२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

धरहरा निर्माणमा टेलिकम पाइपको अवरोध

निर्माणाधीन धरहरा परिसरमा नेपाल टेलिकमको १६ वटा अन्डरग्राउण्ड युटिलिटिज पाइपका कारणले धरहरा निर्माणको काम रोकिएको छ। धरहराको खिचापोखरी तर्फको साइडमा टेलिकमका इन्टरनेट तथा फोनका तारसहितको १६ वटा पाइप भेट्टिएसँगै धरहरामा सेन्ट्रल युटिलिटिज बिल्डिङ लगायतको संरचना निर्माणमा समस्या देखिएको छ। धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले नेपाल टेलिकमले समयमै फोन र इन्टरनेटका युटिलिटिजका पाइपसहितको तार नहटाउँदा धरहरा परिसरमा आवश्यक सेन्ट्रल युटिलिटिज विल्डिङको निर्माण कार्य प्रभावित भएको बताए।  

‘टेलिकमले तारसहितका पाइप नहटाउँदा धरहरासँगै जोडिएको सेन्ट्रल युनिट भवनको अत्यावश्यक पूर्वाधार एसी, फायर हाइड्रेड, वायरिङ लगायतको संरचना तयार पार्न सकेका छैनौं,’ उनले भने– ‘हामीले टेलिकमका आवश्यक संरचना हटाउनका लागि सहरी तथा भवन विभाग र परामर्शदातालाई बारम्बार अनुरोध गरिरहेका छौं तर अहिलेसम्म यो समस्या समाधान हुन सकेको छैन।’  

प्रोजेक्ट म्यानेजर नकर्मीले टेलिकम तथा इन्टरनेट जस्तो अत्यावश्यक सामग्रीसहितको पाइप बिछ्याइएकाले पनि तत्कालै हटाउन नसकिएको बताए। ‘धरहरा परिसरको अन्डरग्राउन्डमा बिछ्याइएको पाइपबाट टेलिफोन तथा इन्टरनेटको लाइन न्यूरोड, बल्खु, असन लगायतका स्थानमा लगिएको छ,’ उनले भने– ‘हामीले खन्दाखेरि अत्यावश्यक टेलिफोन तथा इन्टरनेटका तारहरू काटिने सम्भावना भएकाले पनि काम गर्न सकिरहेका छैनौं। त्यसैले सम्बन्धित निकायले आफैं बुझेर हटाइदिँदा काम गर्न धेरै सहज हुने थियो।’ अहिलेसम्म धरहराको समष्टिगत भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ।  

 प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले भने, ‘हामीले टेलिकमका आवश्यक संरचना हटाउन सहरी तथा भवन विभाग र परामर्शदातालाई बारम्बार अनुरोध गरिरहेका छौं तर अहिलेसम्म यो समस्या समाधान हुन सकेको छैन।’  

निर्माण कम्पनीका अनुसार अहिलेसम्म आयोजनामा दुई अर्ब १२ करोड अर्थात् ६६ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजना तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा ठेक्का लगाइएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ मा धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै धरहराको हतार–हतार उद्घाटन गरेका थिए। अहिलेसम्म धरहराको चौथो पटकसम्म म्याद थपिएको छ। धरहराको मुख्य संरचनातर्फको म्याद आगामी असोज मसान्तसम्म समयसीमा तोकिएको छ। त्यसैगरी साविकको टक्सारतर्फको पूर्वाधार निर्माणका लागि आगामी पुस मसान्तसम्मको समयसीमा राखिएको छ। निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले भने धरहरा परिसरमा अहिले देखिएका समस्याहरूको समाधान नगरेको खण्डमा अहिले तोकिएको समयसीमा भित्रै धरहराको सम्पूर्ण पूर्वाधार निर्माणको काम नसकिने जनाएको छ।  

धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो। सो ठेक्का सम्झौता अनुसार धरहरा दुई वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो तर अहिलेसम्म धरहराको चार पटक म्याद थप भइसकेको छ। चौथो पटक म्याद थपेको समयसीमामा पनि धरहरा निर्माणको काम सकिनेमा आशंका कायमै छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नकर्मीले निर्माणाधीन धरहरा परिसरमा देखिएका समस्याले धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचनाको काम पनि अहिलेसम्म निर्माण सम्पन्न भइनसकेको बताए। अहिले निर्माणाधीन धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्री भागमा धरहरा २२ तलाको बन्दैछ।  

२०७२ सालको भूकम्पले धरहरा भत्किएसँगै सरकारले आधुनिक निर्माण सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ। प्रोजेक्ट म्यानेजर नकर्मीले भूकम्पले भत्किएर बाँकी रहेका धरहराको पुरानो ठुटोलाई कसरी व्यवस्थापन गर्ने विषयमा सरकारी निकायले आधिकारिक योजना अहिलेसम्म उपलब्ध नगराएको बताए। ‘भूकम्पले जीर्ण भएको धरहराको ठुटोलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेसम्म टुंगो लगाएको छैन,’ उनले भने– ‘पहिला त सिसाको फ्रेमभित्र राख्ने योजना गरिएको थियो तर अहिले अर्कै ढंगले राख्ने भन्ने कुरा आइरहेको छ।’

प्रधानमन्त्री भीमसेन थापाले वि. सं. १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि यो धरहरा निर्माण गराएका थिए तर दुर्भाग्य ठूला दुई भूकम्पले दुवैपटक धरहराको संरचनालाई नामेट पारेको थियो। वि.सं. १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले ऐतिहासिक महत्व बोकेको भन्दै धरहराको पुनर्निर्माण गर्न लगाए। देश भूकम्पबाट उच्च जोखिममा रहेका कारण जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर ९ तलाको बनाउन लगाएका थिए। जुद्ध शमशेरले धरहराको दुई तला त घटाए तर संरचना बलियो बनाउन सकेनन्। यसै कारण २०७२ वैशाख १२ को भूकम्पले धरहराको संरचना पूरै भत्कायो। त्यसबेला धरहरा चढिरहेका सर्वसाधारणमध्ये ५० भन्दा धेरैको ज्यान गयो । 

प्रकाशित: ३ श्रावण २०७९ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App