१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

नयाँ वर्ष माहोलः सडकमा चहलपहल, होटलमा सुनसान

पोखराको सराङकोटमा सूर्याेदय अवलोकन गर्दै पाहुना । फाइल तस्बिरः उमेश पुन÷नागरिक

नेपाली नयाँवर्षले धपक्कै छोपिसकेको छ । दुईवर्ष अघिसम्म यो बेला पोखरामा आन्तरिक पाहुनाको घुइँचो लाग्थ्यो । विद्यार्थी, क्लव, आमा समुह, विभिन्न संघसंस्थाबाट यो बेला घुम्न आउँदा यहाँ भीडभाड बढ्थ्यो । यहीबेला पर्यटकीय सिजन पनि पर्ने भएकोले विदेशी पाहुना पनि प्रयाप्त आउँथे । विदेशीको त्यही भीडभाडमा आन्तरिक पनि थपिँदा यहाँका होटल र रेस्टुरेन्टलाई व्यवसाय धान्न समेत धौ धौ हुन्थ्यो ।  

तर, कोरोना भाइरस संक्रमणले नेपाली नयाँवर्षको पोहोर र यो पटक पर्यटकीय क्षेत्रमा खल्लोपन छ । पोहोर त यो बेला पूर्ण लकडाउन नै थियो । त्यसले गर्दा पाहुना आउने अवस्था नै थिएन । यो पटक लकडाउन त छैन, तर, पाहुना भने खुलेर भित्रिन सकेका छैनन् । यहीबेला कोरोनाको त्रास बल्झिँदा चाहेर पनि पाहुना घुम्न निस्कन पाएका छैनन । विदेशीको त आगमन ठप्प झैं छ । खुलमखुला रुपमा हिडडुल गर्न नपाएपनि पर्यटकीय क्षेत्रमा भित्रिएका सिमित आन्तरिक पाहुनाको कारणले केही चहलपहल भने बढाएको व्यवसायी बताउँछन् ।

कोरोना त्रास बढेको भन्दै सरकारले यहीबेला भीडभाडमा नजान र सर्तकता अपनाउन नागरिकलाई अनुरोध गरिहरँदा सबै आन्तरिक पाहुनाले घुमघामका लागि निस्कने आँट नगरेको व्यवसायी बताउँछन् । फाट्टफुट्ट समुह र केही व्यक्तिगत तथा परिवारसहित घुमघाममा आएपनि त्यसले पोखरालाई उत्तिसारो उत्साही बनाउन सकेको छैन । थोरै आकारमा आएका आन्तरिक पाहुनाले व्यवसायमा केही राहत त दिएको छ, तर, कोरोना त्रास बढिरहँदा आउन चाहेका पाहुना पनि हिडडुल गर्न नपाएको व्यवसायी बताउँछन् ।  

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी)का गण्डकी संयोजक अग्नी कँडेल भन्छन, ‘बेलुकीपख लेकसाइडमा केही चहलपहल त बढेको देखिन्छ । तर, चहलपहल बढाउने यी पाहुना सबै बाहिरबाट घुम्न आएका होईनन् । स्थानीय पाहुना पनि लेकसाइडमा झर्दा चमक बढेको देखिएको हो ।’ उनका अनुसार नयाँवर्षको समय आन्तरिक पाहुनाको हो । विदेशी पाहुना नियमित आउँदै गर्दा नयाँवर्ष मनाउने बहानामा पोखरा भित्रिएका आन्तरिक पाहुनाबाट पर्यटनले यतिबेला गज्जबको लाभ लिने गरेको भएपनि यो पटक अवस्था सहज नभएको उनले बताए । लेकसाइडको सडकमा बेलुकीपख चहलपहल देखिएपनि होटलमा भने उत्तिसारो पाहुना नभएको उनले सुनाए ।  

‘अघिल्ला महिनासम्म पोखरामा यो बेला आन्तरिक पाहुनाको आगमन केही बढेको थियो । यो बेला नयाँवर्ष मनाउन आन्तरिक पाहुना आउने हुँदा लाभ लिन सकिन्थ्यो,’ कँडेलले भने, ‘तर, त्यो भन्दा फरक अवस्था आइप¥यो । यहीबेला कोरोना त्रास बढेको छ । सरकारले सचेत हुन आग्रह गरिरहेको छ । त्यहीकारण पनि यतिबेला आन्तरिक पाहुना सोचेजति आउन सकेनन् ।’ यो बेला कोरोना त्रास नहुँदो हो त नेपाली नयाँवर्ष मनाउन आन्तरिक पाहुना प्रयाप्त आउँथे । तर, अहिले भने पाहुना घुमफिरमा निस्कन डराएको उनले बताए । ‘अझैपनि होटलका एकाध कोठामा मात्र पाहुना छन्, जुन प्रयाप्त होईन,’ उनले भने ।

नेपाली नयाँवर्षमा पोखरामा आन्तरिक पाहुना आकर्षण गर्न विभिन्न कार्यक्रम पनि आयोजना हुने गरेका थिए । तर, कोरोना त्रासका कारण पोहोर र यो पटक महोत्सव जस्ता कार्यक्रम आयोजना पनि हुन सकेनन् । केही होटल र रेस्टुरेन्टले आन्तरिक रुपमा पाहुना आकर्षण गर्न कार्यक्रम राखेपनि ती सिमित ठाउँमा मात्र हुनेछन्  । अरुबेला खुलमखुला आयोजना हुने कार्यक्रम अहिले आयोजना गरिएको छैन । ‘संक्रमणको त्रासले नै गर्दा व्यवसायी नै त्रसित हुनु परेको छ,’ कँडेलले भने ।

नेपाली नयाँवर्षमा आन्तरिक पाहुना तान्न यहाँ पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सव आयोजना गर्ने गरेपनि अहिले गर्ने अवस्था नरहेको संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । फेवा नयाँवर्ष महोत्सव छोट्याएर भएपनि गर्ने तयारी संघले गरेपनि कोरोना संक्रमणको कारण अहिलेलाई गर्न नसकेको उनले बताए । ‘सडक महोत्सवको नयाँरुप दिएर गर्ने योजना थियो । तर, अहिले संक्रमण बढेकोले रोकिएको छ,’ तुलाचनले भने, ‘यो बेला सहज ठानिएन । दुइसाता अघिसम्मको अवस्था रहन्थ्यो भने हामीले महोत्सव गर्दथ्यौ । तर, अन्तिम समयमा हुन सकेन ।’ अरुबेला पार्कभित्र हुने महोत्सवलाई यो पटक केही फरक ढंगमा सडकमा आयोजना गर्ने तयारी भएपनि गर्न सक्ने अवस्था नरहेको उनले बताए ।  

उनका अनुभवमा यो बेला पोखरामा रमाउनका लागि आन्तरिक पाहुनाको आगमन राम्रै हुन्थ्यो । यो बेला ६० प्रतिशत आन्तरिक र बाँकी भारतीय र तेश्रो मुलुकको पाहुना आउँदा पोखरामा पाहुनाको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारीमा हुने गरेको भएपनि कोरोनाले गर्दा यो पटक पनि सुखद हुन नसकेको उनले बताए । ‘पछिल्लो दुईसाताको अन्तरमा पनि पाहुनाको आगमनमै फरक देखिएको छ,’ उनले भने । मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाएपनि लेकसाइडलाई सजावट गरेर आकर्षक भने थप्ने उनले बताए ।  

अर्का पर्यटन व्यवसायी नरेश भट्टराई पनि केही आन्तरिक पाहुना आएपनि यो आगमन दुईसाता अघि केही बढि थियो । तर, अहिले आगमन एकाएक घटेको छ । त्यसो हुनुमा अहिलेको कोरोनाको त्रास र खराब मौसम रहेको उनले सुनाए । ‘यहीबेला मौसममा पनि खराबी आएको छ । हिडडुल नै सहज हुन सकेन,’ भट्टराइले भने । उनका अनुसार पोखरामा यो बेला आन्तरिक पाहुना त छन्, तर, प्रयाप्त छैनन । ‘सडकमा केही भीडभाड त देखिन्छ । तर, तीमध्ये कतिपय पाहुना स्थानीय पनि हुन् । बाहिरबाट यो बेला प्रयाप्त आउँथे, तर, अहिले त्रासले गर्दा पनि आउन चाहेर पनि आएनन,’ भट्टराइले भने ।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल पनि लेकसाइडमा केही चहलपहल थपिएको भएपनि दुईसाता अघिको तुलनामा खस्किसकेको बताउँछन् । कोरोनाको दोश्रो लहरको हल्लासँगै व्यवसायमा गिरावट आएको उनले बताए ।  ‘सरकारले नै भीडभाड नगर्न भनेको छ । पाहुना निस्फिक्री तरिकाले घुमफिरमा निस्कन हच्किएका छन् । लेकसाइडमा बेलुकीपखको चमक देखिन्छ । तर, होटलमा बस्ने पाहुना कम छन,’ उनले भने, ‘रेस्ुटरेन्टमा स्थानीय पाहुना पनि झरेका छन् । यो बेला रेस्टुरेन्टमा राम्रो आगमन भएपनि होटलमा खासै छैनन् ।’

प्रकाशित: ३० चैत्र २०७७ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App