१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दुर्गम गाउँमा बैंकिङ सेवा सुरु

तिलागुफाको ठिन्केमा बैंकिङ सेवा सरु । तस्बिर :नागरिक ललित विष्ट कालिकोट

तिलागुफा नगरपालिका–९ चिल्खायाका लालसिंह खत्री गाउँमै बैंकिङ सेवा पाउँदा ढुक्क छन्। ‘पहिला सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे धाउनु पथ्र्यो। धेरै झन्झट थियो। उनले भने– ‘अहिले गाउँमै बैंकिङ सेवा विस्तार हुँदा निकै सहज भएको छ।’ चिल्खायाको ठिन्केमा शाखारहित बैंकिङ सेवा सुरु भएपछि उनीमात्र नभई उनीजस्ता धेरै जेष्ठ नागरिकहरूलाई सहज भएको छ ।

बैंकिङ सेवा लिन नगरपालिकाको केन्द्र गाल्जे जाँदा घण्टौं पैदल बाटो हिँड्नुपर्ने, सेवाग्राहीको चापका कारण लाइन बस्नुपर्ने, कहिलेकाहीं नेटमा खराबी हुँदा काम नहुनेजस्ता समस्याहरू खेप्दै आएका तिलागुफा नगरपालिका–९, १० र ११ वडाका नागरिकहरूलाई पायक पर्ने गरी चिल्खायाको ठिन्केमा बैंकिङ सेवा सुरु भएपछि धेरै सहजता थपिएको स्थानीयले बताएका छन्।

बाल पोषण भत्ता, वृद्धभत्ता, एकलभत्ताजस्ता सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लगायतका आर्थिक कारोबारहरूलाई सहज बनाउन नगरपालिकाले इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विकट गाउँमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।

नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बैंकिङ सेवामा नगरवासीको सहज पहुँच पुर्‍याउन शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको बताए। उनले भने ‘यो नगरपालिका बन्न आवश्यक आधारभूत पूर्वाधार विकास नगरी बनाएको नगर हो। यहाँका नागरिकहरूलाई नगरपालिका केन्द्रमा बैंकिङ सेवा लिन आउन पनि सहज छैन।

जोखिमयुक्त पैदल बाटो,सेवाग्राहीको चाप लगायतका धेरै समस्या थियो। त्यसलाई कम गर्न नगरपालिकाका – १, २, ३ र ४ लाई पायक पर्ने गरी नाग्ममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा सेवा लिने, ५, ६, ७ र ८ लाई नगरपालिका केन्द्रमा रहेको बैंकको शाखाबाट सेवा लिने र ९, १० र ११ लाई ठिन्के बजारमा स्थापना गरिएको शाखारहित बैंकिङ बाट सेवा लिने गरी व्यवस्था मिलाएका छौं।’

 दुर्गम गाउँका जेष्ठ नगरिकलाई वृद्धभत्ता, एकल महिला भत्ताजस्ता अति आवश्यक सेवा लिन निकै सहज हुँदै गएको नगर उपप्रमुख महेन्द्रबहादुर शाही बताए।

प्रकाशित: २६ भाद्र २०७९ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App