार्गको सर्भे झण्डै डेढदशक अघि गरिएको हो। २०७२ सालमा गरिएको डिपिआरमा २६ किलोमिटर ( विजयपुरदेखि अमलाविसौनी हुदैं याम्दी पुलसम्म) अधिकांश सडक खण्ड जोडिएको रुट थियो। नयाँ रेखांकन गरिदाँ स्थानीयबासिन्दासँग समेत सोधपुछ नभएको पीडितको गुनासो छ। ‘हामीसँग पछि रेखांकन गर्ने क्रममा सोधपुछ नै भएन् । सहमति पनि गरेनन्,’ उनले भने, ‘हामीलाई त जानकारी भदौ १४ गते टेण्डर आह्वान भएपछि मात्रै भयो। प्रभावित जनसमुदायसँग सोधखोज केही गरिएन्।’  

३५.५ किलोमिटरको लाभान्वित तथा प्रभावित बासिन्दासँग सरोकार नै नगरी टेण्डर आह्वान हुदाँ स्थानीयबासिन्दा रुष्ट बनेका हुन्। रुष्ट भएको स्थानीयले पुष्मलाल मध्य पहाडी लोकमार्ग स्थानीय पीडित संघर्ष समिति बनाउँदै संघर्षमा उत्रिएको छ। ‘नयाँ रेखांकन गरिएको राजमार्गले छुने स्थान भौगोलिक बनावटले कमजोर छ,’ पुष्मलाल मध्य पहाडी लोकमार्ग स्थानीय पीडित संघर्ष समितिका सचिव सन्दीप थापाले भने, ‘पहाडी भेग हुदैं जाने मार्ग महानगर छिर्नु नै लगत हो।  भौगोलिक अवस्थामा समेत कमजोर भएको ठाउँमा राजमार्ग बनाउनु उपयुक्त हुदैन्। अनुपयुक्त ठाँउमा ल्याउनु नियतवस देखिन्छ।’ पीडितका अनुसार कालीखोल पुलदेखि महेन्द्र्रगुफा, चमेरेगुफा, अमलाविसौनी, लामाचौर चोक, गण्डकीबोर्डिङ स्कुल, सुरथेश्वर शिवालय हुदैं याम्दीसम्म ती  क्षेत्रका बासिन्दा बढी प्रभावित हुने उनको भनाई थियो।  

तत्कालिन जनप्रतिनिधिको गैरजिम्मेवारी देखिएको आरोप समेत पीडित पक्षले लगाएका छन्। डेढवर्ष अघि तत्कालिन वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले २०७८ जेठ ५ गते  पर्वत शाखालाई सिफारिस गरेको थिए। ‘अर्मलाकोट–याम्दीजौबारीदेखि हेमजा २५ हुदै जाने राजमार्गको सम्बन्धमा यस वडामा पर्ने राजमार्गको सम्पूर्ण भागको लागि आवश्यक पर्ने अर्मलाकोटदेखि याम्दीको जग्गाको सम्बन्धमा कुनै विवाद नभएको, मुअब्जा दिन नपर्ने, क्षतिपूर्ति समेत न्युन हुने हुदाँ राजमार्ग निर्माणको लागि वडाको सबैको सहमति भएकोले राजगार्ग निर्माणका आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सिफारिस गरि पठाईएको व्यहोरा अनुरोध छ।’ वडाध्यक्षले लेखेको पत्रसंघर्ष समितिसँग छ।

संघर्ष समितिको चासोलाई पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले समेत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतलाई पत्रचार गरेका छन् । पत्रमा ‘राजमार्ग अन्तर्गतको सडक खण्डमा पर्ने वडा नं १६ को कालीखोला पुल–महेन्द्र गुफा, चमेरेगुफा, अमला विसौनी, लामाचौर चोक, जौबारी–याम्दीपुलसम्मको क्षेत्रमा गुफा जस्ता राष्ट्रिय सम्पदा, विद्यालय(इन्द्रराज्य लक्ष्मी मावि, गण्डकी आवासिय मावि) जस्ता शैक्षिक संस्थाहरु, पोखरालाई वितरण गर्न भण्डारण गर्ने खानेपानी ट्याङ्की, धार्मिक क्षेत्र तथा व्यक्तिगत घर घडेरी पर्ने भएकोले व्यक्तिगत भौतिक संरचना, शैक्षिक संघसस्था तथा राष्ट्रिय सम्पदामा दुरगामी असर पर्ने भएकोले राजमार्गको उद्देश्य मर्म अनुसार राजमार्गको रेखांकन गरी मार्ग लैजानको लागि स्थानीय सरोकार नागरिक, संघसंस्थाहरु समेतले दिएको निवेदन अनुसार कालीखोला–महेन्द्रगुफा, चमेरे गुफा हुदै याम्दीसम्मको रेखांकनलाई परिवर्तन गरी  बैकल्पिक मार्गका खोजी गर्न आवश्यक सहयोगको लागि महानगरपालिका, सम्बन्धित आयोजना कार्यालयमा अनुरोध गर्ने निर्णय भएकोले उपयुक्त बैकल्पिक मार्गको खोजी गरी सडक निर्माण गर्नको लागि सिफारिस गरिपठाईको व्यहोरा अनुरोध छ।’ वडाले महानगरपालिकालाई समेत पत्रचार गरेको छ।  

विन्ध्यवासिनीमावि बाटुलेचौर, मैदान आमा समूह पोखरा–१६, गण्डकी बोर्डिङ स्कुल, इन्द्रराज्य लक्ष्मी मावि, नवआदर्शक सामुदायिक विकास समाज, संरक्षक आमा समूह, हिमालय क्लब, गुफाक्षेत्र संरक्षण तथा सामुदायिक बिकास संस्था, सुरथेश्वर शिवालय व्यवस्थापन समिति लगायतका संघसस्थाले आयोजना बारे ध्यानाकर्षण गराउँदै उपयुक्त बैकल्पिक उपाय खोज्न आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका छन्। पीडित संघर्ष समितिले प्रधानमन्त्रीको कार्यालय बालुवाटार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन तथा बातावरण मन्त्रालय, लगायतका सरकारी निकायमा ध्यानाकर्षण गराईसकेका छन्।  

प्रकाशित: २४ कार्तिक २०७९ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App