सरकारले अरूण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरूण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो। विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ।
प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो। प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ।
अरूण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्छ। अरूण–४ को लाइसेन्स पाएसँगै अरूण नदीमा प्राधिकरणले १५ सय ५१ मेगावाटका दुईवटा आयोजना एकसाथ अगाडि बढाउनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरूण र अरूण–४ गरी १५ सय ५१ मेगावाटको आयोजना निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत अगाडि बढाइने बताए।‘अरूण–४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरूण र अरूण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुंग्याएर अगाडि बढाउँछौं,’ घिसिङले भने, ‘आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ।’
विभागले अरूण–४ लाई नदीको बहावमा आधारित आयोजनाको रूपमा पहिचान गरेको थियो। तर माथिल्लो अरूण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरूण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो।
अरूण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरूण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ।
बाँधमार्फत अरूण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ। डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युत्गृहमार्फत विद्युत्ं उत्पादन गरिनेछ।
त्यहाँबाट निस्केको पानीलाई ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पुनः अरूण नदीमा खसालिने छ। आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।
संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा छन्। कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ। बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ। विद्युत्गृह क्षेत्र पुग्ने करिब दुई किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ।
विभागले गरेको अध्ययन अनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रूपैयाँ) छ। आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।
प्रकाशित: ९ कार्तिक २०७८ ०१:२० मंगलबार