१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: बजेट सकाउन नाबालकको प्रयोग!

बेल्चा समातेका १५ वर्षीय बासु चौधरी, निलो स्कुल ड्रेस लगाएकी १३ वर्षीया निकिता र कालो ज्याकेट लगाएकी १३ वर्षीया स्मृति चौधरी । तस्बिरः पुष्पराज/नागरिक

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकामा दैनिक ज्यालामा नाबालक प्रयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँस्थित लमही ताल परिसरमा डिल निर्माणका लागि गाउँकै बालबालिकालाई प्रयोग गरिएको हो।

असारे चटारो परिरहेका बेला जाली गाउँमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा सकाउन अभिभावकको साटो बालबालिकालाई नै प्रयोग गरिएको छ। रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा दफ २ को (ङ) मा बेरोजगार व्यक्ति भन्नाले एक आर्थिक वर्षमा न्युनतम एक सय दिन रोजगारमा संलग्न नभएको भन्ने बुझिन्छ। र सोमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई संलग्न गराइने छ भनेर स्पष्ट लेखिएको छ। तर, जाली गाउँमा लमही तालको डिल निर्माणमा १३ वर्षका बालबालिकालाई काममा लगाइएको छ। 

रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा दफ २ को (ङ) मा १८ वर्षदेखि ५९ वर्ष उमेरकालाई मात्रै काममा लगाउन पाइने उल्लेख गरिएको भए पनि जाली गाउँमा असारे बजेट सकाउन बालबालिका प्रयोग भएको छ।

डिल निर्माणमा जाली गाउँका १३ वर्षीया निकिता चौधरी, १६ वर्षीया स्मृति चौधरी र १५ वर्षीय बासु चौधरीलाई काममा लगाइएको छ। उनीहरु आफ्ना अभिभावकको सट्टामा श्रम गरिरहेका छन्। जाली गाउँकै विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया निकिता चौधरीले भनिन्,‘अभिभावकको साटो यहाँ काम गर्न आएकी हुँ।’ उनले गाउँका अन्य पनि आएकाले आफू पनि दैनिक ज्यालादारीमा काम गर्न आएको बताइन्। ‘काम केही दिन अघि नै सकिसकेको भए पनि १ सय दिन काम गर्न नपाएका र छुटेकाहरुलाई पुनः काममा लगाएको साइड हेर्ने लोकराज जोशीले बताए। उनले भने,‘यी आएका बालबालिकाहरु आफ्ना अभिभावकको अनुपस्थितिमा आएका हुन्।’  

धनगढी उपमहानगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख चन्द्रबहादुर महराले १८ वर्ष मुनिका बालबालिकालाई काममा लगाउन नपाइने बताए। उनले भने,‘अभिभावकले आफ्नो सट्टा पठाएका रहेछन् भने उनीहरुलाई कानुन बमोजिम कारबाही हुन्छ।’

प्रकाशित: २४ असार २०७८ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App