२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

चोभार सुक्खा बन्दरगाह: जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य

सुक्खा बन्दरगाहमा देशभित्र र बाहिर सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै टर्मिनलको व्यवस्था गरिनेछ । त्यहाँ आन्तरिक र बाह्य टर्मिनल हुनेछन् ।

चोभारमा निर्माणाधीन काठमाडौं सुक्खा बन्दरगाहको काम ५५ प्रतिशत सकिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आगामी जेठ महिनाभित्र सुक्खाबन्दरगाह निर्माण कार्य सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको जनाएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थानीयबासीको अवरोध र कोभिड १९ को बाबजुद आगामी जेठसम्म सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने योजनासहित काम भइरहेको बताए । ‘अहिलेको रफ्तारमा निर्माण भएको खण्डमा आगामी जेठभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘यो मेरो ड्रिम प्राजेक्टको रूपमा अघि सारेको छु । त्यसैले आगामी जेठसम्म निर्माण सम्पन्न गराएरै छाड्नेछु ।’  

कार्यकारी निर्देशक गजुरेलले सुक्खा बन्दगाहको हप्तामा एकपटकभन्दा धेरै स्थलगत अनुगमनको साथै आएका समस्या सल्टाउने गरेको बताए । ‘मैले हप्तामा एकपटकभन्दा धेरै स्थलगत अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छु,’ उनले भने, ‘भैपरी आउने समस्या सल्टाउँदै आयोजनाको काम अघि बढाइरहेका छौं ।’ समितिले सुक्खा बन्दरगाह निर्माणको लागि एक अर्ब ७४ करोड रूपैयाँ लागत अनुमान गरेको छ ।

सुक्खा बन्दरगाहमा देशभित्र र बाहिर सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै टर्मिनलको व्यवस्था गरिनेछ । त्यहाँ आन्तरिक र बाह्य टर्मिनल हुनेछन् ।

समितिले आयोजनाको वित्तीय प्रगति हालसम्म ३६ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत छ । सुक्खा बन्दरगाहको निर्माण २०७५ अगस्ट साउन तेस्रो साता सुरु भएको थियो । आयोजना सुरुआती चरणमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी लक्ष्य थियो । तर स्थानीयको अवरोध र कोभिड १९ महामारीले दुईपटक गरेर दुई सय १५ दिन म्याद थप गरिएको छ ।

सुक्खा बन्दरगाहमा देशभित्र र बाहिर सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै टर्मिनलको व्यवस्था गरिनेछ । त्यहाँ आन्तरिक र बाह्य टर्मिनल हुनेछन् । आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने मालसामान लोड–अनलोड र भण्डारण गर्न मिल्ने व्यवस्था गरिनेछ । बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सीमाक्षेत्रका नाकाबाट सोझै ल्याइनेछ । जसको कारणले नाकामा कन्टेनर खोलेर फेरि लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ । सुक्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टनम र चीनको केरुङ र सिगात्सेबाट राजधानीका लागि ल्याइने सामान सोझै चोभारमा ल्याएर भण्डारण गर्न सकिनेछ । यो बन्दरगाह फास्ट ट्र्याकसँग जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ ।  

‘सुक्खा बन्दरगाह बनेसँगै तेस्रो मुलुकका सामान सोझै चोभार ल्याइनेछ । अहिले भएका भन्सारमा कन्टेनर सिल गरेर नाकामा ‘लक’ मात्र जाँच गरिनेछ,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘आयात गरेर ल्याइएका माल–सामानको जाँच चोभारमा रहेको भन्सार कार्यालयले मात्रै गर्नेछ ।’  

उनका अनुसार बन्दरगाहमा ६ सय २५ वटा ट्रक पार्किङ गर्न मिल्नेछ । समितिका अनुसार विश्व बैंकले बाँकी रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउन सहयोग गर्ने जनाएको छ । ‘सुक्खा बन्दरगाहको निर्माण सुरु भएपछि मात्रै प्रदर्शनीस्थल निर्माण गर्ने बाटो खुल्नेछ,’ उनले भने । आठ सय १६ रोपनी जग्गामध्ये झण्डै दुई सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह र बाँकी जग्गामा प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको योजना छ ।

प्रकाशित: १८ मंसिर २०७७ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App