१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

इलाममा १६ करोड खर्चेर बन्यो सिटी मार्ट

उद्यम

देश संघीयतामा गएपछि जिल्ला सदरमुकामहरूको चहलपहल घटेका बेला व्यापारिक हिसाबले सर्वसाधारण आकर्षित गर्न स्थानीय सरकार क्रियाशील छ। राज्य पुनर्संरचना हुँदा १० स्थानीय तहमा विभाजित भएपछि इलाम सदरमुकाममा सर्वसाधारणको आउ–जाउ घट्दै थियो। तर, सदरमुकाम रहेको इलाम नगरपालिकाले विभिन्न महत्वपूर्ण संरचना निर्माण गर्दै सदरमुकामप्रतिको आकर्षण बढाउन प्रयास गरिरहेको छ।

नगरकै वडा ९ मा निर्माणाधीन फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको काम अन्तिम चरणमा छ भने इलाम बजारमा बहुतले पार्किङसहितको फिल्म हल बन्दै छ। यही क्रममा सम्भवतः स्थानीय तहमध्ये देशमै पहिलोपटक निजी–सार्वजनिक–साझेदारीको कानुन बनाएर नगरले इलाम चोक बजारमा सिटी मार्ट निर्माण गरेको हो। मार्ट निर्माणको काम अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।

व्यापारिक हिसाबले सदरमुकाममा गाउँगाउँका बासिन्दा र यहाँ आएका पर्यटक आकर्षित गर्दै एउटै भवनमा सयौंखाले उपभोग्य सामग्री पाउने व्यवस्था मिलाउन नगरले सिटी मार्ट निर्माण गरेको हो। निजी क्षेत्रसमेतको साझेदारीमा १५ करोड ८४ लाख रुपैयाँ लागतमा २ वर्षअघि निर्माण थालिएको सिटी मार्टको ९५ प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ। ‘अबको केही समयपछि सिटी मार्ट उद्घाटन हुँदै छ,’ इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले भने, ‘मुख्य संरचनाको काम सकिएर अन्तिम फिनिसिङको काम हुँदै छ।’ गत चैतमैै सकिनुपर्ने निर्माण कार्य कोरोना महामारीका कारण भएको लकडाउनले प्रभावित भएको हो।

निजी क्षेत्रसमेतको साझेदारीमा १५ करोड ८४ लाख रुपैयाँ लागतमा २ वर्षअघि निर्माण थालिएको सिटी मार्टको ९५ प्रतिशत काम सकिएको छ । जसमा ७८ वटा सटर पसल, ३ सय ३० जना क्षमताको पार्टी प्यालेस हल र १ सय २० जना अटाउने रेस्टुरेन्ट रहनेछन् । मार्ट भवनभन्दा अघिल्तिर बनेका २ वटा ब्लकमा ५ वटा सटर पसल रहनेछन् ।

नगरपालिकाका अनुसार ६ सय ७१ वर्गमिटरमा फैलिएको सिटी मार्टलाई सुविधाजनक व्यापारिक कम्प्लेक्सका रूपमा निर्माण गरिएको हो। यसमा ७८ वटा सटर पसल, ३ सय ३० जना क्षमताको पार्टी प्यालेस हल र १ सय २० जना अटाउने रेस्टुरेन्ट रहनेछन्। मार्ट भवनभन्दा अघिल्तिर बनेका २ वटा ब्लकमा ५ वटा सटर पसल रहनेछन्। सिटी मार्टको मुख्य भवनमा २ वटा लिफ्टसमेत जडान गरिसकिएको छ। भवनको सबैभन्दा माथिल्लो तलामा एकातर्फ तरकारी बजार रहनेछ।

सिटी मार्ट निर्माण भएपछि मासु पसलको व्यवस्थापन हुने र छरिएर रहेका खुद्रा पसल एकै स्थानमा रहने नगरले जनाएको छ। मासु पसल सिटी मार्टकै सबैभन्दा माथिल्लो तलामा राख्ने भनिए पनि त्यहाँ यस्तो पसल प्रभावकारी नहुने व्यवसायीको सुझाव छ। यसरी सुझाव आएपछि नगरले मोटरसाइकल पार्किङ भवनसँग जोडिएको हुलाकतर्फको जमिनमा ७ वटा मासु पसल व्यवस्थापन गर्ने भएको छ।  

पार्किङ भवनको माथि मासु पसलभन्दा पछि थप रेस्टुरेन्ट निर्माण हुने उनले बताए। ‘सब्जी बजार व्यवस्थित गर्न थप तारजालीसहितको पर्खाल, चेकड्याम र नाली निर्माण भएको छ,’ उनले भने, ‘अस्पतालको पुरानो पोस्टमार्टम घरमा पुगेको बाटोबाट नयाँ ट्र्याक खोली सब्जी बजार तथा ओपिडी ब्लकसम्म पुग्ने बाटो निर्माण गरिएको छ।’

सिटी मार्ट निर्माण नसकिँदै यसका ५४ वटा कोठा भाडामा लागिसकेका छन्। स्थानीय ५४ व्यवसायीले सिटी मार्ट निर्माणकै लागि ३ लाखदेखि ६ लाख रुपैयाँसम्म अग्रिम लगानी गरेको नगरले जनाएको छ। नगरको राजस्व शाखाका अनुसार सिटी मार्टका लागि व्यवसायीले २ करोड ३ लाख ७५ हजार रुपैयाँ अग्रिम लगानी साझेदारी गरेका छन्। ५४ मध्ये १५ जनाले ३ लाख, १० जनाले साढे ३ लाख, २१ जनाले ५ लाख र ८ जनाले ६ लाख रुपैयाँका दरले लगानी गरेका छन्।

यो लगानीबापत व्यवसायीले आफ्नो रकमले भ्याएसम्म सिटी मार्टको कोठा प्रयोग गर्न पाउनेछन्। ‘एउटा कोठाका लागि मासिक ५ हजारदेखि १२ हजार रुपैयाँसम्म भाडा तोकिएको छ,’ इन्जिनियर गुरागाईंले भने, ‘व्यवसायीले गरेको लगानीबाट भाडाको रकम कट्टी हुँदै जानेछ।’ अहिलेसम्म बढीमा १२ वर्षसम्म बस्नेगरी व्यवसायीले लगानी गरिसकेको उनले बताए। बाँकी २४ कोठा नगरले भाडामा लगाउन बाँकी छ। यसबाहेक संघ सरकारले २ करोड र बाँकी रकम इलाम नगरले नै लगानी गरेको छ।

इलाम बजारमा देखिएको आधुनिक र सुविधासम्पन्न भवनको आवश्यकता सिटी मार्टले पूरा गर्ने नगरपालिकाका मेयर महेश बस्नेतले बताए। ‘व्यावसायिक प्रयोजनका लागि बनाइएको सिटी मार्ट सार्वजनिक–निजी–साझेदारीको नमुना त हुँदै हो, यसले व्यवसायीबीचको एकतासमेत सहज बनाउँछ,’ उनले भने, ‘इलाममा मात्र नभई पहाडी क्षेत्रमै सुविधासम्पन्न व्यापारिक संरचना नभएका बेला इलामले नयाँ अवधारणामा सिटी मार्ट निर्माण गरेको हो।’ अबको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै सिटी मार्ट उद्घाटन गर्ने प्रयास भइरहेको नगरले जनाएको छ।

मार्टबाट नगरपालिकाको आन्तरिक आम्दानी उल्लेख्य रूपमा बढ्ने आशा गरिएको छ। मेयर बस्नेतले यसको आम्दानी अहिल्यै यकिन गर्न नसकिए पनि निर्माणमा भएको लगानी ८ वर्षभित्र उठ्ने अनुमान गरिएको बताए। ‘व्यवसायीले अन्य क्षेत्रमा पसल राख्दा प्रत्यक्ष रूपमा करको बोझ पर्छ, सिटी मार्टमा पसल राख्दा सुविधाजनक हुन्छ,’ उनले भने, ‘एउटै भवनमा धेरै प्रकारका उपभोग्य वस्तु पाइने हुनाले उपभोक्तालाई पनि यसबाट प्रत्यक्ष सुविधा पुग्छ।’

बजारमा मार्ट बनेपछि स्थानीय व्यवसायीसमेत खुसी भएका छन्। यहाँको व्यापार–व्यवसायलाई एकीकृत गर्न नगरले गरेको यो प्रयास प्रशंसनीय भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। संघ अध्यक्ष ईश्वर चिपालुले छरिएका पसल र व्यवसायलाई एकै स्थानमा व्यवस्थित गर्दा व्यवसायी र उपभोक्ता दुवैलाई सजिलो हुने बताए। ‘यसअघिसम्म बजारका पसल व्यवस्थित थिएनन्, त्यस्ता पसलको व्यवस्थापनमा सिटी मार्टको प्रयोग राम्रो हुनेछ,’ उनले भने, ‘सिटी मार्टका केही संरचना अझै सुधार्न बाँकी छन्, कोठाहरूको भाडादर अझ सहज बनाउनुपर्छ तर समग्रमा यो अत्यन्त आवश्यक संरचना निर्माण भएको छ।’

संघ अध्यक्ष चिपालुले आधुनिक किसिमको मार्टले इलाम बजारको मात्र नभई जिल्लाकै व्यापारिक र व्यावसायिक क्षेत्र प्रवर्धनमा सघाउने बताए। ‘इलाम त्यसै पनि पर्यटकीय जिल्ला भएकाले यहाँ मानिसको आउ–जाउ बढी नै हुन्छ,’ उनले भने, ‘जिल्लाबाहिरबाट आएका पर्यटकको किनमेलका लागि सिटी मार्ट राम्रो गन्तव्य पनि हुनेछ।’ उनले संरचना बनाएर व्यापारिक क्षेत्रलाई सहज बनाउन प्रयास गरेजस्तै व्यवसायीलाई पनि विभिन्न किसिमले सहुलियत दिएर उत्साहित गर्नुपर्ने बताए। ‘कोभिड–१९ का कारण यहाँको व्यापार–व्यवसाय ठप्प भएर केही समयदेखि पुनः उठ्दै छ,’ उनले भने, ‘यही बेला मार्ट सञ्चालन सुरु हुँदा अत्यधिक रूपमा घटेको व्यापारिक चहलपहल सुध्रिने आशा पनि छ।’

प्रकाशित: २१ माघ २०७७ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App