१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खाने तेलको मूल्य अचाक्ली वृद्धि गरेका छन्। एक वर्षको अवधिमा खानेतेल लिटरमा करिब एक सय रूपैयाँभन्दा धेरै महँगिएको छ। पछिल्लोपटक निषेधाज्ञा सुरु भएपछि तेलको मूल्य लिटरमा करिब २० देखि ३० रूपैयाँसम्म वृद्धि भएको छ। 

अहिले बजारमा सनफ्लावर तेलको मूल्य लिटरको दुई सय ६५ देखि दुई सय ७५ रूपैयाँ, सोयाबिन तेल दुई सय ५५ देखि दुई सय ६५ रूपैयाँ लिटर पर्छ। अन्य तेलको मूल्य ब्रान्ड अनुसार योभन्दा महँगो छ। हरेक उपभोक्ताको भान्सामा तेल अनिवार्य आवश्यकताको दैनिक उपभोग्य वस्तु भएकाले मूल्यवृद्धिले सबै वर्गलाई असर पर्छ।

गत वर्ष सनफ्लावर तेलको मूल्य एक सय ५० रूपैयाँ र सोयाबिन तेलको एक सय ४५ रूपैयाँ लिटर थियो। एक वर्षको अवधिमा खानेतेलको मूल्य लिटरमा एक सय रूपैयाँभन्दा धेरै बढेको नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए। ‘महिनैपिच्छे तेलको मूल्य लिटरमा १०÷१५ रूपैयाँ बढेको छ,’ बज्राचार्यले भने, ‘तेल उद्योगले मनपरी ढंगले मूल्य बढाए।’  

राज्यका निकायले वास्ता नगर्दा निरन्तर मूल्य बढिरहेको उनको आरोप छ । मूल्य बढेको विषयमा सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । ‘मूल्य बढेर आएपछि हामीले थोरै मार्जिन राखेर बिक्री गर्ने हो,’ बज्राचार्यले भने, ‘उपभोक्ताले बिक्रेताले बढाएजस्तो ठान्छ। खरिद मूल्य नै महँगो भएपछि भाउ त्यसै बढ्ने भयो।’

नेपालमा पर्याप्त तोरी लागयतका तेलजन्य वस्तुको कच्चा पदार्थ उत्पादन नहुने भएकाले विदेशबाट आयात हुन्छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा उद्योगीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। तेल उत्पादकले मनोमानी ढंगले मूल्यवृद्धि गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘पुरानो लटको तेल पनि अहिले कच्चा पदार्थ बढेको बहाना देखाएर बढाइरहेका छन्,’ उनले भने, ‘अस्वाभाविक मूल्यवृद्धि गरेकाले सरकारले मूल्यमा हस्तक्षेप गर्नुपर्छ।’  

तेल उत्पादक उद्योगले कुन लटमा आएको कच्चा पदार्थ हो त्यसका आधारमा कहिले बजारमा पठाएको प्रस्ट पार्नुपर्ने उनले बताए । ‘मंसिर, पुसमा आएको कच्चा पदार्थबाट तयार गरिएको तेल बल्ल बजारमा आएको छ,’ उनले भने, ‘अहिले कच्चा पदार्थको भाउ बढ्यो भनेर मूल्य बढाएका छन्।’

निरन्तर मूल्य बढेको गुनासो आएकाले गहन रूपमा अध्ययन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। तेलको मूल्यवृद्धि हुनुको वास्तकिता के हो भन्ने विषयमा प्रस्ट पार्न उद्योगहरूलाई निर्देशन दिएको विभागका निर्देशक शिवराज सेढाईंले बताए। ‘के कारणले भाउ बढेको हो भन्ने विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘वास्तविकता पत्ता लगाएपछि थप प्रक्रिया अघि बढाउछौं।’ अस्वाभाविक रूपमा मूल्य बढाएको पाइए कारबाही गर्ने उनले बताए। कच्चा पदार्थ आयातको मूल्य, उत्पादन लागत लगायतका विषयमा पारदर्शी ढंगले प्रस्ट पार्न आग्रह गरेको उनले बताए।

यता तेल घिउ उद्योगले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाएका छन्। नेपाल वनस्पति घिउ तेल उत्पादक संघले खानेतेल उद्योगका लागि चाहिने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र मूल्य बढेका कारण तेलको भाउ बढेको जनाएको छ । मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आयात हुन्छ । कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालले मूल्य निर्धारण हुने संघले जनाएको छ।  

विगत १६ महिनादेखि विश्वमा फैलिएको कोरोना महामारीका कारण तेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि हुन गएको संघले जनाएको छ। संघका अनुसार मार्च २०२० मा ६१४ डलर प्रतिटनमा पाइने सोयाबिन तेलको मूल्य अहिले १२ सय ७९ डलर प्रतिटन पुगेको छ । त्यसैगरी, ६५६ डलरमा पाइने प्रतिटन सनफ्लावर तेलको मूल्य १५ सय ८० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा परेको संघको दाबी छ।

त्यसैगरी, संघका अनुसार क्रुड सोयाबिन तेल गत अप्रिल ८ को ११ सय ९० डलरबाट बढेर अप्रिल २२ मा १२ सय ७९ डलर प्रतिटन पुगेको छ । दुई हप्तामा प्रतिटन ९० डलर बढेको संघले दाबी गरेको छ। क्रुड सनफ्लावर तेल गत अप्रिल ८ मा १५ सय ३० डलरमा पर्नेमा अप्रिल २२ मा १५ सय ३० डलर पुगेको संघको दाबी छ। तेल प्याकिङमा प्रयोग हुने सामग्री तथा सहायक कच्चा प्रदार्थको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा अत्यधिक वृद्धि भएको दाबी संघको छ। निषेधाज्ञाको कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकी करीब ४० प्रतिशत क्षमतामा सञ्चालन भएको संघले नजाएको छ। यसले पनि लागत बढाउन योगदान गरेको व्यवसायी बताउँछन्।

प्रकाशित: १८ जेष्ठ २०७८ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App