७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरोनाले राजस्व प्रभावित : लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन

विराटनगरस्थित आइसीपीको मुख्य भवन । फाइल तस्बिर : नागरिक

कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६/७७ मा कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँको राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । कोरोनाका कारण आयात निर्यात प्रभावित बनेपछि भन्सारको राजस्व संकलनमा पनि असर परेको हो । विराटनगर भन्सारले भन्सार महसुलबाट २१ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १२ अर्ब ४ करोड २९ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ ।  

त्यसैगरि, मूल्य अभिबृद्धिकर तर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १४ अर्ब ६७ करोड ७४ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ । त्यसैगरि, अन्तः शुल्कतर्फ २ अर्ब ५० करोड ९४ लाख २४ हजारको लक्ष्य राखिएकोमा कार्यालयले १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ असुल गरेको सूचना अधिकृत पौडेलले जानकारी दिइन् । उनका अनुसार गतवर्ष चैत्रबाट सुरु भएको लकडाउन र विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण प्रभावित भएको भन्सार क्षेत्रले २०७७ साल बैशाखमा १ अर्ब ६ करोड ३२ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।  

अन्य महिनाको तुलानामा बैशाखमा २६ दशमलव ७० प्रतिशत भन्सार राजश्व संकलन भएको छ । जुन अन्य महिनाको तुलनामा सर्वाधिक कम हो । बैशाखमा राजश्व संकलन लक्ष्य ३ अर्ब ९८ करोड १६ लाख रहेको थियो । त्यसैगरि, गतवर्ष फाल्गुनमा सर्वाधिक ७६ दशमलव ८४ प्रतिशत भन्सार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चैतमा ३७ दशमलव ७२, जेठमा ५० दशमवल ६३ प्रतिशत र असार महिनामा ५६ दशमलव ५६ प्रतिशत राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षको सुरूवातदेखि नै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा असर परेको थियो ।  

लकडाउन नहुँदाको अवस्थामा पनि भन्सार कार्यालयले फागुनबाहेक अन्य महिनामा राजस्व लक्ष्यको ६० प्रतिशत हाराहारीमै राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको सुरूवातदेखि नै आयात घटेका कारण राजस्व संकलनमा दबाब परेपनि कोरोना महामारीले थप असर पारेपछि विराटनगरको भन्सार राजस्व विगतका वर्षहरूमा भन्दा निक्कै कम संकलन भएको हो ।

प्रकाशित: ४ श्रावण २०७७ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App