१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सिमेन्ट उत्पादन ६० प्रतिशत कटौती

बजारमा माग घटेपछि सिमेन्ट उद्योगले उत्पादन ६० देखि ७० प्रतिशतसम्म कटौती गरेका छन्। मुलुक सिमेन्टमा आत्मनिर्भर भएर निर्यातको  

सुरुवात भइरहँदा स्वदेशी बजारमा सिमेन्टको खपतमा उच्च गिरावट आएपछि उद्योगले उत्पादन घटाएका हुन्।  

सिमेन्ट उद्योगले ३० देखि ४० प्रतिशत मात्र उत्पादन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताए। ‘अर्थतन्त्रमा देखिएको समस्याले निर्माण क्षेत्रमा प्रभाव परेको छ,’ अर्घाखाँची सिमेन्टका सञ्चालकसमेत रहेका मुरारकाले भने, ‘निर्माण क्षेत्र ठप्प हुँदा सिमेन्ट बिक्री भएन।’ बजारमा सिमेन्टको माग नभएपछि उद्योगले उत्पादन कटौती गरेका हुन्।

निजी घर, पूर्वाधार निर्माण आयोजनाको निर्माण रोकिँदा सिमेन्ट उत्पादनमा कटौती गर्नु परेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ। बजारमा पुँजीको अभाव, जग्गा कित्ताकाटमा रोकावट, बैंकको घरजग्गा लगानीमा कडाइ लगायतका कारण निर्माण क्षेत्र प्रभावित भएको हो।  

राजस्व संकलनमा गिरावट आएको छ। सरकारको पुँजीगत खर्च समेत नभएकाले पूर्वाधारका काम अघि बढेका छैन। आर्थिक वर्षको सुरुवातमा टेण्डर लगायतका काम हुने भएकाले निर्माण सुरु हुन सकेका छैनन्। कोभिडपछि बजारमा सिमेन्टको खपत बढेकोमा अहिले निर्माण क्षेत्रमा समस्या देखिएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले बताए। ‘सिमेन्ट उद्योग संकटमा परेका छन्,’ थापाले भने, ‘बजारमा माग घटेपछि उत्पादन घटाउनु परेको हो।’  

उद्योग सञ्चालन गर्न कठिन भएको उद्योगी बताउँछन्। उद्योगका समस्यामा सरकारले बेवास्ता गरेको संघले जनाएको छ। सिमेन्ट उद्योग  

समस्यामा परेर बैंकको किस्ता र व्याज बुझाउन कठिन भएको कसमस सिमेन्टका सञ्चालक प्रवलजंग पाण्डेले बताए। ‘सिमेन्ट बिक्री हुनै  

छोड्यो,’ पाण्डेले भने, ‘उद्योगहरूले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन्।’ उद्योग बन्द  

गर्नपुर्ने अवस्थामा पुगेको गुनासो छ। बैंकको व्याजदर वृद्धि भएको छ। व्यक्तिगत घर र पूर्वाधार निर्माण योजना अघि नबढ्दा बजारमा सिमेन्टको माग ह्वात्तै घटेको छ। कच्चा पदार्थको लागत मूल्यमा बृद्धि भएको छ। बजारमा अस्वस्थ प्रतिस्पर्धा हुँदा कम मूल्यमा बिक्री गर्ने अवस्था आएको उद्योगीको दाबी छ।

संघका अनुसार अहिले मुलुकमा ६१ सिमेन्ट उद्योग छन्। तीमध्ये ४० ग्रान्डिङ र २१ वटा एकीकृत उद्योग छन्। संघका अनुसार नेपालमा सिमेन्ट उद्योगको क्षमता करिब डेढ करोड टन पुगेको छ। बजारमा वार्षिक एक करोड टन खपत हुन्छ। यहाँका उद्योगको क्षमता बजार मागभन्दा ५० लाख टन धेरै छ। अहिले कारोबार नहुँदा उद्योगले उत्पादनमा भारी कटौती गरेका हुन्। संघका अनुसार आगामी दुई वर्षमा सिमेन्ट उत्पादन क्षमता दुई करोड ५० लाख टन पुग्छ भने बजारमा खपत एक करोड २५ लाख टन पुग्ने अनुमान छ। सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ। आत्मनिर्भर भए पनि नेपालको सिमेन्टमा लगानी गर्न विदेशीले चासो दिँदै आएका छन्।  

सिमेन्ट उद्योगमा अझै लगानी थपिँदै छ। लगानी बोर्डले आधा अर्ब रूपैयाँ नयाँ लगानी गर्न स्वीकृति दिएको छ। एक विदेशी लगानीसहित दुई सिमेन्ट उद्योगले नयाँ लगानीका लागि स्वीकृति लिएका छन्। दाङ सिमेन्ट उद्योगका लागि ३२ अर्ब ५० करोड र दाङकै सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब पाँच करोड रूपैयाँको लगानी  

स्वीकृत गरेको थियो। संघका अनुसार सिमेन्ट उद्योगमा दुई सय अर्ब रूपैयाँ लगानी पुगेको छ। वार्षिक डेढ सय अर्ब रूपैयाँको कारोबार हुन्छ। केही नयाँ उद्योग पनि पाइपलाइनमा रहेका छन्। यहाँको उत्पादन बजार खपत भएर मात्र नसकिने भएपछि सरकारले सिमेन्टलाई निर्यातजन्य उद्योगको रूपमा राखेको छ।  

स्वदेशमा उत्पादक कटौती भए पनि केही उद्योगले भने निर्यात सुरुवात गरेका छन्। सरकारले सिमेन्ट लगायतका करिब तीन दर्जन वस्तु निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने नीति ल्याएको छ। निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था गरेपछि सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका छन्। अर्घाखाँचीले अघिल्लो साताबाट भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको छ। यसअघि पाल्पा सिमेन्ट निर्यात गरिएको थियो। पाल्पा सिमेन्टसँगै अर्घाखाँची निर्यात सुरु गरेका छन् भने शिवम्, सर्वोत्तम, घोराही लगायत एक दर्जन उद्योगले निर्यातका लागि प्रक्रिया अघि बढाएका छन्।

प्रकाशित: ४ कार्तिक २०७९ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App