४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ढकालको ‘अपराजित यात्रा’

वैंकको जागिरे जीवन त्यागेर व्यवसायमा होमिँदा सायद उनलाई यो अवस्थामा आउँछु लागेको थिएन होला। छँदाछँदैको जागिर छाडेर जोखिम मोलेर व्यवसायिक यात्रा तय गरेका चन्द्र प्रसाद ढकालले त्यसपछि कहिलै पछि फर्केर हेर्नु परेन।

व्यवसायमा हण्डर, ठक्कर खाए। तर, कहिलै निरास भएनन्। दृढ अठोट, संकल्प, आँट लिएर इमानदारिताका साथ कार्ययोजना बनाएर विदेशदेखि स्वदेशसम्म निरन्तर मेहनत गरिरहे। त्यही लगाव, खटाई, मिजासिलो स्वभाव, नेतृत्वदायी क्षमताले निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामि कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले उनी महासंघको अध्यक्ष बन्नेछन्। ढकालले वरिष्ठ उपाध्यक्ष अर्थात ‘वेटिङ पे्रसिडेण्ड’को पद प्राप्त गरेका छन्।

बागलुङको अमलाचौर गाउँमा किसान परिवारमा जन्मिएका ढकालको जीवन यात्रा अपराजित छ। उनी कुनै व्यापारिक घरानाका उत्तराधिकारी होइनन्। आफ्नै मेहनत र बलबुताले ‘व्यापारिक घराना’ रुपमा स्थापित भएका हुन्। आइएमई ग्रुपका अध्यक्ष ढकालले व्यवसायमा कहिलै असफलता प्राप्त गर्नु परेन। अँध्यारोमा उज्यालो खोज्न सक्ने उनको क्षमताले व्यावसायिक यात्रामा सँधै उचाई लिए।

व्यवसायमा मात्र नभएर निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघमा कहिलै पराजय भोग्नु परेन। महासंघको सदस्यदेखि ‘वेटिङ पे्रसिडेण्ड’ सम्मको यात्रामा ढकाल कि सबैभन्दा धेरै मत ल्याएर विजयी भए कि त निर्विरोध भए। यसअघि उनी एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। यो निर्वाचनमा भने ढकाललाई प्रतिस्पर्धी किशोर प्रधानले टक्कर दिए।  

उनी व्यावसायिक सफलतासँगै उद्योग वाणिज्य महासंघको यात्रामा पनि सफल भएका छन्। दुःख, कष्ट, हण्डर, ठक्कर खाएर निरन्तर मेहनत गर्दै आएका ढकालका लागि निजी क्षेत्रको सर्वोच्च संस्थाको प्रमुख बन्ने अवसर प्राप्त गर्ने बाटो खुलेको छ। उनले यसलाई मेहनतको फल भन्न रुचाउँछन्। ‘जीवन संघर्ष गरेपछि सफलता सुनिस्चित छ,’ ढकालले भने, ‘मेरो मेहनत र उद्योगी, व्यवसायीको साथ, सहयोगले यो स्थानमा पुगें।’  

सडकदेखि सदनसम्म, सामान्य व्यवसायीदेखि कर्पोरेट हाउससम्म, कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म सुमधुर सम्बन्ध हाँसिल गर्न सीपालु मिजासिला स्वभावका ढकाल कसैसँग नमिठो बोल्न जान्दैनन्। तर, महासंघको निर्वाचनम केही कडा रुपमा प्रस्तुत भए। हुनेवाला अध्यक्ष शेखर गोल्छाले उनका प्रतिस्पर्धी किशोर प्रधानलाई समर्थन गरेपछि ढकालमाथि चुनौति थपियो।  ‘केही साथीहरुले पदीय मर्यादालाई विर्सेर राजनीति गरेपछि बोल्न बाध्य भएँ,’ ढकालले भने, ‘यसलाई प्रजातान्त्रिक अभ्यासमा स्वभाविक रुपमा लिएको छु।’

निर्वाचनको सन्दर्भमा सञ्चार माध्यममा कडा अभिव्यक्ति दिएका ढकाल निर्वाचन घोषणा हुन नपाउँदै नम्रता प्रस्तुत गरे। उनले गोल्छा आफ्नो अध्यक्ष भएकाले चुनावी  तिक्तता बिर्सनुपर्ने बताए। ‘निर्वाचन सकिएसँगै महासंघ भित्रको गुट–उपगुट सकियो,’ ढकालले नागरिकसँग भने, ‘अब निजी क्षेत्रको उत्थानका लागि काम गर्नुपर्छ।’

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले अब आँफूले निजी क्षेत्रको उत्थानका लागि काम गर्ने बताए। महासंघको निर्वाचनमा प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा भएको भए पनि अब गुटको अन्त्य भएको ढकालको टिप्पणी छ।

ढकालले महासंघलाई अघि बढाउन ‘एफएनसिसिआई भिजन–२०२५’ बनाएकाले त्यसैलाई मूल मन्त्र बनाएर काम गर्ने बताउँछन्। ढकालले आफू निजी क्षेत्र र सरकारबीचको पुल भएर काम गर्ने बताए।

उनले अब गोल्छासँग नै मिलेर निजी क्षेत्रको उत्थानका लागि काम गर्ने बताए। ‘निर्वाचनमा पक्षविपक्ष भए पनि नतिजा आएपछि त्यो सकियो,’ ढकालले भने, ‘निजी क्षेत्रको उत्थानका लागि काम गर्छु।’

ढकालले कहिलै धैर्यता गुमाएनन्। सुखमा हौसिनु हुँदैन र दुःखमा धैर्यता लिनुपर्छ भन्ने मान्यता राख्ने ढकाल बताउँछन्। सानो कोल्ड स्टोर, कार्गोबाट व्यवसायिक यात्राको सुरु गरेका ढकाल अहिले कर्पोरेट क्षेत्रमा ‘रजगज’ जमाएका छन्। ढकाल बैंक, रेमिटेन्स, पर्यटन, जलविद्युत्, अटोमोबाइल, चन्द्रागिरी केवलकार, सूचना प्रविधि, विद्युतीय भुक्तानी लगायत दर्जनौ क्षेत्रमा उनको लगानी रहेको छ।

ढकाल सरकारद्वारा प्रदान गर्ने सिआइपी सम्मान पनि पाइसकेका छन्। सामान्य व्यवसाय हुँदै मुलुककै सबैभन्दा धेरै पुँजी भएको ग्लोबल आइएमई बैंकको अध्यक्ष रहेका ढकाल स्वदेशमा मात्र नभएर विदेशमा पनि परिचित छन्। ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन्।  

विदेशमा रेमिटेन्स ल्याउने ढकाललको अवधारणाले नै उनलाई यो अवस्थामा पु¥याएको हो। ढकालले नेतृत्व गरेको आइएमई मनि ट्रान्फर विगत केही वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने रेमिटेन्स सेवा प्रदायक कम्पनीको रुपमा सरकारद्वारा सम्मानित हुँदै आएको छ।

सानै उमेरमा बाबु गुमाएका ढकालले सानो गोरेटोबाट व्यावसायिक यात्रालाई राजमार्गको रुपमा परिणत गर्न सफल भएका छन्। उनले आफ्नो व्यावसायिक सफलतामा भाई हेमराज ढकाल ‘रामु’को साथलाई पनि बलियो आधार मान्छन्। ढकालसँग वैदेशिक रोजगारीको पनि अनुभब छ।

प्रकाशित: १५ मंसिर २०७७ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App