४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्यअनुसार कहिल्यै बन्दैनन् पुल

सडक विभाग मातहत पुल महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा पुलको निर्माण सम्पन्न गरेको छ।

महाशाखाले चालु आर्थिक वर्षमा २ सय ५० पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। तर आधा वर्षमा करिब २० प्रतिशत मात्रै पुल तयार भएका छन्। बर्खा र कोभिड १९ ले चालु आवको ६ महिनामा पुल निर्माण कार्य उत्साहजनक नभएको अधिकारीहरूको भनाइ छ।

सडक विभाग मातहतको पुल महाशाखाका उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठले चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा पुल तयार भइसकेको बताए। ‘कोभिड १९ र बर्खाका बाबजुद यो अवधिमा ५० वटा पुल तयार भइसकेका छन्,’ उनले भने, ‘बर्खाको बेला पुल निर्माण कार्य लगभग ठप्प जस्तै हुन्छ। दुई चौमासिकसम्म पुल निर्माणले खासै गति लिनै सक्दैन। भर्खरै पुल निर्माणको उपयुक्त समय आउँदैछ। त्यसैले पनि अब गति लिने अपेक्षा राखेका छौं।’

उपमहानिर्देशक श्रेष्ठले सडक विभाग मातहत चालु आर्थिक वर्षमा करिब ११ अर्ब रूपैयाँ पुल निर्माणमा बजेट विनियोजन गरिएकोमा अहिलेसम्म करिब २०–२२ प्रतिशत मात्रै बजेट खर्च भएको बताए। ‘पुल निर्माणको सबैभन्दा उपयुक्त सिजन भनेकै फागुनदेखि जेठसम्म हो,’ उनले भने, ‘चैत–वैशाखमा नदीको बहाव अत्यधिक मात्रामा घट्ने गर्छ। सोही समयलाई उपयोग गर्दै नदीमा पुलका ढलानको काम गरिन्थ्यो। त्यसैले तेस्रो चौमासिकमा पुल निर्माणले गति लिनेछ।’

लक्ष्य अनुसार कहिल्यै बन्दैनन् पुल

महाशाखा लक्ष्य अनुसार पुल निर्माणमा सधैं असफल छ। विगत चार वर्षको पुल निर्माणको तथ्यांक केलाउँदा लक्ष्य अनुसारको उपलब्धि हात पार्न नसकेको देखिन्छ। आयोजना प्रमुख लापरवाही र ठेकेदारको ढिलासुस्तीले पुल निर्माणले उचित गति लिन नसकेको हो। चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार पुल निर्माण हुनेमा आशंका छ। यद्यपि उपमहानिर्देशक श्रेष्ठ चालु आवमा लक्ष्य अनुसार नै पुल निर्माण हुने दाबी गर्न छाड्दैनन्।

सडक विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर ३ सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेकोमा सो अवधिमा लक्ष्यको ६४ प्रतिशत (१ सय ९० वटा) मात्रै निर्माण गरेको थियो। विभागले गत वर्ष कोभिड १९ को कारण देखाउँदै लक्ष्य अनुसार निर्माण हुन नसकेको जनाएको छ।  

पुल महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा पनि ३ सय पुल निर्माण गर्ने लक्ष्य राखेकामा २ सय १० वटा निर्माण गरेको थियो। आर्थिक वर्ष २०७५/७६ वर्षमा २ सय ४३ र आर्थिक वर्ष ०७४/७५ मा ८२ वटा पुल निर्माण भएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै चालु आर्थिक वर्षको ६ महिनामा १ सय ७७ किलोमिटर सडक कालोपत्रे भएको जानकारी गराएका थिए।  

प्रधानमन्त्री देउवाले कार्यभार सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै सो अवधिमा संघीय सरकार मातहत २३ सडक–पुल निर्माण भएको तथ्यांक सार्वजनिक गरेका थिए।

६ महिनामा ८२ वटा झोलुंगे पुल निर्माण भएका थिए। सडक विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ८५ प्रतिशत मात्रै सडक कालोपत्रे भएको थियो। सो अवधिमा ११ सय ९० किलोमिटर कालोपत्रे भएको थियो।

प्रकाशित: १९ माघ २०७८ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App