५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

धान भिजेपछि किसानलाई बीउ अभाव

गत कात्तिक पहिलो साता आएको वर्षातले किसानको खेतमै भिजेको धान।

बर्दगोरिया गाउँपालिका–५, का किसान जितराम डगौरा थारूलाई धानको बीउका लागि कहिल्यै अभाव भएन। उनी हरेक वर्ष धानको बिउका लागि कात्तिकमा भित्र्याएको धानका राम्रा बाला संकलन गरेर बर्खे खेतीका लागि बीउ जम्मा गर्थे। तर, यसपालि भने उनले धानको बीउ जम्मा गर्नै पाएनन्।

गत कात्तिक पहिलो साता परेको अविरल वर्षाका कारण भित्र्याउनै लागेको धानबाली भिज्यो र खेतमा आएको बाढीले बगायो। उनले धानको बीउ बचाउनै सकेनन्। त्यसैले त अहिले धानको व्याड राख्नका लागि उनी बिउ खोजीको चिन्तामा छन्।

जितराम मात्रै हैनन् मसुरियाका वीरबहादुर चौधरी पनि दैनिक बजारमा पुगेर धानको बीउ खोज्नमै बित्न थालेको छ। उनी मसुरिया बजारका एग्रोभेट सेन्टरमा पुगेर धानको राम्रो बिउको पर्खाइमा छन्। ‘धान पूरै खेतमा भिज्यो,’ उनले भने,‘यसपालि धानको बीउ राख्नै पाइएन, अहिले समस्या भइरहेको छ।’

भिजेको धानको बीउ राख्न नमिल्ने भएकाले यसपालि धान सबै सस्तो मूल्यमा बेचिदिएको उनले बताए। ‘धान भिजेकाले अहिले बीउ खोज्न भौतारिनु परेको छ,’ उनले भने,‘बजारमा राम्रो धानको बिउ नै पाइएको छैन।’ यस्तै भए यसपालि धानको बीउ अभाव हुनसक्ने उनी बताउँछन्।

खेतमा धान भिजेपछि यसपालि घरमा खानका लागि भण्डारण गरिराखिने धान पनि किन्नु परेको बताउँदै जितरामले भने, ‘वर्षभरि खानका लागि धान किन्नु पर्‍यो, यसपालि भएन भनेर बीउ पनि किन्नै पर्ने भयो।’ आफूले उब्जाएको धान भिजेपछिको मूल्य प्रति क्विन्टल एक हजार रुपैयाँमा बिक्री गरेको भन्दै उनले भने,‘घुइँयाको भाउमा धान बेचियो, खानका लागि महँगोमा किनियो र अहिले बिउका लागि भने भौतारिनु परेको छ।’

कात्तिक पहिलो साता परेको अविरल वर्षाले सुदूर पश्चिमका किसानको बारीमा लगाइएका नगदे तथा खाद्यान्न बाली सखाप भएका थिए। किसानको खेतबारीमा लगाइएको दलहन, तेलहन र फलफूलका साथै खाद्यान्न बालीमा क्षति पुगेको थियो। बर्खे बाली भित्र्याउनै लाग्दा परेको पानीले खेतमै धान भिज्नुका साथै बगेका थिए।

धानबाली भिजेपछि यसपालि बीउ अभाव हुन सक्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। उनले भने,‘कात्तिक पहिलो साता आएको वर्षा र बाढीले कैलालीमा ८१ प्रतिशत क्षति पुगेको थियो, जसले गर्दा धानको बीउ अभाव हुन सक्ने आँकलन गरेका छौँ।’ विगतको अवस्था हेर्दा कैलालीका ७५ प्रतिशत किसानले आफैले उत्पादन गरेको धानबाट बीउ राख्ने गरेको र बाँकी २५ प्रतिशत मात्रै सरकारी निकायले धानको बीउ अनुदानमा दिने गरेको थियो।

ज्ञान केन्द्रका प्रमुख शर्माले भने,‘अहिले ठीक उल्टो भएको छ, २५ प्रतिशत किसानले बिउ जोगाएका छन् भने बाँकी ७५ प्रतिशत किसानको धान नष्ट भएका कारण बीउ जोगाउन सकेनन्।’ ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कैलालीमा ३ हजार ५ सय टन धानको बीउ आवश्यक पर्छ। धानको बीउ अभाव हुने देखिएपछि यसपालि अन्य प्रदेशबाट मगाउनु पर्ने अवस्था आउन सक्ने उनले बताए।

‘वर्षातले सबैभन्दा बढी सुदूरपश्चिममा क्षति भएको थियो, जसले गर्दा किसानले धान जोगाउनै सकेनन्,’ उनले भने,‘त्यसकारण पनि यसपालि धानको बीउ अभाव हुने देखिएको छ, कैलालीका किसानलाई आवश्यक मात्रामा धानको बीउ उपलब्ध गराउन अन्य प्रदेशबाट मगाउनुपर्ने अवस्था आएको छ।’

कात्तिक पहिलो साता आएको वर्षात्ले सुदूरपश्चिममा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको थियो। प्रत्येक जिल्लाका स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका ८ जिल्लामा ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान बालीमा क्षति पुगेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए।

उनले भने,‘स्थानीय तहको कृषि शाखाले दिएको तथ्याङ्कले नै सुदूरपश्चिममा ठूलो मात्रामा धान खेतीमा क्षति पुगेको देखिएको थियो।’ यस्तै सुदूरपश्चिममा धान बाली बाहेक तरकारी, दलहन, तेलहन र फलफुलमा पनि उत्तिकै मात्रामा क्षति पुगेको थियो।

सुदूरपश्चिममा वर्षात्ले २ हजार ५ सय १ हेक्टर क्षेत्रफलमा लगाइएको आलु, ४ हजार ९ सय हेक्टरमा लगाइएको तोरी, २ हजार ७८ हेक्टरमा लगाइएको केरा, २ हजार ४ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी र ९ सय ९९ हेक्टर क्षेत्रफलमा लगाइएको कोदोमा क्षति पुगेको थियो।

प्रकाशित: २१ वैशाख २०७९ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App