६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिमा संस्थानको चुक्ता पुँजी चाँडै दुई अर्ब पुग्न

राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउने भएको छ।संस्थानको शनिबार भएको ३१औं साधारण सभामा सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले दुई अर्ब चुक्ता पुँजी पुर्‍याउने जानकारी दिएका हुन्। उनले बिमा समितिको निर्देशन अनुरूप दुई अर्ब चुक्ता पुँजी पुर्‍याउन पुँजी योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको जानकारी दिए।

कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तार लगायत अन्य गतिविधिमा नराम्रो प्रभाव परेको उनले बताए।कोरोना प्रभावका बाबजुद संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रूपैयाँ खुद प्रिमियम संकलन गरेको र तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गरेको जानकारी दिए। आर्थिक वर्षको अन्त्यमा जीवन बिमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको अध्यक्ष कँडेलले बताए।

उनका अनुसार संस्थानले लामो समयदेखि बाँकी रहेको आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षण सम्पन्न गरेको छ। यसअनुसार संस्थानले २०६६/६७ मा तीन अर्ब चार करोड र २०६७/६८ मा तीन अर्ब ७८ करोड आम्दानी गरेको छ। यस्तै, २०६८/६९ मा तीन अर्ब ९० करोड आम्दानी भएको छ। संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको जानकारी दिए।

संस्थानले तीन आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भएको र स्वीकृतिको लागि बिमा समितिमा पठाएको जनाएको छ। यस्तै, संस्थानले आव २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षण गर्न दुईजना लेखापरीक्षक नियुक्त गरेको छ।

संस्थानले लामो समयदेखि लेखापरीक्षण गराउन सकेको थिएन। बिमा समिति, अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालयको बारम्बारको ताकेतापछि अहिले लेखापरीक्षणका काम भइरहेको छ।

प्रकाशित: २७ भाद्र २०७८ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App