३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फलामे साङ्लोमा बाँधियो आम्दानी

पोखरा फेवातालमा फलामो साङ्लोमा बाँधिएका डुंगा । कोरोनाको मारमा परेका डुंगा चालकको आम्दानी रोकिँदा दैनिक सकसपूर्ण बन्दै गएको छ । तस्बिर: उमेश पुन/नागरिक

सिन्धुलीका अनिल बिकले आन्तरिक तथा बाह्य पर्यटकलाई डुंगामा फेवाताल सयर गराउन थालेको डेढ दशक भयो । सुरुमा केही वर्ष डुंगा चलाएका बिक बीचमा कतार पनि गए । चार वर्ष कतारमा बिताएपछि फर्केर उनले फेरि डुंगा खियाउन थाले ।

डुंगा चलाएको डेढ दशक अवधिमा परिवारको बिहान बेलुकीका खर्च धान्न उनलाई कहिल्यै सकस भएन । तर कोरोना भाइरस संक्रमणले पर्यटक रोकिँदा अहिले बिकलाई खर्च धान्ने तनाव छ । अहिले उनको मन अत्तालिन थालेको छ । आम्दानीको बाटो पूर्ण रूपमा रोकिँदा के र कसो गरौं हुन थालेको छ । कोरोना संक्रमणले पर्यटन क्षेत्र ठप्प हुँदा बिकको आम्दानी शून्यमा झरेको हो ।  

श्रीमतीसहित पोखराको मालेपाटनमा डेरा बस्दै आएका बिक फेवामा डुंगा रोकिएसँगै आम्दानी रोकिँदा यतिबेला तनावमा छन् । ‘डुंगा चल्दा बिहान बेलुकीको दालभात सहजै चलेको थियो । चैतदेखि डुंगा खियाउन रोकियो, हाम्रो कमाइमा पनि पूर्णबिराम लाग्यो,’ विकले भने, ‘अब कहिले डुंगा खुल्ने भन्ने निश्चित छैन । डुंगा खुलेर मात्र भएन तालमा घुम्ने पाहुना पनि आउनुपर्छ । ताल घुम्ने मान्छे नभएसम्म आम्दानी हुँदैन ।’

सिजनमा डुंगा चलाउँदा उनले महिनामा करिब ३० हजार कमाइ गर्थे । सिजनका बेला त दैनिक एक हजार रूपैयाँको अनुपातमा कमाइ हुन्थ्यो । अफ सिजनमा केही कमाइ घट्दा पनि मासिक २५ हजार हात पथ्र्यो । तर, अहिले शून्य आम्दानीमा पाँच महिनामा पोखरा बसाइ कष्टकर बन्दै गएको बिकले बताए । ‘हामीलाई दालभात खुवाउने डुंगा त अहिले फलामे सिक्रीमा बाँधिएका छन् ।  

हाम्रो दैनिकी नै अहिले त साङ्लोमा बाँधियो,’ उनले भने, ‘डुंगामा लागेको फलामे साङ्लो कहिले खुल्ला भनेर कुरेका छौं । तर दिन धेरै नै पछाडि धकेलिने देखेको छु ।’ उनले भने झै तालमा तैरिएका डुंगालाई अहिले व्यवसायीले फलामे साङ्लोले बाँधेर राखेका छन् । केहीलाई डोरीले बाँधेर राखेका छन् । तैरिएर जता पायो उतै पुग्लान् भनेर व्यवसायीले डुंगालाई एकैथलोमा बाँधेर राखेका छन् ।  

आम्दानी ठप्प भएपछि उनले बीचमा अरू काम पनि खोजे । अहिलेसम्म मिल्ने खालको काम भेटेका छैनन् । ‘अब त घर खर्च चलाउन धौधौ पर्न थालिसक्यो । पहिलाको कमाइले पनि कति थेग्ने हो र ?’ उनले भने, ‘यस्तै भइरहे हातमुख जोर्न मुस्किल हुने देखियो ।’ बिकले अरूको डुंगा चलाउँथे । फेवाघाटमा डुंगा चलाउने उनको दैनिकी तालबाराही मन्दिरसम्म यात्रु आउजाउ गराउने नियमित जसो हुन्थ्यो । त्यसबाहेक सानो समूहलाई लिएर घन्टौं तालमा सयर गराउन पनि निस्कन्थे । ती सबै काम रोकिएर घरभित्र थुनिँदा उनलाई दिन कटाउन पनि गाह्रो हुन्छ ।  

पोखरा–६, बाराहीघाटका प्रितम कुँवर डुंगा खियाउन थालेको २५ वर्ष भयो । उनका तीनवटा डुंगा छन् । तिनैको कमाइले उनको परिवारको अधिक खर्च धानिएको थियो । पोखरामै घर भएकाले उनलाई बिहान–बेलुकी हातमुख जोर्न उत्तिसारो सकस छैन । 

पोखरा–६, बाराहीघाटका प्रितम कुँवर डुंगा खियाउन थालेको २५ वर्ष भयो । उनका तीनवटा डुंगा छन् । तिनैको कमाइले उनको परिवारको अधिक खर्च धानिएको थियो । पोखरामै घर भएकाले उनलाई बिहान–बेलुकी हातमुख जोर्न उत्तिसारो सकस छैन । तर महिनौंदेखि काम रोकिँदा खर्च धान्न सहज छैन । ‘मेरो आम्दानीको मुख्य स्रोत डुंगा हो । तीनवटा डुंगा हुँदा पालैपालो नम्बरमा पर्दा एक दिन बिराएर काम पाएको थिएँ,’ कुँवरले भने, ‘पोखरामै घर भएकाले अरूलाई जत्तिको दैनिकी धान्न त समस्या भइसकेको छैन । तर आम्दानी रोकिँदा पहिलेजस्तो सहज भने छैन ।’  

कुँवरले बाराहीघाटमा ढुंगा चलाउँछन् । उनले तीनवटा डुंगालाई साङ्लोले बाँधेर राखेका छन् । ‘डुंगा यताउति होलान भनेर साङ्लोले बाँधेको छु,’ कुँवरले भने, ‘अहिले त आम्दानी नै साङ्लोले बाँधिएजस्तो भएको छ । दैनिक आम्दानी दिने डुंगा बाँधेर राख्दा कसको पो मनले मान्छ र ।’  

कुवँरका अनुसार स्थानीयभन्दा बाहिरी जिल्लाबाट आएर डुंगा खियाएर भएको आम्दानीको भरमा परिवारको गर्जाे टारेका व्यक्तिलाई बढो सकस छ । ‘अब त डुंगा कहिले चल्ने हो कहिले ? डुंगा चलाएर परिवारको खर्च धानेकालाई निकै मुस्किल छ,’ कुँवरले भने ।

फेवा डुंगा व्यवसायी संघका सहसचिव रुद्र भुजेलका अनुसार फेवातालमा मात्र सात सय ३० वटा डुंगा चल्नछन् । ती डुंगा तालका आठवटा घाटबाट सञ्चालित हुन्छन् । फेवामा डुंगा सयर गराउन बाराही, फिस्टेल, अम्मोट, गौरी, स्विमिङ पुल, पहारी, फेवा र बाङलादी नामका घाट छन् । तीमध्ये सबैभन्दा बढी पर्यटकको भीड हुने भएकाले तीन सय ५६ वटा डुंगा बाराही घाटबाट हुन्छन् । अरू घाटमा मान्छेको आउजाउ कम हुने भएकाले डुंगा पनि कम छन् । ती डुंगा चलाउने करिब चार सय मजदुर छन् ।

‘पालो अनुसार डुंगा चलाउने हो । बाराहीमा भने अरूतिरभन्दा अलि बढी दैनिक एक सय हाराहारीमा चल्छन्,’ भुजेलले भने, ‘अन्यत्र मान्छे नै कम हुने भएकोले डुंगा पनि कम चलेका हुन् ।’ उनका अनुसार कोरोना भाइरस संक्रमणले डुंगामा निर्भर चार सय जति मजदुरको आयआर्जन रोकिएको छ ।  

बाहिरी जिल्लाबाट आएका मजदुर बढी मर्कामा परेको भुजेलले बताए । बाहिरबाट आएर डुंगा चलाउनेको संख्या करिब एक सय ५० रहेको उनले बताए । ‘स्थानीयलाई त घर खर्च चलाउन उत्तिसारो अप्ठेरो छैन । तर, बाहिरबाट आएका व्यक्तिका परिवारलाई सकस छ,’ उनले भने, ‘सिजनका बेला दिनमा एक हजार रूपैयाँ कमाउने र अरू बेला पनि कम्तीमा पाँच सय रूपैयाँ हात पार्दा ती मजदुरको दैनिकी चलेको थियो । तर अहिले आम्दानी रोकिँदा अन्योलमा छन् ।’

बाहिरबाट पोखरा आएर डुंगा चलाएर बसेका केही मजदुर अहिले निर्माणको काममा लागिसकेका छन् । केही बेरोजगारै छन् । अप्ठेरोमा परेका मजदुरलाई बेलाबेलामा राहतका कार्यक्रम ल्याए पनि राहतको भरमा मात्र कठिन रहेको उनले बताए । फेवाताल पोखरा आएका सबै खाले पाहुनाको मुख्य आकर्षण हो । पोखरा आएका करिब ९० प्रतिशत पाहुना तालमा कुनै न कुनै रूपमा डुंगा सयर गर्ने व्यवसायीको अनुमान छ । फुर्सदमा तालमा डुंगा लिएर घुम्ने बाहेक तालको माझमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न जाने तिर्थालुको पनि यहाँ भीड हुन्छ । पर्यटकीय सिजन अनुसार तालका डुंगाचालकले कमाइ गर्छन् ।

प्रकाशित: १९ भाद्र २०७७ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App