२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

मनास्लु क्षेत्रमा २३ वर्षपछिकै कम पर्यटक

मनास्लु पदमार्गमा जाँदै गरेका पर्यटक । फाइल तस्बिरलः नागरिक

गोरखाको मनास्लु क्षेत्रमा कोभिड–१९ को त्रासका बीच २०७७÷०७८ मा जम्मा एकसय ९४ जना पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

२०७६÷०७७ मा भने पाँच हजार तीन सय ८६ जना पर्यटकले मनास्लु भ्रमण गरेका थिए । २०५५ सालदेखि एमक्यापले मनास्लु क्षेत्रमा गएका पर्यटकको बिवरण राख्न सुरु गरेको थियो । पहिलो वर्ष एकसय चारजना पर्यटक मनास्लु पुगेका थिए । त्यसयता २३ वर्षपछि सबैभन्दा कम पाहुनाले गोरखाको यो क्षेत्र घुमेका छन । अघिल्लो आर्थिक वर्षमा जम्मा एकसय ९४ जना मात्रै पर्यटक मनास्लु पुगेका हुन् । अन्य सबै वर्षमा यो भन्दा धेरै पर्यटक जाने गरेका छन् ।  

२०७७ साउन, भदौ र २०७८ जेठ, असारमा एकजना पनि पर्यटक मनास्लु गएनन् । अन्य महिनामा भने दुई, तीन, आठदेखि ९४ जनासम्म मनास्लु पुगेका छन् । ती मध्ये दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क राष्ट्र) का सदस्य मुलुकका एकजना र बाँकी अन्य देशका पर्यटक छन् । एकसय २९ पुरुष र ६५ महिलाले गतवर्ष मनास्लु भ्रमण गरेका हुन् । मनास्लु भ्रमणका लागि पर्यटकले निश्चित शुल्क तिर्नुपर्छ ।

अन्नपूर्ण पदमार्ग पछिको सबैभन्दा साहसिकमा मनास्लु पदमार्गलाई लिइन्छ । यूरोपियन मुलुकका पर्यटकहरु यहाँको भौगोलिक धरातल, हिमश्रृङ्खला, हेर्न र लार्केपासका लागि आउने गर्छन । ब्यक्तिगत भन्दा पनि ग्रुपमा टे«किङ आउने ठाउँको रुपमा मनास्लु पदमार्गलाई पर्यटकले लिन्छन् । फ्रान्स, जर्मन, अमेरीका, स्विजरल्याण्डका पर्यटक धेरै आउने गरेको आयोजनाले जनाएको छ । एमक्यापले बिदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ ।

पछिल्लो समय मनास्लु क्षेत्रमा आन्तरिक पर्यटक पनि घुमघामका लागि जान थालेका थिए । अहिले कोभिडको प्रभावकाले पर्यटक घटेको स्थानीय बताउँछन् । भूकम्पको दुईवर्षपछि उठ्न थालेको मनास्लु क्षेत्रको होटल व्यवसाय कोरोनाले फेरी बन्द हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको भनाई छ ।  

करोडांै लगानी टाट पल्टियोः होटल व्यवसायी

मनास्लु पदमार्गमा गएका पर्यटक लक्षित गरी संचालन भएका होटल टाट पल्टिएको व्यवसायीले बताएका छन् । मनास्लु क्षेत्रका एक सय १० वटा भन्दा बढी होटल कोभिडका कारण एक वर्ष बन्द भएको मनास्लु क्षेत्र होटल ब्यवस्थापन समितिका अध्यक्ष गणेश कार्कीले बताए ।  

‘हाम्रो ब्यापार चौपट भयो, अवस्था नाजुक छ,’ ५० लाख देखि १८ करोड रुपैयाँसम्म लगानी भएका होटल मनास्लुमा छन,’ उनले भने ‘तर आम्दानी शून्य छ ।’ कतिपयले होटल बन्द गरेको उनले बताए । वर्षमा सात–आठ सय पर्यटक राख्ने उनले २०७७÷७८ मा एक जना पनि पर्यटक राख्न पाएनन् । ‘ऋण काढेर व्यवसाय गर्नेहरुलाई सास्ती भएको छ,’ उनले भने ‘नाफा त भएन नै घाटा लागेको छ, ऋण तिर्न सकेका छैनन् ।’ मनास्लु क्षेत्रका होटलको मुख्य प्राथमिकता नै पर्यटक हुन् । राज्यले समस्यामा परेका व्यवसायीलाई लक्षित गरेर कुनै राहत कार्यक्रम नल्याएको भन्दै उनले दुखेसो गरे ।

कोभिडको असरले पर्यटक आएनन ः एमक्याप

मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले कोभिडको प्रभावका कारण पर्यटक कम आएको जनाएको छ । पहिलो लहर कम भएसँगै आउन थालेका पर्यटक कोरोनाको दोस्रो लहरपछि आउने क्रम घटेको एमक्याप गोरखाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।  कोरोना नेपालमा मात्र नभएर पर्यटक आउने देशमा पनि फैलिएकाले पर्यटक घटेको उनले बताए । नेपाल आएका पर्यटक क्वारेन्टिन बस्नुपर्ने, कोरोना चेकजाँच गर्नुपर्ने र गन्तब्य तर्फ जान पाउने गरी पहिलो लहरको अन्यतिर सरकारले खुल्ला गरेको थियो । त्यतीबेला फाट्टफुट्ट पर्यटक आउन सुरु गरेका थिए । अहिले भने आउने क्रम ठप्प रहेको उनले बताए ।

प्रकाशित: २ भाद्र २०७८ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App