१ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरोना त्रास घटेपछि कर्णालीमा बढ्दै पर्यटकको चहलपहल

तस्विरः गणेश विशु/नागरिक

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सुनसान भएका कर्णालीका पर्यटकीय क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ । कोरोना खोपसँगै कोरोना भाइरस संक्रमणको त्रास घट्दै गएपछि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको हो ।

कोरोना भाइरसका कारण नेपाल सरकारको नेपाल भ्रमण वर्षसमेत स्थगित भएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेका काँक्रेबिहार, बुलबुले, पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको पाताला दरबार, गोठीकाँडालगायतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि यहाँका पर्यटकीय क्षेत्र बन्द गरिएका थिए । सुनसान काँक्रेबिहार क्षेत्रमा अहिले आवातजावत बढेको छ । दैनिक सयभन्दा बढी सर्वसाधारण यहाँसम्म पुग्छन् । शनिबार र सार्वजनिक बिदाका दिन अरु समयभन्दा चार गुणा बढी पर्यटक आउँछन् । जसमा करिब पाँच प्रतिशत जति विदेशी पर्यटक हुन्छन् । ‘दैनिक यहाँ आउने मान्छेको संख्या बढ्दो छ,’ वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले भने, ‘कोरोना भाइरसले ठप्प पारेको पर्यटन क्षेत्र पुनः पहिलाकै अवस्थामा फर्किने क्रममा छ ।’ यता अर्काे प्रमुख गन्तव्यका रुपमा रहेको बुलबुलेमा पनि पर्यटकको उस्तै बाक्लो उपस्थिति देखिन्छ ।

पर्यटक आउने संख्या बढेसँगै बुलबुले उद्यानको आम्दानीसमेत वृद्धि भएको छ । योसँगै सल्यानको कुपिण्डे ताल, छायाँ क्षेत्र, छत्रेश्वरी मन्दिर, खैराबाङ मन्दिर, दैलेखको गुराँसे, महाबु, मुगुको रारालगायतका क्षेत्र, डोल्पा, रुकुम पश्चिम, जुम्लालगायत कर्णालीका १० जिल्लाका पर्यटकीय क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकको बढ्दो चहलपहल छ । कोरोना भाइरसको त्रासका कारण घरभित्रै रहेका सर्वसाधारण अहिले घुमघाम गर्न निस्कने गरेका छन् । लामो समयसम्म घरभित्रै हुँदा कोरोनापछि पर्यटकीय क्षेत्र ठप्प बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्नै सकेनन् । लामो समयको बन्दाबन्दीले घरमै रहेका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र रोजाइमा पर्न थालेको छ । त्यसैले पनि अहिले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको छ । कोरोना भाइरसले थलिएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले राहत दिएको छ । कर्णालीका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ भने नयाँ गन्तव्यको पहिचान र प्रचारसमेत हुन थालेको छ । यहाँका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि आर्थिक क्षेत्र भने चलयमान हुन थालेको छ । रोजगारी गुमाएर बेकामे भएका पर्यटन कर्मचारीले पनि रोजगारी पाउन थालेका छन् । अहिले कर्णालीको प्रमुख पर्यटकीय क्षेत्रमा सहुलियत ‘प्याकेज’ समेत आउन थालेका छन् । ‘कोरोना भाइरसले उकुसमुकुस भएका मान्छे यतिबेला घुम्न चाहान्छन्,’ पर्यटन व्यवसायी मनराज देवकोटाले भने, ‘कर्णालीका पर्यटकीय क्षेत्रमा सहज यात्रा र त्यहाँको व्यवस्थापनका लागि हामीले प्याकेज निर्माण गरेका छौं ।’

सुन्दरता र मनोरम दृश्यले बलेको कर्णालीमा भौगालिक विकटताले गर्दा अपेक्षाकृत बाह्य पर्यटक भने भित्रिन सकेका छैनन् । पर्यटन व्यवसायी र सरकारको संयुक्त सहुलियत प्याकेजजस्ता कार्यक्रमले कर्णालीका पर्यटकीय क्षेत्रमा बाह्य पर्यटकको रोजाइ पर्ने स्थानीयको भनाइ छ ।  

प्रकाशित: ५ फाल्गुन २०७७ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App