१ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

एक अर्ब २१ करोड रूपैयाँको आइपिओ आउँदै

प्रतिकित्ता सेयर सय रूपैयाँमा खरिद गर्ने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने खुसीको खबर छ।

सय रूपैयाँमा खरिद गर्न पाउने गरी विभिन्न कम्पनीले एक अर्ब २१ करोड रूपैयाँभन्दा बढीको प्राथमिक सार्वजनिक सेयर (आइपिओ) निष्कासनको अन्तिम तयारी गरेका छन्। सेयर निष्कासनको अन्तिम तयारी भइसकेकोले इच्छुकले रकमको जोहो गर्नुपर्नेछ। नेपाल धितोपत्र बोर्डले लघुवित्त र हाइड्रोपावर कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको हो।

निष्कासनको अन्तिम तयारीमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी सेयर हाइड्रो कम्पनीको रहेको छ। हाइड्रो समूह अन्तर्गतका कम्पनीहरू ९९ करोड पाँच लाख ९४ हजार रूपैयाँ बराबरको आइपिओको तयारीमा छन्।

लघुवित्त समूह अन्तर्गतका संस्थाले भने २२ करोड ७५ हजार रूपैयाँ बराबरको साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएका हुन्। धितोपत्र बोर्डमा लामो समयदेखि अध्यक्ष नियुक्त हुन नसक्दा बेला आइपिओ निष्कासन हुने/नहुने अन्योल थियो। तर पछिल्लो समयमा बोर्डको नेतृत्व सम्हालेका व्यक्तिहरूले अध्यक्षको नियुक्त हुन नसके पनि आइपिओ निष्कासनको प्रक्रियालाई नरोक्ने निर्णय गरेका हुन्।

आइपिओ निष्कासनका लागि कतिपय संस्थाले ८–९ महिनाअघि नै बोर्डमा आवेदन दिएका थिए। करिब ७ महिनापछि आइपिओ निष्कासनको अनुमति पाएको नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७सय ५० कित्ता सेयर जारी गर्दैछ। नेष्डोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।

त्यस्तै, जालपा सामुदायिक लघुवित्तले प्रतिकित्ता सय रूपैयाँको दरले ५ करोड २२ लाख रूपैयाँ बराबरको सेयर निष्कासन गर्दैछ। जसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटलले पाएको छ। राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आइपिओ ८ करोड ५० लाख रूपैयाँ बराबरमा जारी गर्ने भएको छ।

हाइड्रोपावरतर्फ बलेफी र र ग्रिन भेन्चर कम्पनीले ९९ करोड ५ लाख ९४ हजार रूपैयाँ बराबरको आइपिओ बजारमा ल्याउने तयारी गरेका छन्। बलेफी हाइड्रोले ३६ करोड ५५ लाख ९४ हजार र ग्रिन भेन्चरले ६२ करोड ५० लाख रूपैयाँ बराबरको आइपिओ जारी गर्न बोर्डबाट अनुमति पाएका हुन्।

दुई निर्जीवन बिमाले ९९ करोडको हकप्रद जारी गर्दै

यसैबीच दुई निर्जीवन बिमा कम्पनी शिखर र आइएमई जनरल इन्स्योरेन्सले ९९ करोड रूपैयाँभन्दा बढीको हकप्रद सेयर जारी गर्ने भएका छन्।बोर्डले हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएसँगै यी दुई कम्पनीलाई हकप्रद जारी गर्न बाटो खुला भएको हो। हकप्रद निष्कासनका लागि शिखरले ८ महिना र आइएमई जनरलले करिब ६ महिनाअघि आवदेन दिएका थिए।

अब शिखरले प्रतिकित्ता सय रूपैयाँको दरले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५७ हजार २ सय रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। हाल शिखरको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख रूपैयाँ छ। ५२ करोड ७५ लाख रूपैयाँ बराबरको हकप्रदपछिशिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड ३६ लाख रूपैयाँ पुग्नेछ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ। उक्त कम्पनीले पनि अंकित मूल्य सय रूपैयाँ दरले ४६ लाख ३० हजार ३ सय ४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रूपैयाँ छ। ४६ करोड ३० लाख रूपैयाँको हकप्रद निष्कासनपछि आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रूपैयाँ पुग्नेछ।  

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सुरु 

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ताको अनुपातमा हकप्रद निष्कासन गरेको हो।

कम्पनीले सय रूपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५ सय रूपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गरेको हो। पुस २० गतेसम्म कारोबार भई कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल २९ करोड ७६ लाख ७५ हजार रूपैयाँ रहेको उक्त कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासनपछि ३८ करोड ६९ लाख ७७ हजार ५ सय रूपैयाँ पुग्नेछ।

प्रकाशित: १२ माघ २०७८ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App