४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्तरिकले एबिसी क्षेत्रमा चहलपहल

कोरोना भाइरस संक्रमणको त्रास नहुँदो हो त यो बेला पदयात्रा क्षेत्रमा विदेशीको भीडभाड हुन्थ्यो। विदेशीको भीडभाडमा आन्तरिक पाहुना थपिँदा पदमार्गका होटलमा गाँस र बास पाउन पनि सकस हुन्थ्यो। तर अहिले अवस्था फरक छ। कोरोना त्रासले विदेशी आउन नपाउँदा अहिले पदमार्गमा भीडभाड छैन। केही आन्तरिक पाहुनाको भरमा मात्र पदयात्रा क्षेत्र चल्न थालेको छ।  

अन्नपूर्ण आधार शिविर (एबिसी) कहलिएको पदमार्ग हो। कोरोनाका कारण लामो समयदेखि बन्द रहेको एबिसी क्षेत्रमा आन्तरिक पाहुना पुग्दा अचेल केही चमक देखिएको छ। आन्तरिक पाहुनाकै भरमा त्यहाँका होटल खुलेका छन् भने व्यवसायीले धेरथोर कमाइ गर्न पाएका छन्। नाफा कमाउनेभन्दा पनि व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको व्यवसायीले बताएका छन्।  

आधार शिविर पदमार्गको मुख्य प्रवेशद्वार पर्यटकीय गाउँ घान्द्रुक गत माघ १ देखि खुल्यो। एबिसी क्षेत्र भने खुलेको थिएन। संक्रमणको त्रासले गर्दा एबिसी क्षेत्र खुल्न सकेको थिएन। घान्द्रुक, घोरेपानी क्षेत्र सञ्चालनमा आएर आन्तरिक पाहुना पुग्न थालेपछि बल्ल फागुन १ देखि एबिसी क्षेत्र खुलेको थियो। अहिले एबिसी पदमार्गका सबै होटल सञ्चालनमा रहेको र आन्तरिक पाहुना पुग्दा राहत महसुस गरेको व्यवसायीले बताएका छन्। 

छोमरोङदेखि एबिसीसम्मका ठाउँठाउँमा होटल छन्। ‘घान्द्रुकले त राम्रै परिमाणमा आन्तरिक पाहुना पाएको छ। एबिसीसम्म पनि अहिले आन्तरिक पाहुना पुगेका छन्। यसले गर्दा व्यवसायीलाई राहत मिलेको छ,’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले भने, ‘घान्द्रुक खुलेर आन्तरिक पाहुना पाउन थालेपछि घान्द्रुकपछिका गन्तव्यका होटल खोल्न व्यवसायी बाध्य भए। अहिले आधार शिविरसम्म पाहुना पुग्दा केही सहज पनि भएको छ।’  

कोरोना संक्रमणले थलिएको पदमार्गको पर्यटन क्षेत्र आन्तरिक पाहुनाको भरमा पनि सञ्चालन हुँदा व्यवसायी हौसिएको उनले बताए। ‘विदेशी पाहुना तत्काल आउने अवस्था छैन। त्यसैले आन्तरिकको भरमा चल्ने हो,’ उनले भने, ‘आन्तरिक पाहुनालाई स्वागत गर्न पाउँदा व्यसायी खुसी पनि छन्।’ अध्यक्ष गुरुङका अनुसार अहिले बिदाको दिन पारेर घान्द्रुकमा आन्तरिक पाहुना पुग्ने गरेका छन्। शुक्रबार र बिदाको दिन पारेर घान्द्रुक उक्लने आन्तरिक पाहुना अधिक हुने गरेको उनले सुनाए।

एबिसी पदमार्गमा पर्ने छोमरोङका अर्का पर्यटन व्यवसायी मिकास गुरुङ पनि एबिसी पदमार्गका सबै होटल खुलेपछि आन्तरिक पाहुना आउँदा व्यवसायी उत्साही भएको बताउँछन्। ‘अब केही समय विदेशी पाहुना आउने सम्भावना छैन। त्यसैले आन्तरिककै भरमा धानिने हो। आन्तरिक पाहुनालाई प्राथमिकता दिनुको विकल्प पनि छैन,’ उनले भने, ‘पर्याप्त आम्दानी हुने गरी नै आन्तरिक पाहुना आएका त होइनन्। तैपनि व्यवसायको ढोका खुलेको छ।’ छोमरोङ पर्यटन व्यवसाय समिति सदस्य रहेका गुरुङले यो बेला मौसम राम्रो रहेकोले आन्तरिक पाहुना भित्रिएको बताए।  

छोमरोङ पर्यटन व्यवस्थापनका सचिव दिलीप गुरुङका अनुसार छोमरोङदेखि आधार शिविरसम्मका सबै होटल खुलेका छन्। शुक्रबार मात्र ५० आन्तरिक पाहुना आधार शिविर उक्लेका थिए। ‘४० देखि ६० जना आन्तरिक पाहुना आधार शिविर आएका छन्। हुन त आधार शिविरमा एकै रातमा तीन सय ५० पाहुना अट्छन,’ उनले भने, ‘अनुपातमा दैनिक ५० जना पाहुना आएका छन्। क्षमता अनुसार पाहुना नआए पनि अहिले आएका पाहुनाबाट पनि हामी सन्तुष्ट हुनुपरेको छ।’ उनका अनुसार आन्तरिकसँगै केही भारतीय, बंगलादेशी पाहुना पनि पुगेका छन्। 

प्रकाशित: ३१ चैत्र २०७७ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App