२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुरुङमा टिबिएम मेसिन प्रयोग: नयाँ प्रविधिको प्रयोगले लक्ष्यभन्दा चाँडो काम

राष्ट्रिय गौरवको सूचीमा राखिएको मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ खन्न झण्डै ९ वर्ष लाग्यो। भेरीबबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको १२.२ किलोमिटर सुरुङ खन्न दुई वर्ष पनि लागेन्।

यी दुवै आयोजनाको सुरुङ खन्न लागेको समय फरक देखिनुको एउटै कारण थियो-पुरानो र नयाँ प्रविधिको प्रयोग।

मेलम्चीको टनेल खन्न पुरानो विधि ड्रिल एण्ड ब्लाष्ट र विवादले ढिलासुस्ती भएको थियो। भेरीबबई आयोजनामा भने संसारमा प्रयोग हुँदै आइरहेको अत्याधुनिक खालको टिबिएम मेसिन र विवाद कम भएकाले छिटो भएको हो।

मेलम्चीको २६ किलोमिटर सुरुङ २०६६ वैशाख २० गते सुन्दरीजलबाट पहिलो ड्रिल एण्ड ब्लाष्ट गरेर सुरुङ खन्न थालिएको थियो। २६ किलोमिटर सुरुङको ब्रेक थ्रु भने २०७४ सालको चैतको अन्त्यमा मात्रै भएको थियो।

आयोजनाको हेडवर्क्स र सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना रेल्वे १५ र मेलम्ची खानेपानीबीच १९ फेब्रुअरी २००९ मा सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनीले २ सेप्टेम्बर, २०१३ सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो।

यो समय सीमा निर्माण कम्पनीले आफैंले तयार गरेको कार्ययोजना तथा कबोल अनुसार राखिएको हो। यसअनुसार चिनियाँ कम्पनीले निर्माणको काम गर्न नसकेपछि मेलम्ची आयोजनाले सन् २०१२ सेप्टेम्बर २५ मा ठेक्का सम्झौता तोडेको थियो।

यो अवधिमा चाइना रेल्वे कम्पनीले ६४ सय १७ मिटर सुरुङ मात्रै खनेको थियो। दोस्रो पटक फेरि हेडवक्र्स तथा सुरुङ निर्माणको लागि इटालियन कम्पनी सिएमसी रेभेनासँग २०७० असार ३१ गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार १ हजार ९५ दिनभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो तर भूकम्प र नाकाबन्दी लगायत कारणले सन् २०१८ सम्म म्याद थप गरिएको थियो।

सोही सुरुङबाट काठमाडौं पानी ल्याउन भने १२ वर्षे अवधि खर्चिनुपरेको थियो। यसैबीचमा मेलम्ची खानेपानी आयोजनामा तीन वटा ठेकेदार कम्पनी परिवर्तन हुँदा पनि निकै धेरै समय खर्चिनुपर्‍यो। टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर भेरीबबई बहुउद्देश्ययीय सिँचाइ आयोजनाको सुरुङ खन्ने काम भने तोकिएको समयभन्दा झण्डै एक वर्ष अघि नै सकियो।

भेरीबबई आयोजनामा २०७४ कार्तिक २० गतेदेखि टिबीएम मेसिन प्रयोग गरेर सुरुङ खन्न थालिएको थियो। यो सुरुङमार्ग १५ चैत २०७६ सालभित्रै खन्ने लक्ष्य राखिएको थियो तर यो सुरुङ मार्गको ब्रुेक थ्रु अर्थात् सुरुङ खन्ने काम भने २०७६ वैशाख ३ गते भएको थियो। चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीसँग २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो। यो सुरुङमार्ग १० अर्ब ५६ करोड लागतमा ठेक्का भएको थियो। टिबिएम मेसिनबाट टनेलखन्दा यो सुरुङमार्ग तोकिएको समयसीमाभन्दा झण्डै एक वर्ष छिटो सम्पन्न भएको थियो।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बरालले भेरी बबई बहुउद्देश्यीय आयोजनामा टिबिएम मेसिनको प्रयोग प्रभावकारी देखिएकाले नै सुनकोशी मरिन डाइभर्सन आयोजनामा पनि टिबिएमबाट खन्न थालिएको बताए। ‘भेरीबबई आयोजनामा टिबिएम मेसिनले टनेल तोकिएको समय सीमाभन्दा छिटो खनिएकाले यो आयोजनामा पनि टिबिएम मेसिनको प्रयोग गरिएको हो,’ उनले भने, ‘यो आयोजनाको १३.३ किलोमिटर टनेल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ गत शुक्रबार सुनकोशी मरिन आयोजनाको सुरुङ टिबिएम मेसिनबाट खन्न थालिएको थियो। यसको ठेक्का पनि चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले नै पाएको छ। आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मेमा ठेक्का सम्झौता भएको थियो।

कोभिड १९ को कारणले टिबिएम मेसिन निर्माण गर्न र नेपाल भित्र्याउन नसक्दा आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको थियो। ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो।

यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्य अभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सिन्धुलीस्थित मरिन खोलामा खसाइने पानीले रौतहट र सर्लाहीको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु‍र्‍याउने तथा ३१ मेगावाट विद्युत् उत्पादन समेत गर्ने उद्देश्यले २०७३ सालमा सुरु गरिएको थियो।

रोबिन्स कम्पनीका अपरेसन भाइस पे्रसिडेन्ट स्टिभ चार्ली ड्रिल एण्ड ब्लास्टबाट टनेल खन्नुभन्दा टिबिएम मेनिसबाट खन्दा धेरै सुरक्षित र भरपर्दाे हुने बताउँछन्। ‘ड्रिल एण्ड ब्लास्टबाट टनेलखन्दा भौगोलिक रूपमा पनि समस्या आउन सक्छ। अर्काेतर्फ टिबिएम प्रयोग गरी खन्दा छिटो र छरितो पनि हुने गर्छ।’

भाइस प्रेसिडेन्ट चार्लीले संसारको जुनसुकै ठाउँमा पनि टेनल खन्न अप्ठेरो हुने भएकाले सावधानी अपनाएर खन्नुपर्ने बताए। ‘यसअघि हामीले भेरीबबईमा पनि सुरुङ खनेका थियौं। अहिले पनि हाम्रो कम्पनीमा उत्पादन भएको टनेल बोरिङ मेसिनबाटै सुरुङ खन्न लागेका छौं,’ उनले भने। टिबिएम उत्पादक कम्पनीले सुरुङ ५ सय मिटर खन्दासम्म प्राविधिक सहयोग गर्ने जनाएको छ।

यो टिबिएम मेसिनको मूल्य करिब ८० मिलियन अमेरिकी डलर पर्दछ। भाइस प्रेसिडेन्ट चार्लीले नेपाल जस्तो पहाडै पहाड भएको मुलुकमा ५ किलोमिटरभन्दा लामो सुरुङ खन्नका लागि टिबिएम मेसिन उपयुक्त हुने बताए। ‘एक/दुई किलोमिटर लामो टनेल खन्न टिबिएम मेसिन त्यति प्रभावकारी हुँदैन,’ उनले भने, ‘सडक, सिँचाइ र खानेपानी आयोजनाको सुरुङ निर्माणमा टिबिएम मेसिनको प्रयोग गर्दा प्रभावकारी ढंगले काम गर्न सकिन्छ।’ रोबिन्स कम्पनीका चिफ कन्ट्री म्यानेजर विनयमान श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको टनेल खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग नगर्दा एक दशक लामो समय खर्चिनुपरेको बताउँछन्। ‘मेलम्चीको टनेल खन्दा टिबिएमको मेसिन प्रयोग नगर्दा मेलम्चीको पानी काठमाडौं ल्याउन एक दशकभन्दा धेरै लामो समय लाग्यो,’ उनले भने ‘मेलम्चीको टनेल टिबिएम मेसिनबाट खनेको भए ३–४ वर्षमा सहजै ल्याउन सकिन्थ्यो होला।’  

प्रकाशित: १४ कार्तिक २०७९ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App