३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट

२०७४ सालकाे पुस दाेस्राे साता मेलम्चीकाे पानी वितरण गर्ने पाइप गाड्न खनिएकाे ठाँउमा बाटाे पहिल्याउँदै बटुवा। फाइल तस्बिर: नागरिक

सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको नयाँ पाइप लाइनको सम्पूर्ण परीक्षण अहिलेसम्म नभएकाले पानी तत्काल पुरानै पाइप लाइनबाट वितरण गरिने बताए।

‘सुरुङसम्बन्धी सम्पूर्ण टेस्टिङ र कमिसनिङको काम सकेर नियमित पानी उपलब्ध गराउन थालेसँगै नयाँ पाइप लाइनको परीक्षण सुरु गर्नेछौं,’ उनले भने, ‘पुरानो वितरण प्रणालीबाट जनतालाई पानी उपलब्ध गराउँदै नयाँ पाइप लाइनको परीक्षण अघि बढाउनेछौं।’ निर्देशनालयले पहिलो चरणमा एक लाख १४ हजार घरधुरीमा मेलम्ची पानी उपलब्ध गराउने लक्ष्य राखेको छ।

तर सुरुआती चरणमा करिब २० हजार घरधुरीमा नयाँ जडान गरिएको वितरण लाइनबाट र बाँकी क्षेत्रमा पुरानै वितरण लाइनमा इन्टरकनेक्सन गरेर पानी वितरण गर्ने तयारी छ। ‘सबैभन्दा पहिलो चक्रपथभित्रका उपभोक्ताले नयाँ वितरण प्रणालीमार्फत पानी प्राप्त गर्नेछन्,’ उनले भने, ‘चक्रपथ बाहिरकालाई पुरानैबाट उपलब्ध गराइनेछ।’  

निर्देशनालयले अहिले अनामनगर, थापागाउँ, कोटेश्वर, नरेफाँट, दरबारमार्ग, नक्साल, चःमती जग्गा एकीकरण आयोजना, बालाजु लगायत क्षेत्रमा नयाँ विस्तारित पाइप लाइनबाटै पानी वितरण गरिरहेको छ। निर्देशनालयले अबको एकदेखि डेढ महिनामा सम्पूर्ण परीक्षण सकेर उपभोक्ताको घरमा पठाउनेछ।

निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइनको संरचना तयार पारिसकेको छ। त्यसैगरी, ११ सय २२ किलोमिटर वितरण सञ्जालको संरचना तयार गरे पनि पानीको अभावमा टेस्टिङ तथा कमिसनिङको काम गर्न सकेको छैन। निर्देशनालयले नियमित पानी उपलब्ध हुन थालेसँगै टेस्टिङलाई तीव्रता दिने जनाएको छ।

साढे ७४ हजार घनमिटर क्षमताका १० वटा ट्यांकी समेत तयारी अवस्थामा छन्। पहिलो चरणमा ११ सय ३२ किलोमिटर वितरण सञ्जालमध्ये अहिलेसम्म ११ सय २२ किलोमिटरभन्दा धेरै तयार भइसकेको छ। बाँकी १० किलोमिटर निर्माण भइरहेको छ। ललितपुरमा १० किलोमिटर जतिको काम जारी छ।

पहिलो चरणमा मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी आउँछ। शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको सुरुङको टेस्टिङ तथा कमिसनिङ गरेर पानी वितरण गर्ने कि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र तथा पाइप लाइनमा नियमित पानी उपलब्ध गराएर टेस्टिङ गर्ने भन्नेमा अहिलेसम्म निर्णय नभएको बताए।

‘सुरुङको सम्पूर्ण परीक्षण सकेपछि पाइप लाइन परीक्षण गर्ने कि के गर्ने, अहिलेसम्म ठोस निर्णय भएको छैन,’ उनले भने, ‘अहिले दुइटा विकल्पमा छलफल भइरहेको छ। कुन विकल्पमा अघि बढ्ने अहिलेसम्म कुनै निर्णय भएको छैन। सम्भवतः मन्त्रालयले केही दिनभित्रै टुंगो लगाउनेछ।’  

कार्यकारी निर्देशक खत्रीले मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा फाल्ने कार्य बन्द गरिसकेको बताए। ‘मेलम्चीको पानी शनिबार उद्घाटन गर्दा मात्रै बाग्मतीमा फ्याँकिएको हो। अहिले बाग्मतीमा फ्याँक्ने कार्य बन्द गरिसकियो,’ उनले भने, ‘अब मेलम्चीको सुरुङमा पानी भरेर प्रेसर जाँच्ने काम गर्नेछौं।’ कार्यकारी निर्देशक खत्रीले सुरुङ परीक्षणको सम्पूर्ण प्रक्रिया पूरा गर्न डेढ महिनाजति लाग्ने जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७७ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App