१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘प्रहरीले अनावश्यक दुःख दियो’

प्रहरीले अनलाइन मार्फत अत्यावश्यक सामान होम डेलिभरी राउँदै आएका सञ्चालक र कर्मचारीलाई ओहोरदोहोर गर्न रोक लगाएकोमा सञ्चालकहरूले बिरोध जनाएका छन् । प्रहरीको धरपकडपछि सेवा रोक्न बाध्य भएको भन्दै सहज वातावरणको माग राख्दै उनीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । विग मार्ट, युजि केक, इन्फी अनलाइन स्टोर, अर्बान गर्ल, फुडमान्डु, डल्ले, फुडमारियो, किरानालगायतका सञ्चालक तथा कर्मचारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।  

सामान बोकेर ओहोरदोहोर नगर्ने सर्तमा उनीहरूलाई प्रहरीले छाडेपछि सञ्चालनकहरूले सेवा सुचारु गर्नका लागि सहज वातावरण बनाउन माग गर्दै प्रशासनमा निवेदन दिएका हुन् । ग्राहकले अनलाइन मार्फत माग गरेको सामान सहजै घरसम्म पु¥याउने गरेका कम्पनीहरू शुक्रबारदेखि बन्द गरेको बताएका छन् । प्रहरीले घर घरमा पुग्दा र ओहोरदोहोर गर्दा संक्रमण फैलने भन्दै अनलाइन व्यवसायीलाई नहिड्न निर्देशन दिएको थियो ।  

अहिले अनलाइन डेलिभरी प्रभावकारी भए पनि प्रहरीले निषेध गर्नु उचित नभएको सञ्चालकको दाबी छ । नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमका संयोजक सागर देव भट्टले अन्य व्यवसायीलाई छुट दिएर अनलाइन व्यवसायीलाई कारबाही गरिएको भन्दै गुनासो गरे । ‘हामीले पनि सुरक्षित ढंगबाट घरमै सामान पु-याएका थियौं, कहिलेकाही अत्यावश्यक घरायसी सामान चाहिएमा हामीले सेवा दिँदै आएका छौं,’ उनले भने, ‘तर प्रहरीले अनावश्यक रोक लगायो ।’  

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा निवेदश पेस गर्दै ई–कमर्स कम्पनीहरू सावधानीसहित सेवा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका उनले बताए । अत्यावश्यक सामान डेलिभरी गर्ने कम्पनीलाई अनुमति दिनुपर्ने सञ्चालकहरूको माग छ । बिहीबार ग्राहकको माग अनुसारका सामग्री होम डेलिभरी गर्ने क्रममा उपत्यकाका विभिन्न ठाउँबाट ‘ई–कमर्स’ कम्पनीका सञ्चालक र कर्मचारी पक्राउ परेका थिए ।  

निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । बिहीबार प्रहरीले रोक्दा सामान खेर गएको व्यवसायीको गुनासो छ । उनीहरूले कतिपय सामान डेलिभरी गर्न नपाउँदा कुहिएको भन्दै गुनासो गरे । फुडमान्डुका सञ्चालक मनोहर अधिकारीले प्रहरीले सामान्य बहानामा अत्यावश्यक सामान रोकेको व्यवसायीको आरोप छ ।  

प्रहरीले अत्यावश्यक सामानको नाममा अनावश्यक सामान बोकेर ओहोरदोहोर गरेकाले नियन्त्रणमा लिइएको बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले अत्यावश्यक बाहेकका सामान डेलिभरी गरेको पाइएपछि कडाई गरिएको बताए । उनीहरूलाई निषेधाज्ञा अवधिभर आहोरदोहोर नगर्ने सर्तसहित छाडेको उनले बताए ।  

अनलाइन सेवा प्रदायक कम्पनीहरू सामान डेलिभरी गरेको पाइएमा कारबाही गरिने एसपी रोठौरको भनाइ छ ।

प्रकाशित: १३ भाद्र २०७७ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App