१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

होटलक्षेत्रकोे १० खर्बभन्दा बढी लगानी जोखिममा

सुरुवाती दिनमा दैनिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने राजधानीस्थित काठमाडौं मेरियट होटलको कारोबार अहिले दैनिक ५० हजारमा झरेको छ।

देशकै सबैभन्दा कान्छो पाँचतारे होटलको रुपमा ६० मिलियन डलर लगानीमा सञ्चालनमा आएको मेरियटले वर्षगाँठ समेत मनाउन नपाउँदै कोभिड १९ कारण होटलका दुई सय १४ कोठा पाहुनाविहीन छन्। चार महिनादेखि विदेशी नआउँदाहोटल सुनसान छ। होटलका दुई सय ५० स्थायी कर्मचारीले मासिक १० दिनमात्रै काम पाएका छन्। त्यो पनि १२ प्रतिशत तलबमा। विश्व प्रख्यात ब्रान्ड भएरपनि अकुपेन्सी नै नभएपछि होटल व्यवसायी र मजदुरप्रत्यक्ष मारमा छन्।

अहिले देशभरका तारेदेखि पर्यटकस्तरीय होटलको अवस्था मेरियटको भन्दा फरक छैन। कोभिड–१९संक्रमणको जोखिम बढेसँगै सुरु भएको लकडाउनले ठूलो मानवीय क्षति हुनबाट देशलाई जोगाएपनि अर्थतन्त्रमा भने नराम्रो असर परिसकेको छ। बढ्दो संक्रमणबीच असार पहिलो हप्तादेखि लकडाउन केही खुकुलो भएपनि पर्यटन क्षेत्रका गतिविधिठप्प हुँदा ठूला–साना लगानीका होटलहरु अहिले बन्द छन्।

लकडाउनसँगै बन्द भएका आन्तरिक तथा बाह्य उडान भदौ १ गतेबाट सञ्चालनमा ल्याउने तयारी छ। हवाई उडान बन्द भएयता विदेशी पाहुना होटल छिरेका छैनन्। पाहुना नहुँदा पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेकादेशभरका साना–ठूला होटलको १० खर्बभन्दा बढीलगानी जोखिममा रहेको छ। देशभित्रका३३ सय पर्यटकस्तरीय र३८ तारे होटल, ठूला लगानीका ३३ सय रेस्टुरेन्ट तथा तीन सय २४ सामुदायिक होमस्टे कोरोनाका कारण काम नपाएर ठप्प छन्।  

संसारभरका हरेक १० रोजगारीमध्ये एकमा पर्यटन क्षेत्रको योगदान रोजगारी दिने गरेको सयुक्त राष्ट्रसंघीय आंकडा रहेपनि अहिले नेपालको पर्यटन क्षेत्रमा आश्रित व्यवसायी र मजदूर कोरोनाको मारमा परेका छन्। भ्रमण वर्ष २०२० लक्षित लगानी थपेका होटल व्यवसायीले होटलको अकुपेन्सी शून्यमा झरेपछि व्यवसाय नै बन्द गर्न बाध्य छन्। २० लाख पर्यटक नेपाल आए हामी सेवा पु¥याउन तयार छौं भनेर हौसिएका व्यवसायी एकाएक देश बन्दाबन्दीमा गएपछि होटलमा आश्रितलाई कोरोनाले कमजोर बनाएको छ।  

देशभर झण्डै १२ लाख श्रमिक पर्यटन प्रतिष्ठानमा आश्रित रहँदै आएपनि होटलले मात्र दुई लाख बढीलाई रोजगारी दिएको सरकारी आंकडा छ। होटल बन्द भएकै कारण अहिले ती मजदुर कामविहीन बनेका हुन्।

त्यसो त देशभित्र रोजगारी सिर्जना गर्न होटल क्षेत्रलाई प्रमुख रुपमा लिने गरिन्छ। तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य पर्यटकस्तरीय होटलहरु कोरोनाकै कारण बन्द हुँदा मजदुर मात्रै होइनव्यवसायीसमेत तिर्नुपर्ने कर, कर्मचारीलाई दिनुपर्ने तलब, सुविधासमेत दिन नसक्ने अवस्थामा छन्। वार्षिक सातदेखि ३० करोडसम्म नाफा कमाउँदै आएका होटलमा कोरोनाका कारण नोक्सानी मात्र छैन ठूलो संख्यामा रोजगारी कटौती भएको सम्बद्ध अधिकारी बताउँछन्।  

होटल संघ नेपाल (हान)का संघका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार चैत ९ देखि सबै उडान स्थगित भएकाले मानिसहरुको आवागमन ठप्प भएसँगै होटलको व्यवसाय ओरालो लागेको हो।

हवाई उडान नखुलेकै कारण कतिपय होटलले कामदार कटौती त कतिले मासिक पारिश्रमिकघटाएर न्यूनतम मात्रदिने सहमति गरेका छन्। होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन्। बैंकको किस्ता भुक्तानी गर्न समस्या भोगिरहेका व्यवसायीले हालै सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिबाट राहत महसुस गरेका छन्।

शाहका अनुसार अहिले देशभरका होटलको अकुपेन्सी शून्य अवस्थामा छ। जारी असर तत्कालका लागि मात्र नभएर आगामी केहीवर्षसम्मै पर्न सक्ने उनकोे दाबी छ।

‘बजेटमा त्यत्ति सन्तुष्ट नरहेका व्यवसायीले समेत मौद्रिक नीतिमार्फत साँवाब्याज किस्ताको भाका लम्बिँदा राहत भएको महसुस गरेका छन्,’ शाहले भने, ‘ऋणको भाका सार्ने, पाँच प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराउने तथा चालुपुँजीमा सञ्चालन ऋण उपलब्ध गराउने जस्ता हाम्रा मागहरु मौद्रिक नीतिमा समेटिएकाले अविलम्ब कार्यान्वयनमा सरकारले ध्यान दिन आवश्यक देखिन्छ।’

शाहका अनुसारनेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका थिए। तर पर्यटक बनेर नेपाल आउने विदेशीको समेत नेपालकै अवस्था रहेकोले लामो समय यो क्षेत्रले नोक्सानी भोग्नुपर्ने उनको धारणा छ। संक्रमण कहिलेदेखि पूर्ण रुपमा बन्द हुन्छ भन्ने अनुमानसमेत नरहेकाले स्वास्थ्यसम्बन्धी प्रोटोकलको उच्च पालना गर्दै व्यवसाय सञ्चालन गर्न ढिलो भइसकेको छ। गत मार्च १० बाट प्रभावित आठ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लागेपछि विदेशी आउन पाएनन्,’ उनले भने, ‘अझै पनि हवाई उडान नखुल्दा आउन चाहेका विदेशीसमेत आउन सकेका छैनन्।

सरकारले भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने जनाएको छ। अनअराइभल भिसाको सम्बन्धमा सरकार मौन छ। स्वास्थ्यसम्बन्धी मापदण्ड लागूगर्दै हवाई, होटल, पर्वतारोहण, पदयात्रा लगायत सबै पर्यटकीय क्षेत्र खुलाउनुपर्ने शाहको माग छ। ‘पर्यटन वर्ष २०२० पनि स्थगित भइसकेकोले भ्रमण वर्ष लक्षित होटलको लगानीसमेत फर्काउन समस्या छ,’ शाहले भने।  

मुख्य सिजनमा हिमाल आरोहण गर्ने विदेशीसमेत आउन नपाएपछि व्यवसायलाई पहिलो सिजनमै घाटा हुन पुगेको उनको भनाइ छ। पर्वतारोहणका लागि नेपाल आउने विदेशीले होटलमा समेत प्रशस्त पैसा खर्च गर्ने गरेको शाह सुनाउँछन्।

एकजना विदेशी विमानस्थलबाट नेपाल प्रवेश गर्दै गर्दा १० जना नेपालीको चुलो बल्ने अवसर अहिले नेपालले गुमाएकाले होटल व्यवसाय खोल्नुपर्ने उनको भनाइ छ। पर्यटकीय क्षेत्र र आर्थिक गतिविधि बन्द हुँदा होटलमा आश्रित मजदुरलाई रोजगारीमा टिकाई राख्न घरमा बसेका कामदारलाई समेत १० हजार रुपैयाँ दिने हानले विभिन्न ट्रेड युनियनसँग सम्झौता गरिसकेको उनलेबताए।

पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन कर्मचारीलाई वार्षिक बिदादेखि आन्तरिक पर्यटन प्रवद्र्धन र सहुलियतका विषयमा सरकार गम्भीर हुनुुपर्ने शाहले बताए। व्यवसायीले आफ्नो क्षेत्रमा भ्रमण वर्षलक्षित अर्बौं लगानी डुबिसकेको जनाउँदै सरकारले बजेट र मौद्रिक नीतिमा सम्बोधन गरेका विषयलाई अविलम्ब पालनामा जानुपर्ने जनाए।नभएउद्योगमा पर्ने दूरगामी नकारात्मक प्रभावलाई राहत हुन नसक्ने उनीहरुको भनाइ छ।

पर्यटन क्षेत्रको कोशेढुंगाको रुपमा हेरिएको भ्रमण वर्ष खारेजीसँगै जोखिममा परेको व्यवसायीको लगानीमा राहत दिन आर्थिक अध्यादेशमा पर्यटनलाई विशेष जोड दिनसमेत आफूहरुले माग उठाउँदै आएको हानकाशाहले बताए।  

पर्यटनमा क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल क्षेत्रले मुख्य सिजनमै मासिक डेढ अर्बभन्दा बढी नोक्सान भोगिरहेको होटल व्यवसायीको दाबी छ। व्यवसायीलाई बिनाधितो ऋण, ब्याजदरमा कटौती, ऋण लिँदा गर्न सकिने सहजीकरण लगायतविषयलाई मौद्रिक नीतिले समेटेपछि व्यवसायमा फर्कन अझै समस्या हुने व्यवसायीको भनाइ छ।

सरकारले रोजगारी संरक्षण कोष, सामाजिक सुरक्षा कोषमार्फत तथा भ्रमण वर्षमा छुट्ट्याइएको रकमबाट समेत समस्याको सम्बोधन गर्न सक्ने जनाउँदै उपाध्यक्ष शाहले आगामी ६ महिनासम्मको असरलाई हेरेर अहिले नै व्यवसाय सञ्चालनमा सरकारलाग्नुपर्ने धारणा राखे।

असोजसम्म पर्ने असर न्यूनीकरणको लागि सरकारले धार्मिक पर्यटन प्रवद्र्धनका काम अघि बढाउन सक्ने व्यवसायीको सुझाव छ।

संकटको समयमा आम नागरिक आध्यात्मिक बन्ने भएकाले त्यसको सदुपयोग देशभित्र रहेका हिन्दु तथा बुद्ध सर्किटहरुमार्फत गर्न सरकारले योजना सार्वजनिक गर्नुपर्ने समेत आवाज उठेको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भनेर बजेट र मौद्रिक नीतिमा मात्रै सम्बोधन नगरेर घनाढ्य विदेशीका विमान सहज रुपमा नेपालमा अवतरण गराउन सहुलियतसम्मका पहलसमेत पर्यटक तान्न अब अपरिहार्य हुने व्यवसायीको भनाइ छ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाका अनुसार कोरोना भाइरसका कारण बढी प्रभावित हवाई उड्डयन, यातायात, होटल, रेस्टुरेन्ट लगायत पर्यटन क्षेत्र र सो उद्यम–व्यवसायको पुनरुथानका लागि चालुपुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा सरकारको प्राथमिकता रहेको बताएको छ।

पर्यटन लगायत क्षेत्रले लिएको ऋणको साँवा र ब्याज पुस मसान्तसम्म भुक्तानी गर्ने व्यवस्थाले व्यवसायीलाई राहत पुग्ने र व्यवसायमा फर्कने वातावरण बनेको मन्त्रालयले जनाएको हो।

पर्यटन विभाग, होटल शाखाका अनुसार असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट लगायत अल्पकालीन प्रकृतिका चालुपुँजी कर्जाहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी ०७७ पुस मसान्तसम्म भुक्तानी गर्न समय दिन सक्ने बनाइएकाले व्यवसायमा परेको असरलाई राहत पुग्छ।

आर्थिक वर्ष ०७७/७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने ५० अर्ब रुपैयाँको कोष परिचालनमार्फत निश्चित मापदण्डको आधारमा कोरोना प्रभावित पर्यटन लगायत व्यवसायको सञ्चालन एवं निरन्तरता दिनका लागि श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि पाँच प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध हुने भएपछि मजदुरलाई समेत राहत पुग्ने विभागको भनाइ छ।

प्रकाशित: ८ श्रावण २०७७ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App