४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चौडाइ विवादले मदन भण्डारी लोकमार्ग अवरुद्ध

निर्माणाधीन मदन भण्डारी लोकमार्गको विवादपछि काम रोकिएको गाईघाटस्थित पिजीचोक । तस्बिर: महेश्वर/नागरिक

चौडाइ विवादका कारण झण्डै एक वर्षअघि सक्नुपर्ने निर्माणाधीन गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकमा अझै काम सुरु भएको छैन । आधा दर्जन स्थानीयबीच सडकलाई जमिन छाड्ने विषयले सुरु विवाद टुंगो नलाग्दा गाईघाटदेखि पूर्व र पश्चिम दुवैतर्फ कालोपत्रे भइसक्दा पनि बजार क्षेत्रमा कालोपत्रे र पिजीचोक आसपासको पाँच सय मिटर खण्डमा नाला र विद्युत् पोलसम्म गाडिएको छैन ।

गाईघाट बजारको आँखा उपचार केन्द्रदेखि बरुवा खोलासम्मको १२ सय मिटर खण्डमध्ये पिजीचोकबाहेकमा बिजुलीका पोल गाडेर लाइन व्यवस्थापन भइसकेको छ भने दुवैतर्फ नाला पनि सकिइसकेको छ । त्रियुगा नगरपालिकाले तोके अनुसार बिपीचोकसम्म २५ र त्यहाँ पिजीचोक हुँदै बरुवापुलसम्म २० मिटर चौडा सडक बनाउनुपर्ने भएपछि केही स्थानीयबीच भएको विवादले पिजीचोकका काम अघि बढ्न नसकेको हो ।  

२० मिटर चौडाभित्र पर्ने संरचना र घरटहरा भत्काउनुपर्ने भनेपछि सुरु विवाद वर्षदिन पुग्न लाग्दासम्म समाधान नभएर नै काम अवरुद्ध भएको लोकमार्ग कार्यालयले जनाएको छ । बजारको अन्य क्षेत्रमा बिजुली पोल सार्नेदेखि नाला बनाइसकेर कालोपत्रेको पूर्वतयारी भइसक्दा पनि पिजीचोकमा दुवैतर्फकाले एक इन्चसम्म जमिन पनि छाड्न नमानेकाले काम अलपत्र परेको कार्यालयले जनाएको छ ।  

कार्यालयका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को नयाँ नक्साअनुसार दक्षिणतर्फ बब्बरबहादुर थापा, रत्नश्रेष्ठ, युवराज बुढाथोकी, हिराप्रसाद पोखरेललगायतले केही मिटर जमिन छाड्नुपर्ने देखिन्छ ।  

पुरानो नक्साअनुसार उत्तरतर्फ राजु रोक्का, शिव कटुवाल, कविन्द्र राईलगायतको केही जमिन काटिने देखिएपछि दुई पक्षबीच विवाद सुरु भएको हो ।  

दक्षिणतर्फकाले नयाँ नक्साअनुसार गर्नुपर्ने दलिल गर्दैगर्दा उत्तरतर्फका स्थानीयले पुरानो नक्सालाई आधार मान्नुपर्ने अडान लिएका छन् । दुई पक्षले बाझिने जिकिर गरेपछि नियमन निकाय लोकमार्ग कार्यालय र निर्माण कम्पनी बिलखबन्दमा परेको लोकमार्ग कार्यालय प्रमुख इन्जिनियर (डिई) बेलबहादुर भुजेलले बताए । उनका अनुसार स्थानीयबीच भएको विवादले ६ महिनाअघि सकिने काम अझै सुचारु गर्न नसकिएको हो ।  

विवादित ठाउँ नगरपालिकाको बजार क्षेत्र र नगरपालिकाकै निर्णयअनुसार २० मिटर चौडा बनाउन खोज्दा समस्या निम्तिएकाले यसको टुंगो पनि नगरपालिकाले नै लगाउनुपर्ने डिई भुजेलको भनाइ छ ।  

उनका अनुसार लोकमार्गले अन्य ठाउँमा नालाबाहेक ११ मिटर र नालासहित १४ मिटर चौडाको सडक बनाउने प्राविधिक इस्टिमेट छ । तर गाईघाट बजारमा २५ र २० मिटर चौडाको बनाउने नगरपालिकाको निर्णयले त्यहाँ विवाद उत्पन्न भएको हो ।  

विवादकै कारण गत चैतभित्रै कालोपत्रे गरिसक्ने उद्देश्यले भइरहेको काम झण्डै ६ महिनापछि परिसकेको र अझै सुचारु गर्न कति दिन लाग्ने टुंगो नभएको डिई भुजेलले बताए । पिजीचोक गाईघाट बजारकै प्रतिष्ठित र राजनीतिक तथा सामाजिक अगुवाहरूको बसोबास क्षेत्र हो ।  

राजनीतिक र सामाजिक क्षेत्रका अगुवाको बसोबास भएको चोकमा सडक बनाउने विषयमा यति लामो विवाद हुनु दुःखलाग्दो भएको नगरबासी बताउँछन् । नेता र अगुवा बुज्रुकहरूको बसोबास चोकमै सामान्य विवाद मिलाउन नसकेको देख्दा आश्चर्य लागेको डा. राई बताउँछन् ।  

चौडाइ थप्ने निर्णयले विवाद उत्पन्न भएको आरोप खेपिरहेको त्रियुगा नगरपालिकाले सहमतिमै सडक बनाउनुपर्ने भन्दै आएको छ । ०३१÷३२ सालदेखि बसोबास सुरु भएको गाईघाट बजार त्यतिबेला प्रशस्त फराकिलो सडक छाडेर ‘टाउन प्लानिङ’ गरे पनि समयक्रममा साँघुरो साबित भएकाले लोकमार्गजस्तो सडक पर्याप्त फराकिलो बनाउनुपर्ने विचार नगर प्रमुख बलदेव चौधरीको छ ।

प्रकाशित: ११ भाद्र २०७७ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App