१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा: आन्तरिक पाहुनालाई ‘प्याकेज’ नै छैन

पोखरामा घुम्न आएका आन्तरिक पाहुना। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्रले मार खेप्न थालेको झन्डै दुईवर्ष हुन थाल्यो। यो बीचमा विदेशी पाहुनाको आगमन न्यून रह्यो। संक्रमण कमजोर भएको मौका पारेर आन्तरिक पाहुनाको हिडडुल भने उत्साहजनक रुपमा बढेको पर्यटन व्यवसायीले बताईरहेका छन्। आन्तरिक पाहुनाकै कारण सुस्ताएको पर्यटन क्षेत्रले सास फेर्न पाएको व्यवसायीको भनाई छ।

कोरोनाको यो संक्रमणमा आन्तरिक पाहुनाको आगमनका कारण पर्यटन क्षेत्र चलायमान रहिरहन सकेपनि आन्तरिक पाहुना लक्षित आकर्षक कार्यक्रम भने व्यववसायीले ल्याउन सकेका छैनन्। पर्यटन प्रवद्र्धनार्थ केही नियमित गतिविधि बाहेक पाहुनालाई तान्ने नयाँ र आकर्षक प्याकेज व्यवसायीले ल्याएका छैनन। कपितय व्यवसायीले प्याकेज ल्याउन ढिलाई भईरहेको बताएपनि कतिपयले भने व्यवसायीले व्यक्तिगत रुपमा प्याकेज बनाएर पाहुनालाई सेवा दिईरहेको बताउँछन।  

पर्यटन क्षेत्र अप्ठेरोमा परेको बेला प्याकेज ल्याएर पाहुनालाई पोखरा घुम्न बोलाउने गरेका व्यवसायीले यो दुईवर्षको अवधिमा थप आन्तरिक पाहुना तान्ने गरि गतिला कार्यक्रम ल्याउन सकेनन्। व्यक्तिगत रुपमा व्यवसायीले प्याकेजमा पाहुनालाई सेवा दिने गरेपनि सामुहिक र सबै क्षेत्रलाई समेटेर प्याकेज ल्याउने गरेका छैनन्।

लामो समयदेखि विदेशी पर्यटकको भरमा टिकिरहेको पर्यटन क्षेत्रले द्वन्द्वको बेला विदेशीको आगमन कमजोर भएपछि बल्ल आन्तरिक पाहुनाको खाँचो महसुस गरेको थियो। त्यसपछि आन्तरिक पाहुनालाई पर्यटन क्षेत्रले महत्व दिन थालेको हो। तर, पछिल्लो समय आन्तरिक पाहुना लक्षित गतिविधि हुन सकेका छैनन्। पाहुनाले आकर्षक प्याकेजको आवश्यकता महसुस गरेको बताउने व्यवसायीले सामुहिक रुपमा प्याकेज ल्याउनेतर्फ भने उत्तिसारो चाँसो नदिएको अरु व्यावसायीको भनाई छ।

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई थप उकास्न आकर्षक गतिविधि सहितको प्याकेजको आवश्यक भएपनि त्यसतर्फ चाँसो नपुगेको पर्यटन क्षेत्रका जानकार बताउँछन्। ‘सामुहिक र आकर्षक कार्यक्रम र प्याकेज ल्याउन केही व्यवसायी अनिच्छुक देखिन्छन। केही प्याकेज ल्याउन खोज्दा पनि व्यवसायीबाटै विरोध हुने गरेको छ,’ पर्यटनका एकजना जानकार भन्छन, ‘प्याकेज ल्याएर पाहुना तान्नुको साटो प्याकेज ल्याउन खोज्नेलाई पनि हतोत्साही बनाउने गरिन्छ।’  

सामुहिक प्याकेज आन्तरिक पर्यटनका लागि आवश्यक परेपनि व्यवसायीभित्रै एकमत नरहेको उनले बताए। ‘अहिले पोखरामा आएका आन्तरिक पाहुना कसैले बोलाएर वा आकर्षक कार्यक्रम दिएर आएका होइनन। पोखरा प्रकृतिले दिएको उपहार भएकोले सुन्दरतामा रमाउन पाहुना आफै आएका हुन,’ उनले भने, ‘पाहुना तान्न त प्याकेज चाहिन्छ। तर, पोखराको पर्यटन क्षेत्र आन्तरिक पाहुनाका लागि सस्तो र सुलभ दरको प्याकेज ल्याउन चाहँदैन।’  

ती जानकारका अनुसार तोकिएको मुल्यभन्दा सस्तोमा सेवा दिएको बताउने व्यवसायी सामुहिक गतिविधिमा पर्यटनलाई जोड्न पोखराले सकेको छैन। आन्तरिक पाहुनालाई तान्ने हो भने आकर्षक, केही सस्तो र विशेष क्षेत्रलाई छुट दिनेगरि बेलाबेला परिमार्जन गर्दै प्याकेज ल्याउनुपर्ने उनको भनाई छ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि आन्तरिक पाहुना तान्न प्याकेज आवश्यक रहेको बताउँछन्। पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले यसअघि संघले ‘जाउँ है पोखरा’ भनेर वार्षिक कार्यक्रम गर्र्दै आएको थियो। त्यसले आन्तरिक पाहुनाको आगमनमा सकारात्मक प्रभाव पारेको थियो । ‘जाउँ है पोखरा’ कार्यक्रमले पोखरा घुम्न जानुपर्छ भन्ने माहोल बनाएको थियो। तर, कोरोनाले बीचमा ब्रेक गरेको हो,’पराजुलीले भने, ‘अब विशेष प्याकेज दिएर पाहुनालाई पोखरा घुम्न बोलाउनु जरुरी छ।’

उनका अनुसार संक्रमण कमजोर भएपछि दसैंपछि आन्तरिक पाहुना उत्साहपूर्वक रुपमा घुम्न आएका थिए। त्यसले व्यवसायीलाई उत्साही बनाएको थियो। आन्तरिक पाहुनाको त्यो आगमन डेढमहिना जति नियमित थियो। तर, त्यसपछि निरन्तरता पाउन सकेन। ‘कुनैबेला पोखरा घुम्न जानुपर्छ भन्ने पाहुनामा पनि सोच विकास भएको थियो। त्यो बेला व्यवसायीले पनि प्याकेज दिने गरेका थिए,’ उनले भने, ‘तर, अहिले कोरोनाले गर्दा केही अप्ठेरो परेकै हो। अब विशेष प्याकेज ल्याउने तयारी भईरहेको छ। नयाँ कार्यक्रम दिन सक्नुपर्छ।’  

कोरोना संक्रमण सुरु भएको करिब दुईवर्ष पुग्न थालेको र यो बीचमा आन्तरिक पाहुनाको भरमा व्यावसायी टिकेकोले अब नयाँ सोच बनाउनुपर्ने उनले बताए। ‘कोरोना संक्रमणले गर्दा पनि कतिपय गतिविधि हुन नसकेकै हो। अब केही सहज भएकोले प्याकेज बनाउनुपर्छ भन्नेमा व्यवसायी सहमत छन,’ उनले भने, ‘संक्रमणको त्रासले खुलेर कार्यक्रम गर्न नसकेकै हो।’ एकखालको प्याकेज ल्याएर अब पाहुनालाई तान्ने प्रयासमा व्यवसायी लाग्नुपर्ने उनले बताए।  

पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि पोखरामा पाहुना तान्ने गरि कार्यक्रम जरुरी रहेको बताउँछन। पोखरामा सबै तह र वर्गका पाहुनालाई तान्ने गरि प्याकेज आवश्यक रहेको उनले बताए। ‘प्याकेजका कार्यक्रममा व्यवसायी सहमत छन। तर, सामुहिक भन्दा पनि व्यक्तिगत रुपमा व्यवसायीले बनाएको प्याकेज सस्तो हुने गरेको छ,’ उनले भने, ‘संस्थागत रुपमा बनेको प्याकेजले उत्तिसारो प्रभाव जमाउन सकेन।’

उनका अनुसार पछिल्लो समय आन्तरिक पाहुनाले पोखरा घुमघामको प्याकेजको माग गरिरहेका हुन्छन्। ‘प्याकेज प्रभावकारी बनाउँदा लाभ भएको पनि छ। तर, सामुहिक प्याकेज उत्तिसारो व्यवस्थापन हुन नसकेकै हो। होटल, ट्राभल एजेन्सीले आफ्नै तरिकाले प्याकेज बनाएर सेवा दिईरहेका छन,’ भट्टराईले भने, ‘व्यवसायी सचेत पनि छौं। अभावमा आत्तिने र सहज हुँदा मात्तिने नभई एकैखालको प्याकेज आवश्यक छ।’  

पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी पनि पर्यटन क्षेत्रमा प्याकेज आवश्यक रहेको बताउँछन। ‘सबैखाले सेवा दिने व्यवसायीलाई समेटेर प्याकेज बनाउने हो भने त्यसले सकारात्मक प्रभाव पार्छ,’ भण्डारी भन्छन, ‘सबैखालका पाहुनालाई लक्षित गरेर प्याकेज ल्याउने हो भने त्यसको लाभ पाहुना र व्यवसायीलाई पुग्छ।’ बढि भन्दा बढि पाहुना तान्नेगरि आकर्षक प्याकेज अहिलेको पोखराको आवश्यकता रहेको उनले बताए। अहिलेसम्म पोखरालाई आन्तरिक पर्यटकले साथ दिएको अवस्थामा अबको केही समय आन्तरिक पाहुनामै निर्भर रहनुपर्ने अवस्था रहेको भण्डारीले बताए। ‘विदेशी पाहुना आउने अवस्था अझै केही समय हुँदैन। त्यही भएर स्वदेशी पाहुनालाई हामीले आकर्षण गर्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसका लागि आकर्षण थप्नुपर्छ।’

प्रकाशित: २८ मंसिर २०७८ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App