१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको सोलार फार्ममा जडान गरिएको सोलार प्यानल । तस्बिर ः विनोद ढुंगाना÷नागरिक

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।  

सुरुमा आयोजनाका लागी भारतबाट ल्याईने सामाग्रीको नेपाल सरकारबाट भन्सार शुल्क छुटको व्यवस्था मिलाउन लामो समय लाग्दा आयोजनाको काममा ढिलाई भयो । त्यसलगत्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले पनि तोकिएको मितिमा आयोजना सम्पन्न गर्न नसकेको स्थानीय व्यवस्थापक हरिकुमार श्रेष्ठले बताए । ‘लकडाउनको बेला भारतबाट ल्याउनुपर्ने सामग्री ल्याउनै समस्या भयो । भारतीय कामदारको पनि अभाव हुन गयो’, उनले भने, ‘त्यसले गर्दा काममा ढिलाई भएको हो ।’

आयोजनाको अवधिसंगै लागतमा पनि वृद्धी भएको श्रेष्ठले जनाए । उनका अनुसार ४२ करोड रुपैयाँमा आयोजना सक्ने लक्ष्य थियो । अहिले ४ करोड रुपैयाँ लागत बढेको छ । यो बर्षको सेप्टेम्बरसम्म विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । विद्युत उत्पादन भएपछि ६ बर्षमा लगानी सुरक्षित हुने श्रेष्ठले दाबी गरे ।  

आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । सोलार प्यानल जडानको काम भईरहेको आयोजनाका इञ्जिनियर रवीन्द्र ढुंगानाले जानकारी दिए । ‘७५ प्रतिशत प्यानल जडान सकिएको छ । बाँकी प्यानल भारतबाट आउँदैछ । ढुवानी भईसकेको छ, एक दुई दिनमा आईपुग्छ,’ उनले भने । इञ्जिनियर ढुंगानाका अनुसार साढे १३ हजार प्यानल जडान गरेर विद्युत उत्पादन गरिनेछ ।

आयोजनास्थलको मास्टर कन्ट्रोल रुममा उपकरण जडानको काम भईरहेको उनले जनाए । आयोजनाबाट बेलचौतारा शवस्टेसनसम्म विद्युत लैजानलाई पोल गाडेर सकियो । तार जडानको काम अन्तिम चरणमा छ । शवस्टेसनमा सिभिलतर्फको काम सकिएको छ भने बाँकी काम अबको २० दिनमा सकिने ढुंगानाले बताए । उनले भने, ‘अबको महिना दिनभित्र विद्युत चार्ज गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको १ सय १० रोपनी जग्गा भाडामा लिएर आयोजना निर्माण थालिएको हो । क्याम्पसलाई जग्गा भाडा बर्षको १४ लाख ५२ हजार रुपैयाँ बुझाउने सम्झौता छ । सम्झौता अनुसार २५ बर्षसम्म आयोजनाले जग्गा उपभोग गर्नेछ । उक्त अवधि सकिएपछि पुन ५ बर्ष थप्न मिल्ने प्रावधानको व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

यहाँ उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको बेलचौतारा शवस्टेसनमा लगेर राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ । सोलार आयोजना र शवस्टेसनको दुरी ६ सय मिटर मात्र छ । पिपिए सम्झौता अनुसार यहाँ उत्पादित ५ मेगावटसम्म ७.३० रुपैयाँमा प्राधिकरणले विद्युत खरिद गर्नेछ । ५ मेगावाट बढीको ३.६५ रुपैयाँमा आयोजनाले बेच्नुपर्नेछ ।  

आयोजनाले ६.३ मेगावाट उत्पादन गर्नेगरी संरचना निर्माण भईरहेको दाबी गरेको छ । स्थानीय र एनआरएनए मिलेर सोलार आयोजनामा ४० जनाले लगानी गरेका छन् । तीन बर्ष अगाडी सुरु भएको बेलचौताराबाट विद्युत उत्पादन हुन थालेपछि मुस्ताङ लगायतका विभिन्न स्थानमा पनि नयाँ सोलार आयोजनाको काम थाल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ भाद्र २०७८ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App