६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

फस्टाएनन् कर्णालीमा ठूला उद्योग

कर्णालीमा साना लगानीका व्यवसाय फस्टाउँदै गए पनि ठूला लगानीका उद्योग फस्टाउन सकेका छैनन् । प्रदेश सरकारले नीति निर्माण नगर्दा र यहाँ उत्पादित सामग्री बजारसम्म पु-याउन पहुँच मार्ग नहुँदा यहाँ ठूला लगानीका उद्योग फस्टाउन नसकेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अन्तरप्रदेश मालसामान ढुवानी गर्न सहज छैन भने यहाँ उत्पादित सामग्रीका लागि कर्णालीको बजार सानो छ । यसका लागि कर्णाली प्रदेश सरकारले पहुँच मार्ग निर्माण गरे उद्योगप्रतिको आकर्षण बढ्ने देखिन्छ । अन्तरदेशीय तथा कर्णाली प्रदेशभर सडकको सहज पहुँच भयो भने यहाँ उत्पादित सामग्रीले बजार पाउन सक्छ र ठूला उद्योग आकर्षित हुन सक्छन् । ठूला उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त भए पनि उद्योगीहरूले यहाँ लगानी गर्न सकेका छैनन् ।  

लगानी सुरक्षित नहुँदा ठूला उद्योग सञ्चालनमा कठिनाइ आएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जनाए । कर्णालीमा काष्ट, जडीबुटी, खनिज, छाला र फलफूल प्रशोधन उद्योग सञ्चालन गर्न सकिन्छ । यसका लागि प्रशस्त कच्चा पदार्थ कर्णालीमा पाइन्छ । कर्णालीमा पहुँच मार्ग नहुनु, विद्युत् नियमित नहुन, सुरक्षित बजार नहुनु र भौगोलिक कारणले ठूला उद्योग सञ्चालन हुन सकेका छैनन् । कर्णाली प्रदेश सरकारले पनि ठूला लगानी भिœयाउन पहल नगरेको उद्योगी व्यवसायीको आरोप छ ।  

लगानी भित्रिए यहाँका सयौं युवायुवतीले समेत रोजगारी पाउने उनीहरूको भनाइ छ । हाल यहाँ बाहिर उत्पादित सामग्री भित्रिने गरेका छन् । कर्णालीमा विकास निर्माणले गति लिँदै गर्दा ठूलो उद्योगको आम्दानीसमेत राम्रो हुने कतिपयको भनाइ छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि ८६ किलोमिटर दूरीमा रहेको लुम्बिनी प्रदेशको कोहलपुर र नेपालगन्जमा ठूला उद्योगको आकर्षण बढ्दो छ । नजिकै रहेका उक्त ठाउँमा ठूला उद्योगीलाई विशेष सहुलियत दिएर यहाँ ल्याउँदा कर्णालीको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने उद्योगी व्यवसायीको अपेक्षा रहेको नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका महासचिव गोविन्द मल्लले बताए ।

कर्णालीमा जलविद्युत् र जडीबुटी प्रशोधन केन्द्रको धेरै सम्भावना भएको नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका उपाध्यक्ष पदमबहादुर खड्काले बताए । यसमा राज्यले निजी क्षेत्रलाई आह्वाण गर्नुपर्ने उनको भनाइ छ । ‘यहाँ उद्योग स्थापनाका लागि विद्युत् अनिवार्य चाहिन्छ,’ उनले भने, ‘तर यहाँ विद्युत् नै उत्पादन हुन सकेको छैन ।’ यहाँका उद्योगी व्यवसायीले उद्योगलाई प्रोत्साहनजस्ता कार्यक्रम ल्याउँदा लगानी भित्रिन सक्ने बताएका छन् । कर्णालीमा सबैभन्दा धेरै जलविद्युत्को सम्भावना छ । कर्णाली, भेरी, सानीभेरी, ठूलीभेरीलगायत नदीबाट ठूलो मात्रामा विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।

कर्णाली प्रदेशमा हालसम्म साना र मझौला गरी करिब २० हजार उद्योग दर्ता भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्र ६ सय २० उद्योग दर्ता भएका छन् । औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथकमिता दिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । कर्णालीमा सडक निर्माणसँगै आर्थिक गतिविधि बढिरहेकाले प्रदेशमा उद्योग व्यापार फस्टाउने मन्त्री बुढाको भनाइ छ । रोजगार वृद्धि गर्ने उद्देश्यले १० वटै जिल्लाका नविनतम् घरेलु तथा साना उद्योगको वृद्धि विकासमा प्रविधि सहयोग कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।  

ठूला उद्योग सञ्चालन र लगानी भित्र्याउनलाई कर्णाली प्रदेश सरकारले प्रादेशिक व्यावसायिक ऐन ल्याउन लागेको र त्यसका लागि छलफल भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए । आवश्यक ऐन नहुँदा पनि लगानी भित्र्याउन समस्या भएको उनको भनाइ छ । ठूला उद्योगका लागि कर्णाली प्रदेश सरकारले पाँच ठाउँमा सम्भाव्यता अध्ययन गर्दैछ ।  

उक्त सम्भाव्यताको प्रतिवेदन आगामी दिनमा सञ्चालन हुने लगानी सम्मेलनमा प्रस्तुत गरिने छ । कर्णालीमा दर्ता हुने ठूला उद्योगका लागि करमा छुट, उद्योग दर्ता हुँदा १० प्रतिशत छुट, ऊर्जाको ग्यारेन्टीजस्ता कार्यक्रम प्रदेश सरकारले गर्न लागेको छ । प्रदेश सरकारसँग आफ्नै आयस्रोत नहुँदा पनि लगानी गर्न समस्या भएको छ । हाल कर्णालीमा चौकुने सिमेन्ट उद्योग मात्र दर्ता भएको छ । तर, काम भने हुन सकेको छैन ।

प्रकाशित: १८ मंसिर २०७७ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App