२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

सानो सहयोग, ठूलो उपलब्धि

कप्सेराकी खगिसरा सुनारले पालेका बाख्रा। तस्बिर: नगेन्द्र/नागरिक

बराहताल गाउँपालिका–१ सम्मेनीकी मनरूपा रानाले अघिल्लो वर्ष वडा कार्यालयबाट ब्रोइलर कुखुराका चल्ला अनुदानमा प्राप्त गरिन्। चल्ला राख्न घरको भुइँतलालाई खोर बनाइन्। रानाले चल्लाका लागि दाना किनिन्। वडाले निःशुल्क प्राविधिक सहयोग दियो। ‘सबै खर्च कटाएर पहिलो लटमै ६० हजार बचत गर्न सफल भएँ,’ मनरूपाले भनिन्, ‘अहिले आफैले किनेर चल्ला हालेकी छु।’

मग्राहकी पवित्रा वंशीमगरले जनजाति लक्षित कार्यक्रम अन्तर्गत ८० वटा ब्रोइलर कुखुराका चल्ला पाएकी थिइन्। अघिल्लो साता अनुदानबाट प्राप्त कुखुरा बिक्री गरिन्। ‘कुखुरा बेचेर ५० हजार जति कमाए हुँला,’ उनले भनिन्, ‘अब यही व्यवसायलाई निरन्तरता दिन्छु।’रोग लाग्दा वडा कार्यालयले उपचार गरिदिन्छ। गाउँमै ब्रोइलर किलोको साढे तीन सयमा बिक्री हुन्छ। ‘पहिलो लट वडाले अनुदानमा दियो, त्यसपछि आफैंले कुखुराका चल्ला किनेर पाल्न थालेका हौं,’ पवित्राले भनिन्, ‘धेरै दुःख पनि नहुने र आम्दानी पनि राम्रो हुने भएकाले अहिले आफैं किनेर पाल्न थालेका हौं।’

वडा कार्यालयले अघिल्लो आर्थिक वर्षको अन्त्यतिर जनजाति र अपांगता भएका १० जनालाई कुखुराका चल्ला दियो। अहिले तीमध्ये आठजनाले व्यावसायिक कुखुरापालन व्यवसाय गरिरहेका छन्। ‘सुरुमा लक्षित वर्ग छनोट गरेर तालिम दियौं, व्यवसायका फाइदाबारे बतायौं,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘अनुदानमा चल्ला दिएका १० परिवारमध्ये आठजनाले अहिले यसैलाई व्यवसाय बनाउनुभएको छ।’

कप्सेराकी खगिसरा सुनारले वडा कार्यालयबाट अघिल्लो वर्ष एउटा बाख्रा उपहार पाइन्। अहिले उनीसँग चारवटा बाख्रा छन्। ‘वडाले दिएको एउटा बाख्राबाट अहिले चारवटा बनाएकी छु,’ उनले भनिन्, ‘केही आफैं थपेर यसैलाई व्यवसाय बनाउने सोचमा छु।’

श्रीचौरका रतन नेपालीले पनि दलित लक्षित कार्यक्रमबाट एउटा बाख्रा पाए। दुईवटा आफैं खरिद गरे। अहिले उनीसँग नौवटा बाख्रा छन्। ‘वडाले एउटा दियो, दुईवटा मैले खरिद गरेँ,’ उनले भने, ‘अहिले नौवटा पुगेका छन्।’ वडाले बाख्रा दिएपछि कालापहाड जाने बाटो पनि रोकिएको छ। ‘बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले जंगल प्रशस्त छ,’ उनले भने, ‘अब फर्म दर्ता गरेर थप बाख्रा पाल्ने सोचमा छु।’

वडा–सचिव दिलिप ढकालले अति विपन्न दलित, जनजाति र अपांगता भएका व्यक्तिलाई लक्ष्य गरेर सुरु गरिएको बाख्रा र कुखुरापालन कार्यक्रम प्रभावकारी भएको बताए। ‘नजिकको सरकारसँग स्थानीयका धेरै आशा र अपेक्षा हुन्छन्,’ उनले भने, ‘वडाको सीमित बजेटबाटै केही उदाहरणीय कामहरू हामीले गरेका छौं।’

उनले दीर्घकालसम्म व्यवसाय गर्ने प्रतिबद्धता जनाउने लक्षित समूहका सदस्यलाई अनुदानमा एकपटकका लागि अनुदानमा बाख्रा र कुखुरा दिइएको बताए।वडा कार्यालयका अनुसार स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सयभन्दा बढीलाई स्वरोजगार बनाइएको छ।

प्रकाशित: २८ माघ २०७७ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App